बागलुङ/बिहिबार राती आएको बाढीले मोटरसाइकल बगाउँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ ।
अबिरल वर्षात भैरहेको बेला तीन जना सवार मोटरसाइकल खोलामा पल्टेको थियो । घटनामा बागलुङ नगरपालिका ५ मालिकाका ३ युवाको एउटै घटनामा ज्यान गएको हो । बागलुङ नगरपालिका वडा नं. ५ को बान्द्रेमा बिहिबार राती साँढे १० बजे आएको बाढीले मोटरसाइकल बगाएको थियो ।
ध २ प ८०१० नम्बरको मोटरसाइकलमा सवार बानपा ५ बान्द्रेका २३ वर्षिय अर्जुन सापकोटा, स्थानीय २२ वर्षिय अभिषेक रेग्मी र २० वर्षका कमल सापकोटाको मृत्यु भएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । पौडेलका अनुसार बाढीले बगाएर तीन सय मीटर तल उनीहरुको शव भेटिएको थियो । दुइ जनाको शव रातीनै भेटिएपनि २० वर्षिय कमल सापकोटाको शव भने ५ सय मीटर तल पुगेको अवस्थामा भेटिएको हो ।
राती नै नेपाल प्रहरी र सशष्त्र प्रहरीले घटनास्थलमा पुगेर खोजी कार्य गरेका थिए । बिहिबार बेलुकी ७ बजेदेखि निरन्तर वर्षात भएकोले उद्दारमा समेत कठिनाइ भएको थियो । मृतकको शव धौलागिरि अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ । तीनै जनाको अभिभावक विदेशमा छन् । अभिषेकका बाबु महेन्द्र र अर्जुनका बाबु चन्द्रलाल जापान र कमलका बाबु मुक्तिराम कोरियामा छन् । उनीहरु नआएसम्म अन्तिम संस्कार नहुने भएपछि तीनवटै शव अस्पतालमा राखिएको छ ।
दरखाने दिन सदरमुकामको गुठीमा तिज मेला थियो । बागलुङ नगरपालिका ५ का युवाहरु पनि मेला हेर्न झरेका थिए । बेलुकी ठूलो वर्षातमा भिज्दै नृत्य गर्नेहरु धेरै थिए । रातको साँढे १० बजेपछि मृतक तीन युवासँगै अर्का स्थानीय राम सापकोटा पनि गाउँ फर्केका थिए । रामले स्कुटर चलाए भने अर्जुनले मोटरसाइकल ।
बानपा ४ को कुँडुले फेदी पुगेपछि उकालोमा स्कुटरले तान्न सकेन । रामको पछाडि चढेका अभिषेक अर्जुनको मोटरसाइकलमा सरे । अर्जुनले तीनजना सवार मोटरसाइकल चलाए । अघिअघि हिंडेका अर्जुन बान्द्रेखोला तर्ने बेला एकाएक ढले । बाढीले बाटो देखिएको थिएन । ढुंगामुढासहित आएको बाढीले खोलाको कजवे भरिएको थियो । खोलामा मोटरसाइकल लैजान नपाउँदै बाढीले बगायो । उनीहरु तीनै जनासहित मोटरसाइकल सडकदेखि छेउमा खस्यो । बाढीले तीनै जनालाई बगाएर लग्यो ।
पछि पछि आएका रामले उक्त घटना देखेपछि हारगुहार गरेर गाउँले जुट्दासम्म तीनै जनाको मृत्यु भैसकेको थियो । खोजीकार्यमा जिल्लाबाट गएको प्रहरी टोलीसहित स्थानीयले रातको साँढे १२ बजे मात्र अर्जुन र अभिषेकको शव भेटिएका थिए । कमलको शव भने शुक्रबार बिहान भेटिएको हो । मृतक अर्जुन एकमात्र सन्तान हुन् ।
यो घटनाबारे अनुसन्धान भैरहेको प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । स्थानीयले भने लापरबाहीले घटना भएको अनुमान गरेका छन् । सडकमा खसेको पहिरो र बाढीले थुपारेको ढुंगाको कारण छेउबाट जान खोज्दा मोटरसाइल खसेको स्थानीय तेजबहादुर कुँवरले बताए । ‘सडकको कारण पनि झुक्किने अवस्था छ’ उनले भने, ‘सर्तकता नभएको पनि देखियो ।’
एउटै गाउँका तीन युवाको मृत्युले बागलुङ नगरपालिका वडा नं. ५ को मालिका गाउँ शोकमग्न छ । तीजको अवसरमा आयोजित मेला पनि स्थगित भएको शर्माले बताए । तीज मनाउन माइती गएका महिलाहरु पनि शुक्रबार बिहानै फर्केका छन् । ‘गीत गाएर रमाउनुपर्नेहरु रुदै घर घरमा बसेका छन्’ शर्माले भने, ‘चाडपर्वमा यस्तो घटना कसैलाई नपरोस् ।’ परिवार र छिमेकीलाई सम्झाउने काममा दिनभर व्यस्त भएको उनले बताए ।





