बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तिजका गीतमा ‘रित्ता गाउँको बेदना’

तिजका गीतमा ‘रित्ता गाउँको बेदना’


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८१, शनिबार

बाबाका दैलामुनी ठुलो रुख बडर
धेरै छोरी छन् भनेर हेला नगर…

केही वर्ष पहिलेसम्म बागलुङ गाउँहरुमा गुञ्जिने तिजे भाकाका शब्दहरु हुन् यी । छोराछोरी बीचको असमानता र शिक्षादिक्षालगायत सामाजिक तथा सांस्कृतिक बिषयमा रहेको विभेदको आवाज तिजको भाकामा गुञ्जिन्थ्यो ।

छोरीले नि गर्न सक्छन्, आईए, बिए, एमए पास
छोराले नि गरे हुन्छ बनको दाउरा घाँस…

तीजका गीतले सामाजिक विषय उठान गर्थे । अधिकारको खोजी गर्ने र पिल्सिएको आवाज बुलन्द हुन्थे गीतहरुमा । जतिबेला गीत संग्रह गर्ने कुनैपनि साधन स्रोत थिएन् । त्यो बेला पुस्तान्तरण भएर नारी बेदना नयाँ पुस्तासम्म आईपुग्थ्यो । अहिले समय फेरिएको छ । विभेद, असमानता र महिलामाथी हुने हिंसाका घटनाको रुप फेरिएको छ । समाजको वस्तुस्थिती नै बद्लिएको छ ।
अहिलेको तीजमा अक्सर नारीहरुले आँफैले गीत बनाउँछन् । अधिकांश तीज मान्नेहरुले डिजिटल माध्यामकै सहारा लिन्छन् । संगीत कर्म गर्नेहरुका गीत बजाउँछन् र नाच्छन् । एकाद सार्वजनिक कार्यक्रममा सुनिने भाखाहरुमा भने शब्द फेरिएका छन् । हिजो घाँसदाउरा, मेलापात, अबहेलना र माइतीको सम्झना गर्नेहरु आजभोलि रित्तो गाउँको बेदना सुनाउन विवश छन् ।

प्रदेश गाका छोराछोरी फर्किएर आउँदैनन्
फर्कि आउँदा बाबा आमा देख्नै पाउँदैनन्

तिजको अवसरमा बागलुङको बलेवामा आयोजना गरिएको तिज गीत प्रतियोगितामा बलेवा पैञ्युपाटाको समुहले रित्तो गाउँको कथा सुनायो । सुरिलो भाकामा बेरोजगारी र बैदेशीक रोजगारीले रित्तिएका गाउँहरुका कथा गीतमा समावेश थियो ।
आधुनिकता, बढ्दो बैदेशीक रोजगारी र पलायनका कारण रित्तिएका गाउँका कथा अहिले नागरिकको मुख्य बेदना भएको बताउँछन् नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष कमल कुमार जिसी । सुन फल्ने खेतबारी बाँझो राखेर बिदेशीएका छोराछोरी फर्केर नआउँदा बाबुआमाले पाएका दुःखका कथा आजभोलीका गीतमा समाबेश हुने गरेका छन् ।

पढाई लेखाई ठुलो मान्छे बनाईयो छोराछोरीलाई
प्रदेशले लगि गयो सधैंभरिलाई….

‘अहिले कलाकारका एल्वम बाहिरका गीत सुन्न त निकै कठिन छ, कहिँकतै प्रतियोगितामा सुनिने गीतमा अधिकांशले रित्तो गाउँको बेदना सुनाउँछन्’ बलेवा अमलाचौरका भीमनाथ शर्माले भने, ‘दुर्भाग्य रित्तो गाउँका गीत गाउनेहरु नै उमेर पग्दाबित्तिकै राहदानी बनाउने तयारीमा छन् ।” तिजका गीतले समाज बोल्नुपर्ने उहाँको तर्क छ । हिजो समाजमा रहेको विभेद र उत्पीडन तीजको गीतले बोल्ने गरेको भन्दै उनले अहिले समाजको दुःख रित्ता गाउँ नै भएको बताए । विषयवस्तु तोकिएका बाहेक यहाँका हरेक प्रतियोगिताहरुमा रित्तिएका गाउँका कथा समावेश हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->