पोखरा/पोखरा २६ को बुढीजारदेखि खरानेफाँट, राखिडाँडाहुँदै कालिकासम्मको बाटो स्तरोन्नतिको काम सुरु भएको छ ।
पोखरा महानगरपालिकाको गौरवको योजनाअन्तर्गत ६ करोड ८९ लाख छ सय ९५ रुपैयाँको लागतमा करिब साढे तीन किलोमिटर बाटोमा नालासहित आठ मिटर चौडाइको बाटो बनाउन लागिएको हो ।
लामो समयको पर्खाइपछि बन्न लागेको बाटोको निर्माण शिद्धवावा कन्ट्रक्सनले बुढीबजारदेखि काम सुरु गरेको छ । २०८१ भदौ ६ गते भएको सम्झौताको एक वर्ष अर्थात् २०८२ को भदौ ४ गतेसम्म काम सम्पन्न गर्ने सम्झौता गरिएको छ ।
निर्माण कम्पनीका ठेकेदार नारायण श्रेष्ठले बाटोको दायाँबायाँ काम गर्दा स्थानीयको राय सुझावअनुसार नै अगाडी बढ्ने र कुनै बाधा व्यवधान नआए निर्धारित समयको तीन महिनाअघि नै काम सम्पन्न हुने गरी निर्माण सामग्रीदेखि कामदारको व्यवस्थापन गरेको बताए ।
बुढीबजारचोकबाट विजयपुर नहरको दायाँबायाँ योजना अनुसारको काम पहिलो चरणमा गर्ने र खरानेफाँट क्षेत्रमा धानीबालीमा क्षति नहुने गरी नालासहितको बाटो बनाइने उनले बताए । यस्तै, राखिडाँडाहुँदै वडा नं. २६ को सिमानासम्ममा निर्धारित माफदण्ड अनुसारकै काम हुने वडा अध्यक्ष नरेन्द्र थापाको भनाई छ ।
निर्वाचनका समयमा आफूले प्रतिवद्धता जनाएका कामलाई महानगर, प्रदेश वा केन्द्रीय तहसम्ममा पुगेर पनि बजेटको व्यवस्थापन गरिएको र निर्माणका क्रममा अप्ठ्यारो परेमा त्यसको समाधान खोजिने पनि बताए ।
कालिकाबासीको लागि वैकल्पिक बाटो समेत रहेकाले यो बाटोलाई व्यवस्थित गर्दा कालिका, माझठानादेखि भगवतीटार सम्मका उपभोक्ताहरु लाभान्वित हुने स्थानीय इश्वरीप्रसाद अधिकारीले जानकारी दिए ।





