बागलुङ/२१ औँ निजामती सेवा दिवस बागलुङमा पनि बिभिन्न कार्यक्रम गरि मनाइएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।
जिल्ला प्रशासन कार्यालयको आयोजना र राष्ट्रिय स्तरका ट्रेड युनियनहरुको व्यवस्थापनमा बागलुङ बजारमा सचेतनात्मक प्रभात फेरीसहित, मुल समारोह, पुरस्कार बितरण र सम्मान कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
प्रभातफेरी पश्चात आयोजित मुल समारोहमा सरकारी कर्मचारीहरुका बिचमा भएको व्याडमिन्टन प्रतियोगिताका विजयी समुहलाई पुरस्कार वितरण गरिएको थियो । दिवसको अवसरमा आयोजित कार्यालय सरसफाईमा उत्कृष्ट हुने स्वास्थ्य कार्यालय बागलुङ पनि पुरस्कुत गरिएको थियो ।
सो अवसरमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट कामको आधारमा उत्कृष्ट कर्मचारीको रुपमा लाल प्रसाद शर्मालाई सम्मान गरिएको थियो । दिवसको अवसरमा कर्मचारीहरुको सहभागीतामा योग शिविर पनि गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय स्तरका ट्रेड युनियनहरुको तर्फबाट निजामति कर्मचारीको आधिकारीक टे«ड युनियनका उपाध्यक्ष दुर्गा प्रसाद शर्मा र कार्यालय प्रमुखको तर्फबाट जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम प्रजिअ नेत्रप्रसाद सुवेदीको अध्यक्षता, शाखा अधिकृत दिनेश शर्माको स्वागत र नायव सुब्बा रामप्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ ।





