काठमाडौं / नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् ।
महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन सकेको छैन । निर्वाचन हुन नसक्नुका कारणहरुमा पोखरेलले पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायत औंल्याएका छन् । ‘सिंगो बैठकले सदस्यताको सूचिप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्वस्वीकार्यता हुने महसुस गरेन,’ पोखरेलको राजीनामा पत्रमा भनिएको छ ।
सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको पोखरेलले बताएका छन् । ‘यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन,’ पोखरेलले राजीनामा पत्रमा भनेका छन्,‘ यी सबै अबस्था आउनुमा मेरो कमजोरीलाई स्विकार गर्दै सबै कुराको नैतिक जिम्मेवारी समेत बहन गर्दछु । मेरो मानसिक तनाव र शारिरीक स्वास्थ्य अवस्था समेत सहज रुपमा काम गर्न सक्ने अवस्थामा छैन ।’
अध्यक्षको राजीनामासंगै अव असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति बनेको छ । पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि गत चैतमा नै सकिएको हो । महासंघ केन्द्रले असोज ५ लाई नयाँ निर्वाचनको मिति तोकिएको थियोे । असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकि सकिएको हो ।





