बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर मित्रता कायम

पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर मित्रता कायम


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८१, शनिबार

पोखरा/  पोखरा महानगरपालिका र जापानको होकुतो सहरबिच पर्वतीय नगर मित्रता (भगिनी सम्बन्ध) कायम भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चर स्थित होकुतो नगरका नगर प्रमुख एइजी उएमुराले शुक्रवार हस्ताक्षर गरेका छन ।

दुवै नगरबिच मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय नगर मित्रता कायम गरिएको पोखरा महानगरप्रमुख आचार्यले बताए । उनका अनुसार दुवै सहरका नागरिकहरू एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै भविष्यमा हुने द्विपक्षीय सहयात्रालाई आपसी हित, विकास साझेदारी र जनसम्बन्धको आयामका आधारमा प्रभावकारी बनाउँदै अगाडी बढाउन प्रतिबद्ध रहनेछन् ।

पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय नगरसँगको भगिनी सम्बन्ध जापानको कोमागानेसँग सन् २००१ मा कायम गरिएको थियो । ‘त्यसको निरन्तरताले विदेशका विभिन्न १४ वटा सहरसँग पोखराको मितेरी साइनो जोडिएको छ,’ आचार्यले भने, ‘पछिल्लो पटक १५ औँ अन्तर्राष्ट्रिय नगरका रूपमा जापानको होकुतो नगरसँग हामीले नयाँ सम्बन्धको सुरुवात गरेका छौँ, यसले पोखरा जस्तै हिमालको काखमा रहेको होकुतोसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासहरूको आदानप्रदानमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।’ प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको सङ्गम पोखरा र होकुतो बिच कायम गरिएको मित्रताले दुवै सहरको पर्वतीय पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने उहाँले विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय मैत्रीभावद्वारा प्रेरित भई दुवै सहरका नागरिकबिच मैत्रीपूर्ण भावनाको विकास गर्दै शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन र पूर्वाधारको विकासमा आपसमा सहकार्य सहित दुई पक्षीय सांस्कृतिक अनुभव, ज्ञान सीप र प्रविधिको आदान प्रदानलाई महत्वका साथ अगाडी बढाउन आफूहरूका बिचमा समझदारी भएको होकुतो नगरका नगर प्रमुख उएमुराले बताए ।

पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङले पोखरा र होकुतो नगरका बिचमा अनुभव आदान प्रदान र नयाँ सिकाइका लागि यो सम्बन्धले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन भने पोखरा–२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले पर्वतीय पर्यटनको प्रवर्द्धन नयाँ उचाइमा पुग्ने धारणा राखे ।

कार्यक्रमका लागि जापानबाट यामानासी प्रिफेक्चरका सभामुख मासाहितो उजुकी, सांसद फुजिमोतो योसिहिको, नेपाल जापान फ्रेन्डिसिप एसोसिएसनका हिरोमी इसिकावा लगायतको उपस्थिति रहेको थियो । पोखरा महानगरपालिकाले हालसम्म विदेशका १३ र देशभित्रमा २ वटा नगरसँग मितेरी सम्बन्ध कायम गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->