पोखरा/ गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुुकुमार थापाले आफ्नो एकसय दिनको उपलब्धी सार्वजनिक गरेका छन् । २०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि १०० दिनमा आफुले गरेका महत्वपूर्ण कामका उपलब्धीहरु आज सार्वजनिक गरेका हुन् । उनको सय दिन २०८१ भदौ २० गते पुगेको हो ।
सय दिनमा सामाजिक विकासतर्फ र ९६ दिनमा स्वास्थ्यतर्फ भएका कामको विवरण आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री थापाले सुनाए । प्राविधिक तथा व्यवसायिक शिक्षा संचालन अन्तर्गत प्रदेशका २५ वटा विद्यालयमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम संचालन गरी विद्यार्थीलाई दक्ष बनाउने बाटोमा प्रदेश सरकार लागेको उनले उल्लेख गरे । फ्राइडे फर फियुचर कार्यक्रम मार्फत बालबालिकालाई संस्कार सिकाउने शिक्षाको समेत प्रदेश सरकारले निर्देशिका तयार गरेको उनले बताए ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयमा कार्यरत शिक्षकहरुलाई पेशागत तालिम उपलब्ध गराइएको उनले उल्लेख गरे । मन्त्री थापाले लोपोन्मुख अवस्थामा रहेका संस्कृतिहरुको संरक्षणका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानलाई क्रियाशिल बनाई महत्वपूर्ण काम गरिरहेको बताए । मनकामना क्षेत्रको संचालन, संरक्षण, विकास एवम् प्रवद्र्धनका लागि मनकामना क्षेत्र विकास समिति गठन आदेश तयार गरिएको जानकारी उनले गराए ।
श्रम तथा रोजगार तर्फ वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन काम भएको उनले बताए । व्यवसाय गर्न चाहेका व्यक्तिहरुलाई नयाँ सिपमुलक क्षेत्रको पहिचान गरि स्वरोजगार बनाउन कार्यक्रम तय गरिएको बताए । “गण्डकी प्रदेशमा खेलकुदको गतिविधिलाई प्रभावकारी बनाउन महत्वपूर्ण काम भएका छन् । खेलाडी कल्याण कोषको स्थापना र संचालन सम्बन्धी कार्यविधि बनाई अगाडि बढिएको छ ।”, उनले भने । सामाजिक सेवा, कृषि, नवप्रवर्तन, नेतृत्व विकास लगायतका क्षेत्रमा योगदान गरेका युवालाई क्रियाशिल बनाउन काम गरिएको उनले बताए । खेलकुदका विभिन्न संघसंस्थासँग समन्वय गर्दै आवश्यक कार्यक्रमलाई अगाडि बढाउने काम भएको मन्त्री थापाको भनाई छ ।
द्वन्द्वपीडित बेपत्ता, घाईते, अपाङ्ग, शहिद परिवार र विपन्न महिलाहरुको उद्यम, व्यवसाय तथा रोजगारी प्रवद्र्धनमूलक कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिएको उनले बताए । न्यून आय भएका, श्रम गर्न नसक्ने अशक्त र असहाय, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकहरुलाई विशेष प्राथमिकता दिँदै उद्धार, राहत एवम् पुनस्थापना कार्यक्रम मन्त्रालयले संचालन गरेको छ ।
क्यान्सर उपचार सहायता कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट उपलब्ध हुने सहायता रकमका अलावा गण्डकी प्रदेश सरकारले विरामीलाई एक लाख रुपैयाँ बराबरको उपचार गराउने गरि विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको बताए । बेनी, पर्वत, लमजुङ, स्याङजा, दमौली, गोरखा, मुस्ताङ र मध्यविन्दु अस्पतालको ओपोडी सेवालाई विस्तार गरिएको जनाए ।
गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आउँदा वा समुदायमै महिला सामुदायिक स्वयंसेविका मार्फत विद्युतीय प्रणालीमा दर्ता गर्ने गरी पूर्ण संस्थागत सुत्केरी प्रदेश अभियान संचालनमा ल्याइएको उनले उल्लेख गरे । क्षयरोग जस्ता विभिन्न सर्ने रोगहरू एवं उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता विभिन्न नसर्ने रोगको समुदायस्तरमा परीक्षण गरी समयमै निदान गर्ने गरी विशेष स्क्रिनिङ कार्यक्रम संचालनमा गरिएको उनले बताए । कार्यक्रममा मन्त्रालयका सचिव प्रकाश पौडेल र स्वास्थ्य प्रशासक डा. रमेश केसीले पत्रकारहरुको जिज्ञासाको जवाफ दिएका थिए ।
मन्त्री थापाले बुँदागत रुपमा आफ्नो उपलब्धीलाई यसरी राखेका छन ।
पदभार ग्रहण मिति: २०८१ जेष्ठ १६ गते
शिक्षा क्षेत्रः
- औद्योगिक क्षेत्रमा पेशागत जनशक्ति भएका तह र हालसम्म राष्ट्रिय सीप प्रमाणिका नभएका सीप परिक्षणका नयाँ क्षेत्र पहिचान गर्ने उद्देश्यले आतिथ्य उद्योग, अटोमोवाइल, इन्जिनियरिङ, कृषि निर्माण, पेशागत गरीएको ।
- माध्यमिक शिक्षा (कक्षा 9-10) मा अनिवार्य विषयको पाठ्यक्रमले समेटन नसकेका सिकाइका क्षेत्रहरु प्रदेशको भौगोलिक विशेषता, आकस्मिक चिकित्सा सेवा, आत्मसुरक्षा, विपद व्यवस्थापन एवं वातावरण संरक्षण जस्ता विषयहरुलाई समेटी ऐच्छिक विषयको रुपमा पठनपाठनका लागि पाठ्यक्रम निर्माण गरिएको।
- प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएका विद्यालयहरुको प्रयोगशाला एवम् उपकरणहरुको उचित व्यवस्थाका लागि १० वटा विद्यालयहरुलाई अनुदान उपलव्ध गराइएको ।
- प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएका २5 वटा विद्यालयहरुमा सिक्दै कमाउँदै कमाउँदै सिक्दै कार्यक्रम सञ्चालनका लागि अनुदान उपलव्ध गराइएको ।
- STEM ल्याब स्थापना गरी प्रारम्भिक तह देखि नै गणित, विज्ञान, प्रविधि एवम् इञ्जिनियरिङसँग सम्बन्धित विषयमा विद्यार्थीहरुमा रुची, सहभागिता र क्षमता विकास गर्न ३० वटा माध्यमिक विद्यालयमा लागि अनुदान उपलव्ध गराइएको ।
- शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह शिक्षा युवा तथा खेलकुद महाशाखा/शाखामा कार्यरत जनशक्तिलाई विद्यालय स्तरीकरण सूचक, 2081 र Friday For future कार्यक्रम कार्यान्वयन निर्देशिका सम्बन्धमा अभिमुखिकरण गरिएको ।
- अनौपचारिक क्षेत्रमा कार्यरत 133 जना जनशक्तिहरुका लागि तह १ र तह २ उत्तिर्ण सीप परिक्षण प्रमाणपत्र वितरण गरिएको ।
- गण्डकी प्राविधिक शिक्षालय निर्माण स्थलको वातावरणीय प्रभाव मूल्याल्याङ्कन प्रतिवेदन स्वीकृत भएको र गण्डकी प्राविधिक शिक्षालयको प्रशासनिक तथा स्टाफ क्वार्टर निर्माणको ठेक्का आव्हान गरिएको ।
- कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (KOICA) नेपाल कार्यालयका Country Director सहितको प्रतिनिधि मण्डलमार्फत गण्डकी प्राविधिक शिक्षालय निर्माणस्थलको भ्रमण भएको र माननीय सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीज्यूको उपस्थितिमा भएको बैठकमा अगष्ट २०२४ मा गण्डकी प्राविधिक शिक्षालय निर्माण तथा सञ्चालन परियोजनामा सहयोगको लागि सम्झौता गर्ने प्रतिवद्धता जाहेर भएको ।
- सामुदायिक विद्यालयमा कार्यरत ४२ जना शिक्षकहरुको लागि मनोसामाजिक परामर्श तालिम सञ्चालन गरिएको ।
- शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयमा कार्यरत ३४३ जना शिक्षकहरुका लागि ३९० कार्यघण्टे लामो अवधिको शिक्षक पेशागत तालिम प्रदान गरिएको ।
भाषा, संस्कृति, पुरातत्त्व क्षेत्र
- गण्डकी प्रज्ञा-प्रतिष्ठान मार्फत् कला, साहित्य, संगीत, सस्कृति र भाषाको बृत्ति-बिकास, प्रवर्द्धन, संर्वद्धनको क्षेत्रमा प्रदेशमा अवस्थित जातीहरूको सामाजिक, सॉस्कृतिक बिषयमा अनुसन्धान, स्रस्टाहरूको बायोग्राफ़ी निर्माण, लोपोन्मुख अवस्थामा रहेका संस्कृतिहरूको डकुमेन्ट्रि निर्माण तथा प्रचार, अभिलेख राख्ने र पुस्ताहस्तान्तरण गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरिएको ।
- संग्रहालयमा संग्रहित सामाग्रिहरुको व्यवस्थित रुपमा प्रदर्शनीको लागि अवश्यक पूर्वाधार, संग्रहालयको प्रदर्शनी कक्षमा विभिन्न जातिको संस्कृति झल्काउने डमि (प्रतिकृति) निर्माण र गण्डकी प्रदेशको संस्कृति झल्काउने टक शो कार्यक्रम सञ्चालन गरिएको गरिएको ।
- मनकामना क्षेत्रको सञ्चालन, संरक्षण, विकास, एवम् प्रवर्धन गर्ने उद्देश्यले मनकामना क्षेत्र विकास समिति गठन आदेश, २०८१ जारी गरि समितिको अध्यक्ष एवम् सदस्यहरुको नियुक्ति गरिएको र कार्यकारी निर्देशक नियुक्तिको प्रक्रियामा रहेको ।
श्रम तथा रोजगार
- आन्तरिक रोजगारीको प्रवर्धन, प्रदेश र स्थानीय तह वीचको अन्तर सम्बन्ध अभिबृद्धि एवम् वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन तनहुँ, गोरखा र लमजुङ जिल्लामा कार्यरत स्थानीय तहका ३५ जना रोजगार संयोजकहरूलाइ रोजगार सेवा सम्बन्धी अनुशिक्षण तथा अभिमुखिकरण गरिएको ।
- विभिन्न पेशा व्यवसाय गर्न चाहेका व्यक्तिहरूलाइ नयाँ सिपमुलक क्षेत्रको पहिचान गरि स्वरोजगार बनाउने उद्देश्यले विभिन्न व्यवसायिक तथा सीपमुलक तालिम सञ्चालनको लागि मापदण्ड निर्माण गरिएको ।
ऐन, नियमावली, निर्देशिका, कार्यविधि तथा मापदण्ड निर्माण
- गण्डकी प्रदेशमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षालाई मर्यादित, व्यवस्थित र अनुशासित रुपमा सञ्चालन एवं एकरुपकता कायम गर्न माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ निर्माण गरिएको ।
- चालु आ. व. २०८१/०८२ मा मन्त्रालय र मातहतका कार्यालयले कार्यान्वयन गर्ने वार्षिक विकास कार्यक्रमहरु व्यवस्थित एवम् प्रभावकारी रुपमा सञ्चालन तथा कार्यान्वयनमा एकरुपता कायम गर्न कार्यान्वयन मापदण्ड निर्माण गरिएको ।
- विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभाहरुको प्रष्फुटन, रैथानै एवम् जीवनोपयोगी ज्ञान र सीपको विकास गरी भविष्यको तयारीका लागि सहयोग पुर्याउन Friday for Future कार्यक्रम सञ्चालन निर्देशिका निर्माण गरिएको ।
- नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार गोरखा जिल्ला स्थित मनकामना क्षेत्रको सञ्चालन, संरक्षण, विकास, एवम् प्रवर्धनको दायित्व गण्डकी प्रदेश सरकारमा हस्तान्तरण भए बमोजिम उक्त क्षेत्रको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानून मनकामना क्षेत्र विकास समिति गठन आदेश, २०८१ जारी गरिएको ।
- गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा संचालन कार्यविधि २०८१ एवं खेलाडी कल्याण कोषको स्थापना र संचालन सम्वन्धी कार्यविधि २०८१ का मस्यौदा निर्माण गरि स्वीकृतिको प्रक्रिया अगाढी बढाईको ।
- अपाङ्गता सम्बन्धी प्रदेशस्तरीय निर्देशन समिति गठन कार्यविधि २०७७ मा (पहिलो संशोधन) गरिएको ।
- शिशु स्याहार केन्द्र स्थापना तथा संचालन (पहिलो संशोधन) कार्यविधि, २०८१ स्वीकृत भएको ।
- खेल संघ दर्ता, नविकरण तथा संचालन सम्वन्धी मापदण्ड, २०८१ स्विकृत भएको ।
- गण्डकी प्रदेशमा सञ्चालनमा भएका विभिन्न प्रकृतिका संग्रहालयहरुलाई कानूनी दायरामा ल्याई आवस्यकता र औचित्यका आधारमा नियमन, प्रोत्साहन र सञ्चालनमा टेवा पुर्याउन प्रदेश संग्रहालय नीति, २०८१ को मस्यौदा निर्माण गरी स्वीकृतिको प्रक्रियामा रहेको ।
- भाषा आयोगको सीफारिस बमोजिम मगर र गुरुङ भाषालाई गण्डकी प्रदेशको सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयनमा ल्याउन कानून निर्माण प्रक्रिया अगाडि वढाइएको ।
युवा तथा खेलकुद क्षेत्र
- प्रदेशका विभिन्न क्षेत्र अनुसन्धान सामाजिक सेवा, कृषि, नवप्रवर्तन, नेतृत्व विकास लगायतका क्षेत्रमा योगदान गरेका 13 जना युवा र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भई राष्ट्र तथा प्रदेशको गौरव राख्न सफल २१ जना खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कार तथा सम्मान गरिएको ।
- खेलकुद प्रतियोगिता आयोजना तथा दैनिक खेलकुदका गतिविधिहरु सञ्चालन प्रोत्साहित गर्न युवाक्लब तथा खेलकुद सम्बन्धी संस्थाहरूलाई खेलकुद सामग्री विरतण गरिएको ।
- खेलकुद विकास सम्बन्धी कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने उदेश्यले स्थानीय तह खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, खेल संघका पदाधिकारी तथा सरोकारवालाहरुसंगको छलफल/अन्तरक्रिया कार्यक्रम ९ जिल्लामा सम्पन्न गरिएको ।
- यू-15 विद्यालय खेलकुद प्रतियोगिता 2080, केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता 2081, अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता-2080 मा गण्डकी प्रदेशको तर्फबाट सहभागी भई उत्कृष्ट प्रदर्शन गरी पदक प्राप्त गरेका खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको ।
- कर्णाली प्रदेशमा मिति 2081 मंसिर 2 गते देखि 9 गतेसम्म आयोजना हुने दशौ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको उत्कृष्ट नतिजा प्राप्तिको लागि खेलाडीहरुको दर्ता, पहिचान र प्रशिक्षण कार्य शुरु गरिएको ।
- १२० जना महिलाहरुका लागि आत्मरक्षा सम्वन्धी तालिम सञ्चालन गरी आफनो सुरक्षा आफै गर्ने क्षमता विकास गरिएको ।
- सामुदायिक विधालयमा सञ्चालन हुने विभिन्न खेलकुद कार्यक्रहरुलाई व्यवस्थित एवं प्रभावकारी रुपमा सञ्चालन र क्षमता विकास गर्ने उद्देश्यले १६० जना खेल शिक्षकहरुका लागि तालिम संचालन गरिएको ।
- लागु औषध दुर्व्यसन नियन्त्रण तथा न्युनिकरण गर्ने उद्देश्यले मिडिया र लागु औषध दुर्व्यसनको क्षेत्रमा कामगर्ने संघ संस्थाहरुसँग समन्य गर्दै म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, कास्की र तनहुँमा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रर्म गरिएको।
सामाजिक विकास क्षेत्र
- द्वन्द्वपिडित बेपत्ता, घाईते, अपाङ्ग, शहिद परिवार र विपन्न महिलाहरुको उद्यम, व्यवसाय तथा रोजगारी प्रवर्द्धनमूलक कार्यक्रमबाट विभिन्न जिल्लाका ३६ जना द्वन्द्व पीडितहरुको उद्यम व्यावसाय प्रवर्द्धनमा सहयोग गरिएको।
- विगतमा गठन भई पदावधि समाप्त भएका प्रदेश बाल परिषद् र जिल्ला बाल अधिकार समितिहरु पुनर्गठन गरिएको ।
- सकारात्मक सोच र व्यवहार परिवर्तनका लागि लैंगिक हिंसा, बोक्सीको आरोप, छाउपडी जस्ता सामाजिक कुरीति विरुद्धको अभियान सञ्चालन गरिएको।
- समुदायमा आधारित पुनस्थापना कार्यक्रम सहायता सामाग्री, सम्मानपूर्वक जीवनयापनका लागि स्वरोजगार एवं आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरिएको
- न्यून आय भएका, श्रम गर्न नसक्ने अशक्त र असहाय, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकहरुलाई विशेष प्राथमिकता दिँदै उद्धार, राहत एवं पुनस्थापना कार्यक्रम सञ्चालन गरिएको ।
- ज्येष्ठ नागरिकको सम्मान तथा अन्तरपुस्ता ज्ञान पुस्तान्तरण कार्यक्रम, आत्महत्या न्यूनीकरणको लागि सचेतना कार्यक्रम, एकल महिला नेतृत्व क्षमता विकास तालिम सञ्चालन, मिडियासँग सामाजिक विकास कार्यक्रम लगाएतका कार्यक्रम सञ्चालन गरिएको।
आर्थिक वर्ष २०८१/०८२ मा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले सेवालाई सरलीकरण र सहज बनाउने उद्देश्यले कार्यक्रम प्रविष्टी तथा कार्यान्वयन गर्न मातहतका जिल्लास्थित कार्यालयहरुलाई मुख्य जिम्मेवार बनाई बजेट विनियोजन गरिएको ।
- आकस्मिक सेवा व्यवस्थापनलाई व्यवस्थित बनाउन नि:शुल्क सम्पर्क गर्न सकिने १०२ नम्बरको हटलाइन सेवा सहित प्रादेशिक एम्बुलेन्स प्रेषण केन्द्रको सेवालाई थप व्यवस्थित गरिएको।
- क्यान्सर उपचार सहायता कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट उपलब्ध हुने सहायता रकमका अलावा गण्डकी प्रदेश सरकारका तर्फबाट थप रू. १ लाख बराबरको उपचार गराउने गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बि. पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र निजामती कर्मचारी अस्पताल, मीनभवन, काठमाडौंसँग सम्झौता गरी कार्यक्रमको विस्तार भएकोमा वीर अस्पताल, काठमाडौंसँग नयाँ सम्झौता गरिएको ।
- गण्डकी र धौलागिरी आयुर्वेद औषधालयमा बिरामी भर्ना भई उपचार हुने व्यवस्था सहित अन्तरंग सेवाको सुरुवात गरी उक्त औषधालयहरूको स्तरोन्नतिको प्रकृया अगाडि बढाइएको।
- बेनी, पर्वत, लमजुङ, स्याङ्जा, दमौली, गोरखा, मनाङ, मुस्ताङ र मध्यविन्दु अस्पतालमा बिहान १० देखि ५ बजेसम्म रहेकोमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा प्रवाह हुने गरी विस्तारित OPD सेवा कार्यक्रम सञ्चालन गरिएको।
- चालु आ.व. २०८१/०८२ का लागि स्वीकृत वार्षिक कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनको लागि मापदण्ड तयारी गरी स्वीकृत गरिएको।
- गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आउँदा वा समुदायमै महिला सामुदायिक स्वयंसेविका मार्फत विद्युतीय प्रणालीमा दर्ता गर्ने गरी पूर्ण संस्थागत सुत्केरी प्रदेश अभियान संचालनमा ल्याइएको।
- प्रदेशका सबै जिल्लाहरुमा पूर्ण खोप सुनिश्चचता दिगोपना कार्यक्रम गरी गण्डकी प्रदेश पूर्ण खोप सुनिश्चित भएको ।
- क्षयरोग जस्ता विभिन्न सर्ने रोगहरू एवं उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता विभिन्न नसर्ने रोगको समुदायस्तरमा परीक्षण गरी समयमै निदान गर्ने गरी विशेष स्क्रिनिङ कार्यक्रम संचालनमा ल्याइएको।
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला, कास्कीबाट बिहान ८ बजे देखि बेलुकी ५ बजेसम्म प्रयोगशाला सेवा प्रदान गरिनुका साथै Teaching Lab with 10 headed microscope, Self Service Report Vending Machine, Three-part coulter counter, Semi LBC को मिति २०८१/०३/२७ मा उद्घाटन गरी सेवा प्रवाह गरिएको। उक्त प्रयोगशालाबाट नेपालमा पहिलो पटक कुष्ठरोग प्रयोगशाला सहभागी म्यानुअल र प्रशिक्षक पुस्तिका तयार गरी सो सम्बन्धी प्रबोधीकरण गरिएको।
- संक्रामक तथा सरूवा रोग अस्पताल, कास्कीमा अस्पतालजन्य संक्रमित फोहरलाई संक्रमण रहित बनाउने Shredder Sterilization Machine जडान गरी संचालनमा ल्याइएको।
- दमौली अस्पताल, तनहुँमा आकस्मिक कक्षमा ७ शैया थप गरी १३ शैया सञ्चालनमा ल्याइएको र शल्यक्रिया मार्फत गरिने प्रसुति सेवाको सुरुवात गरिएको, डायलायसिस मेसिन थप गरी व्यास नगरपालिकासँगको सहकार्यमा उक्त अस्पतालको डायलायसिस सेवालाई दुम्सी बजार स्थित नगर स्वास्थ्य संस्थाबाट सञ्चालन गर्ने प्रकृया अगाडि बढाइएको।
- गोरखा अस्पताल, गोरखामा आँखा उपचार सेवा र Laparoscopic सेवा (दूरबीनबाट गरिने शल्यक्रिया) को थालनी गरिएको।
- स्याङ्जा अस्पताल, स्याङ्जाबाट फिजियोथेरापी सेवाको सुरुवात र PICU स्थापना गरी सञ्चालनमा ल्याइएको।
- स्याङ्जा अस्पताल, दमौली अस्पताल र धौलागिरी अस्पतालमा ट्रमा युनिट स्थापना गरी सञ्चालनमा ल्याइएको ।
- लमजुङ अस्पताल, लमजुङमा जिन एक्सपर्ट मेसिन सहित सेवा विस्तार गरिएको।
- मातृशिशु मितेरी अस्पताल, कास्कीमा आँखा सेवा र जनरल चिकित्सा सेवा विस्तार गरिनुका साथै उक्त अस्पताल स्तरोन्नतीका लागि आवश्यक थप जग्गा व्यवस्थापनको लागि प्रकृया अगाडि बढाइएको।
- गोरखाको आँपपीपल अस्पताल र बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश सरकार मातहत ल्याई सञ्चालन गर्नको लागि आवश्यक चालु तथा पूँजीगत तर्फ बजेट विनियोजन गरी स्वामित्व हस्तान्तरणको प्रक्रिया अगाडि बढाइएको।
- अस्पतालहरुमा संचालित इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लगायत डिजिटल हेल्थ सम्बन्धी सबै प्रणालीहरूलाई थप व्यवस्थित गर्ने गरी १० जना सूचना प्रविधि अधिकृत सहित मन्त्रालयमा डिजिटल हेल्थ इम्प्लिमेण्टेशन युनिट(Digital Health Implementation Unit)को स्थापना गरी कार्यक्रम कार्यान्वयनमा ल्याइएको।
- स्थानीय तहका ६१४ वटा स्वास्थ्य संस्थाबाट Real Time प्रवेदन हुने गरी विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (Electronic Health Management Information System: e-HMIS) कार्यान्वयनमा ल्याइएको
- सबै अस्पतालहरूमा Electronic Record Record-EMR System लागू गरिएको।
- स्थानीय तहसँगको समन्वयमा ७० पालिकाको Family Health Profile थप व्यवस्थित गरिएको।
- विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली (Electronic Logistics Management Information System: e-LMIS) लाई ६०१ स्वास्थ्य संस्थामा विस्तार गरिएको
- प्रदेशभर महामारी निगरानी गर्ने प्रयोजनार्थ घटनामा आधारित स्वास्थ्य क्षेत्रसँग सम्बन्धित प्रकोपको तत्काल Real Time प्रतिवेदन हुने गरी लागू भएको सर्भिलेन्स आउटब्रेक रेस्पोन्स म्यानेजमेन्ट एण्ड एनालाइसिस प्रणाली (SORMAS) लाई थप व्यवस्थित गरी कार्यान्वयनमा ल्याइएको।
- डायलाइसिस सेवाको Real Time Data Management गरिएको।
- गर्भवति महिलाको स्वास्थ्य अवस्थाको पूर्ण जानकारी लिने गरी Tracking System को विकास गरी कार्य सम्पादन भइरहेको।
- मध्यविन्दु जिल्ला अस्पतालमा ECHO सेवाको सुरुवात गरिएको र अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्न मन्त्रिपरिषदबाट निर्णय गरि आवश्यक जग्गाको भोगाधिकारको लागि नेपाल सरकार समक्ष अनुरोध गरि पठाइएको ।
- हाल १५ शैयामा सञ्चालित अस्पतालहरुलाई कम्तिमा पनि ५० शैयामा स्तरोन्नति गर्ने नीतिगत निर्णय भएको र १५ शैयाको स्वीकृत भई ५० शैया भन्दा बढि क्षमतामा सञ्चालन भइरहेका अस्पतालहरूको लागि निरन्तर स्वास्थ्य सेवाका अलावा विशेषज्ञ सेवा प्रवाहमा रहेका १७० जनशक्तिबाट ४३० जना जनशक्तिको व्यवस्थापन गरी सेवा प्रवाह गरिएको।
- गण्डकी प्रदेश सरकार मातहतका अस्पतालहरूमा डायलाइसिस सेवा लिइराखेका बिरामीहरूको चापलाई मध्यनजर गर्दै शिफ्ट थप गरी बिरामीहरुलाई उक्त सेवा प्रदान गरिएको र संक्रामक तथा सरूवा रोग अस्पताल, कास्कीमा आवश्यक जनशक्ति, औजार उपकरण र भौतिक पूर्वाधारको थप व्यवस्थापन गरी २५ शैय्या क्षमतामा स्थापित डायलाइसिस केन्द्र संचालन कार्यलाई थप व्यवस्थित गरिएको ।
- स्थानीय तहसँगको समन्वय र सहयोगमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा देखा परेको डेंगी रोगको प्रकोप नियन्त्रण एवं व्यवस्थापनको लागि आपतकालिन प्रतिकार्य टिम (RRT) लगायतका स्वास्थ्य प्राविधिक टोली खटाई लामखुट्टेको बासस्थान “खोज र नष्ट गर” अभियानलाई थप व्यवस्थित बनाई समुदायस्तरमा कार्यक्रम संचालन गरिएको।
- धौलागिरी आयुर्वेद औषधालय, बाग्लुङमा क्षारसुत्र र अकुपञ्चर सेवा सुरुवात गरिएको र गोरखा अस्पतालमा आयुर्वेद सेवा समेत सुचारु गरिएको ।
- आयुर्वेद स्वास्थ्य संस्थाहरुको विस्तारित एवं विशेषज्ञ सेवाहरुको सेवा शुल्क निर्धारण गरिएको ।
- जिल्ला प्रशासन कार्यालय, कास्कीमा ज्येष्ठ नागरिक विश्राम कक्ष / स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको ।
- स्वास्थ्य तालिम केन्द्रको सभाहल निर्माण सम्पन्न भई प्रयोगमा ल्याइएको साथै गोरखा अस्पताल र संक्रामक तथा सरूवा रोग अस्पतालमा लिफ्ट जडान गरी सञ्चालनमा ल्याइएको ।
- गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूको प्रमुख आतिथ्यतामा स्थानिय तहका प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष/प्रमुख प्रशासकिय अधिकृतहरु एवं अन्य सरोकारवाला व्यक्तिहरुको सहभागितामा “गण्डकी प्रदेशका स्थानीय तहहरु बीच नवप्रवर्तनात्मक स्वास्थ्य कार्यक्रम सम्वन्धी अन्तरक्रिया कार्यक्रम” सञ्चालन गरी योजना तर्जुमा कार्यमा प्रत्यक्ष सहयोग पुर्याएको।
- स्वीकृत कार्यविधि बमोजिम रगत तथा रगतजन्य सेवा निःशुल्क कार्यक्रमलाई निरन्तरता दिइएको ।





