बागलुङ/नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहकार्यमा बागलुङ नगरपालिका वडा नं. १३ को काभ्रेडाँडा लिफ्ट खानेपानी आयोजना निर्माण गर्ने भएको छ । चालु वर्षभित्रै निर्माण सक्ने गरी दुई संस्थाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
शुक्रबार नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र नेवा गण्डकी प्रदेश प्रमुख रमेश दाहालले हस्ताक्षर गरे । चालु आर्थिक वर्षभित्रै काभ्रेडाँडामा खानेपानी खुवाउने गरी उक्त सम्झौता भएको हो । एक घर एक धारा अभियानअन्र्तगत आयोजनाबाट यहाँका २१ घरधुरीका १ सय ८ जनसंख्यालाई शुद्द खानेपानी उपलब्ध गराउने योजना शुरु भएको दाहालले जानकारी दिए ।
स्थानीयको श्रमदान ४ लाख २३ हजार, नगरपालिकाको समपुरक कोषबाट ८ लाख ८४ हजार र नेवाको ११ लाख ९४ हजार गरी कुल २५ लाख ३ हजारको लागतमा आयोजना निर्माण गरिनेछ । काभ्रेडाँडामा लामो समयदेखि खानेपानीको समस्याले स्थानीय पीडित छन् ।
नगरपालिकाले धेरै स्थानमा यस्तै समस्या समाधान गर्न नेवासँग सहकार्य थालेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । ‘सबै काम अनुदानको भरमा संभव पनि छैन, त्यसैले स्थानीयको श्रमदान र दातृनिकायको सहकार्यमा नगरपालिकाको समेत लगानी मिसाएर यस्ता योजना पुरा गर्दैर्छौं’ श्रेष्ठले भने, ‘विशेषगरी लिफ्ट खानेपानीका लागि नेवासंग सहकार्य गरेका हौं ।’ नेवाले लिफ्ट खानेपानी आयोजनामा लामो समयदेखि काम गरेको छ ।
पानीको मुहानमा इन्टेक बनाउने, पानी शुद्दिकरण गर्ने, आइसी च्याम्बर निर्माण, पानी वितरण ट्यांकी तथा पानीका धारा निर्माणको काम सम्झौतामा उल्लेख छ । त्यस बाहेक शुद्द पानी नियमित बनाउन नेवाले सरसफाइ अभियान पनि संचालन गर्नेछ । वडा कार्यालयले त्यसमा साथ दिने छ । ठोस फोहोर व्यवस्थापन गर्ने, घरघरमा भाँडा सुकाउने स्थान बनाउन लगाउने र भाँडा धुने स्थानमा स्यालब निर्माण गरिने सम्झौतामा उल्लेख छ । त्यसका लागि उपभोक्ता समिति गठन घरघरमा स्वच्छ अभियानका सूचक पालनामा लगाइने छ ।
नियमित मर्मतमार्फत दिगो व्यवस्थापनका लागि दुइ संस्थाबीच सम्झौता भएको हो । स्वच्छ खानेपानी मात्र नभई सामाजिक रुपमा समाजमै स्वच्छता कायम गर्ने तालिम संचालन गर्ने र नियमित रुपमा सरसफाइका लागि अभ्यास गराउने समेत सम्झौतामा उल्लेख छ । महिला पुरुष समविकास तथा सामाजिक समावेशीकरण, गरिबी संवेदनशिलता, सहभागिता र पारदर्शीताको शिक्षा पनि उपभोक्तालाई दिइने छ । ती विषयमा नेवाले आवस्यक तालिम चलाउने छ । उपभोक्तालाई प्राविधिक तालिम दिंदा प्राविधिक ज्ञान हुने र मर्मत कोष समेत बनाइने छ । नेवाले गत वर्षदेखि बागलुङ नगरभित्रका योजनामा पनि काम थालेको हो ।





