बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुग्लिन–पोखरा सडक छिटो बनाउन गण्डकीका मुख्यमन्त्री पाण्डेको ताकेता

मुग्लिन–पोखरा सडक छिटो बनाउन गण्डकीका मुख्यमन्त्री पाण्डेको ताकेता


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८१, आइतबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई ताकेता गरेका छन् । गण्डकी प्रदेशको लाइफलाईन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रुपमा सवारी आउजाउ गर्ने गरी छिटो काम गर्न निर्देशन दिएका हुन् ।

‘पूर्वी खण्डमा अहिले केही सहज भएको छ, तर पश्चिम खण्डमा काम ढिलो हुँदा सर्वसाधारणले सास्ती पाएका छन’, आईतवार मुख्यमन्त्री कार्यालयमा आयोजित सरोकारवाला विचको छलफलमा मुख्यमन्त्री पाण्डेले भने, ‘कुनै समस्या भए हामी सहजीकरण गर्नेछौँ, तर कामको गति छिटो बनाउनुहोस् ।’ अहिले पुर्वी खण्डमा ६४ प्रतिशत काम सकिएको छ भने पश्चिम खण्डमा ३० प्रतिशत मात्रै काम भएको छ ।

सरोकारवालाको छलफलले दोहोरो कर हटाएर प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी रकम नघट्ने गरी निर्माण सामग्रीमा कानुन बमोजिम एकमुष्ट रोयल्टी लिने निर्णय गरेको छ । अहिले स्थानीय तहपिच्छे रोयल्टी, करको दर फरक/फरक हुँदा काममा समस्या भएको गुनासो निर्माण कम्पनीको थियो । सडक क्षेत्रमा पर्ने बिजुलीका पोलहरु विद्युत प्राधिकरणले तत्काल स्थानान्तरण गर्ने, चाडपर्वको समय नजिकिएकाले सडक क्षेत्रमा खाल्टाखुल्टी पुरेर आयोजना कार्यालयले सवारी आउजाउ सहज बनाउने निर्णय बैठकले गरेको छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलको गेटदेखि सेती नदीपुलसम्म बिजुली तार भूमिगत गर्ने कार्य तत्काल गरी दुई लेन सडक तत्काल निर्माण गर्ने, निर्माण सामग्रीका बारेमा संम्बन्धित पालिकाले स्रोत जान्न पाउने लगायत पाँचवटा निर्णय भएको छ । छलफलमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका प्रमुख सचिव, शुक्लागण्डकी नगरपालिकाका मेयर, कास्की र तनहुँका प्रमुख जिल्ला अधिकारी, सडक योजनाका प्रमुख, विद्युत प्राधिकरणका इकाई प्रमुखहरु लगायतको उपस्थिती थियो । छलफलमा निर्माण कम्पनीले अवको १५ महिना भित्र काम सक्ने लक्ष्य लिएको जानकारी दिएको छ । सडक विस्तार र निर्माणको काम छिटो गर्न आयोजना कार्यालय, निर्माण कम्पनीलाई काममा सहजिकरण गर्ने गरी विभिन्न ५ वटा निर्णय समेत गरेको छ ।

बैठकले गरेको निर्णय अनुसार स्थानीय उत्पादन तथा निर्माण सामाग्रीको लागि प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी वापतको शुल्क रकम संकलन गर्ने क्रममा सम्बन्धित स्थानीय तहले फरक शिर्षकमा थप शुल्क रकम नलाग्ने गरी एकमुष्ट रुपमा प्रचलित कानून बमोजिम रोयल्टी वापतको शुल्क रकम संकलन गर्ने व्यवस्था मिलाउने पहिलो रहेको छ । यसैगरी निर्माण सामाग्री प्रशोधनको लागि निर्माण गरिएको प्लान्टमा संकलन हुने निर्माण सामाग्रीहरुको सम्बन्धमा सम्बन्धित पालिकाले स्रोत बुझ्न चाहेको बखत उक्त सामाग्रीको स्रोत सम्बन्धित पक्षले प्रमाणित गर्नुपर्ने, सडक निर्माणको कार्यमा बाधा उत्पन्न नहुने गरी समयमा कार्य सम्पन्न गर्न सहजीकरण गर्न नेपाल विद्युत प्राधिकरणको तर्फबाट बिजुली पोलहरु सार्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै चाडपर्व तथा पर्यटकहरुको आवागमनको कारण सडकमा चाप बढ्ने भएकोले मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) मा वर्षातले बिगारेको सडक क्षेत्रमा खाल्टाखुल्टीहरु पुरी सवारी आवागमनमा सहज बनाउने, विद्यूत आपूर्ति गर्ने समयको सूचना प्रकाशन गरी पोखरा– भरतपुर भूमिगत विद्युतिकरण आयोजनाको तर्फबाट पोखरा अन्तराष्ट्रिय विमानस्थल गेटदेखि सेती नदी पुलसम्म बिजुली तार भूमिगत गर्ने कार्य मिति २०८१ भदौ मसान्तसम्ममा सम्पन्न गर्ने र तत्पश्चात आयोजनाको तर्फबाट उक्त क्षेत्रमा यथाशिघ्र न्यूनतम दुई लेन सडक निर्माण कार्य सम्पन्न गर्ने गराउने निर्णय पनि बैठकको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->