बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रकाश सपुतको चलचित्र ‘बसन्त’को बागलुङमा शुभमुहुर्त

प्रकाश सपुतको चलचित्र ‘बसन्त’को बागलुङमा शुभमुहुर्त

प्रेमील र गुणी समाजलाई विभेदमा पार्दाको समस्या र संस्कृतिहरुलाई संरक्षण गर्ने काममा चलचित्र बढी केन्द्रीत हुने कार्यकारी निर्देशक दिल शिरीष बताउँछन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८१, शनिबार

बागलुङ÷सधैं गायन र म्युजिक भिडियोमा देखिने प्रकाश सपुत अब आफ्नै चलचित्रको पर्दामा देखिंदैछन् । गायक प्रकाश सपुतको लेखन, निर्देशन र अभिनयमा निर्माण हुन लागेको चलचित्र ‘बसन्त’को शनिबार बागलुङ कालीका मन्दिरमा शुभमुहुर्त गरिएको छ ।
शनिबार बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले क्यामेरामा माला लगाएर चलचित्रको शुभ मुहुर्त गरे । शुक्रबार हरितालिका तीजको अवसर पारेर सपुतले फेसबुकमार्फत चलचित्रको पोष्टर भने सार्वजनिक गरिसकेका थिए ।
प्रकाश सपुतको चर्चित गीतको बोल रहेको गलबन्दी प्रोडक्सनको प्रस्तुतीको रुपमा ‘बसन्त’ चलचित्र आएको हो । यो चलचित्रको अधिकांस छायांकन बागलुङमा हुनेछ । सपुतको जन्मगाउँ बागलुङको धम्जामा यो चलचित्रको धेरै भाग छायांकन हुने छ भने यहाँका साँस्कृतिक प्रस्तुतीहरु समावेश हुनेछन् ।
‘गीत संगीत र संस्कृतिको बिबिधता भएकोले यहाँ कथा र संस्कृतिलाई चलचित्रमा समावेश गरिनेछ’ सपुतले भने, ‘समाजको आँसु, रोदन, मुस्कान र बास्तविकता कथामा उतार्ने प्रयास हुनेछ ।’ समाजका बिबिध आयामको पात्रप्रवृत्तिमा खेल्न पाउँदा कलाकार हुनुमा गर्व लागेको उनले बताए ।
यसअघि गायकको छविमा रहेका सपुतले आफ्नै चलचित्र बनाउन लागेका हुन् । उनले यहाँको धम्जादेखि बागलुङ, पोखराहुँदै काठमाण्डौं सम्मको यात्रामा भेटेका, देखेका र भोगेका कथालाई उनेर चलचित्र बनाएको बताए । ‘चलचित्रमा यहाँको कालीका मन्दिरदेखि बजारका गल्लीका कथा पनि उनिनेछन्’ उनले भने, ‘चैतेदशै मेलादेखि बागलुङका यानीमाया, सोरठी, झाम्रे, सालैज्यो र घाँटु तथा लोकगीत र लोकदोहोरी पनि कथामा बुन्ने प्रयास गरिन्छ ।’ उनले साहित्य, गीत संगीत र सिर्जनाबाट समाज चित्रण गर्न लागेको बताए ।
नगरप्रमुख बसन्तकुमार श्रेष्ठले चलचित्रको सफलताको शुभकमना दिए । कालीका भगवती गुठी व्यवस्थापन समितिका उपाध्यक्ष निशान खड्काले कलाकारलाई स्वागत गरे । आगामी चैत २२ गते प्रर्दशनका लागि मिति समेत तोकेर छायांकन शुरु भएको हो । कथा निर्देशक, लेखन र चलचित्रमा अभिनेताको रुपमा उनी स्वयं हुनेछन् भने कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । सपुतका भाइ सुनिल बिक मुख्य सहनिर्देशकको भूमिकामा छन् ।
चलचित्रमा कलाकार स्वस्तिमा खड्का अभिनेत्रीको रुपमा देखिनेछिन् । सपुतको बसन्त कथा भित्रकी शान्ति शर्माको भूमिकामा खड्का रहनेछिन् । खड्गबहादु पुन (खबपु)ले सत्यबहादुर मगर, सपुतले बसन्त बिक, शिभान्सी श्रीषले सपना बिक र प्रभात पाल ठकुरीले प्रेमआर क्षेत्रीको भूमिका गर्ने शुभमुहुर्तको समयमा कार्यकारी निर्देशक दिल श्रीषले जानकारी दिए । समाजमा रहेको विभेद र असमानताले दलीतलाई पिंधमा पार्दा शान्ति शर्माहरु पनि अप्ठ्यारोमा परिरहेको कथा देखाइने छ । प्रेमील र गुणी समाजलाई विभेदमा पार्दाको समस्या र नेपाली समाजका संस्कृतिहरुलाई संरक्षण गर्ने काममा चलचित्र बढी केन्द्रीत हुने उनले बताए ।
कलाकारसहित प्रोडक्सन, प्राविधिक लगायतको झण्डै ५० जनाको टोली शुक्रबार राती बागलुङ आएको हो । शनिबार शुभमुहुर्त गरेर टोली छायांकन स्थल धम्जा पुगेको छ । त्यसअघि सपुत सहितका कलाकारको सम्मानमा कालीका भगवती गुठी र स्थानीयले भजनकृतनसहित शान्तिपदयात्रा गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले चलचित्र निर्माण समूहलाई सुरक्षा व्यवस्थामा पनि साथ दिने प्रतिवद्दता जनाए । उक्त अवसरमा अभिनेत्री स्वस्तिमा खड्काले पनि मन्तव्य राखिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->