पोखरा/ पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी बढ्दो छ । भदौ २८ र २९ गते हुने महाधिवेशनका लागि सौगात थापाले पनि कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनी कान्छा उम्मेदवार हुन् ।
चुनावका बेला अक्सर युवाको विषय नारामा मात्रै सिमित हुन्छन् । थापा भने यसपाली नारामा युवा पटकपटक नेतृत्वमा युवा यस पटक भन्दै मत मागिरहेका छन् । शनिबार पोउवा संघमा भएको उम्मेद्वार परिचय कार्यक्रममा बोल्दै सौगातले उद्योग वाणिज्य संघको छविलाई उचाल्न युवा नेतृत्वको आवश्यक्ता रहेको उल्लेख गरे । युवा व्यवसायीका समस्यालाई सम्बोधन गर्न आफ्नो उम्मेदवारी रहेको भनाई उनको छ । यसअघि पवन प्रजापतिको नेतृत्वमा रहेको कार्यसमिति टीममा रहि अनुभव लिएका थापाले व्यवसायमा आफ्नो उर्जा र समय खर्च गर्दै जाँदा व्यवसायीहरुका कयौँ समस्या र नीतिगत रुपमा भएका अपठ्याराहरु नजिकबाट महशुस गरेको बताए ।
उनले बुवा विन्दुकुमार थापाको पथलाई पछ्याउँदै उद्योग वाणिज्य संघमा आवद्ध भई व्यवसायीको पीरमर्कालाई सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । बुवाले सेवा गरेको संस्था आफ्ना लागि मन्दिर जस्तो पवित्र भएको उल्लेख गर्दै सेवामा समर्पित हुने उनले बताए । बुवाको राजनीतिमा सक्रियता बढ्दै गएपछि सम्पूर्ण व्यवसायको जिम्मेवारी सम्हाल्दै आएका सौगात टीममा विश्वास गर्छन् ।
आफू र आफ्नो टीम सङ्ग स्पष्ट खाका र उद्योगी व्यवसायीलाई परेको व्यथाको यथार्थ ज्ञान भएको उनले बताए । संघलाई अगाडि बढाउन योजना र सपना भएकाले पोखरेल प्यानललाई नै मत दिन व्यवसायीलाई उनको आग्रह छ । व्यक्तिका रुपमा कस्ले चुनाव जित्छ त्यो महत्त्वपूर्ण नभई कुन टिमले के गर्न सक्छ त्यो महत्वपूर्ण भएको भनाई उनको छ । व्यवसायीहरूको सल्लाह र सुझाव बमोजिम हकहित र पैरवीमा लाग्ने विषयमा आफू सचेत भएको समेत उनले उल्लेख गरेका छन् ।





