बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकी प्रदेशमा प्रगतिशिल समूह अगाडि

गण्डकी प्रदेशमा प्रगतिशिल समूह अगाडि


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०८१, मंगलबार

पोखरा / हिजो आज इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनिययर्स एशोसियसन (एनइए)को चुनावले माहोल तातेको छ । यही भदौ २८ गते हुने एशोसियसनको चुनावमा प्रगतिशील र लोकतान्त्रिक विचार समुहका इन्जिनियरहरु प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

एशोसियसनको केन्द्र र प्रदेशको चुनावी एकैदिन भदौ २८ मा हुदैछ । सोही चुनावी अभियान चलिरहँदा गण्डकी प्रदेशमा प्रगतिशील इन्जिनियरहरुको प्यानलले आफ्नो जित निश्चत भएको दावी गरेको छ । महेन्द्रबहादुर गोदारको सभापतित्वमा चुनावमा होमिएको संयुक्त प्रगतिशील समूहको प्यानलले चुनावमा आफ्नो जित निश्चित भएको दावी गरेको छ ।

‘विचारभन्दा माथि, सबै इन्जिनियर साथी’ भन्ने नारासहित निर्वाचनमा होमिएको संयुक्त प्रगतिशील समूहलाई इन्जिनियरहरुले सकारात्मक प्रतिक्रिया दिएको उनीहरुको भनाई छ ।

प्रगतिशील समूहको तर्फबाट गण्डकी प्रदेशमा महेन्द्र बहादुर गोदारको सभापतित्वमा कृष्ण रिजाल उपाध्यक्ष, आनन्द भट्टराई सचिव, अस्मिता खनाल सहसचिव र सोभित श्रेष्ठ कोषाध्यक्षको उम्मेदवार छन् । प्रदेशबाट संयुक्त प्रगतिशील समूहबाट केन्द्रीय सदस्यमा रामचन्द्र पोखरेल (आरसी) र प्रदेशका अन्य सदस्यका उम्मेदवारहरुलाई जिताउन समूहले अपिल गरेको छ ।

‘चुनावी अभियानकै क्रममा हामीले धेरै साथीहरुलाई भेट्यौं । अहिले इन्जिनियरहरुमाथि नै प्रश्न उठिरहेको, इन्जिनियरिङ पेशालाई मर्यादीत बनाउनुपर्ने आवश्यकता रहेको र पेशागत मर्यादा र दक्षतालाई बिस्तार गर्नका लागि उपयुक्त नेतृत्व चाहिन्छ, त्यो आवश्यकता पूरा गर्ने उम्मेदवार प्रगतिशील समूहमा छन् भनेर सकारात्मक प्रतिक्रिया पाएका छौं,’ गण्डकी प्रदेश समितिमा सचिव पदका उम्मेदवार आनन्द भट्टराईले भने, ‘हामी कुनै समूहको होइन, इन्जिनियरका साझा समस्या बोल्छौं, पेशागत तथा संस्थागत विकासको एजेण्डा उठाइरहेका छौं ।’

चुनावी अभियानका क्रममा कतिपयले पुरानो समिति आम इन्जिनियरहरुको साझा बन्न नसकेको र संस्थागत गरिमालाई विस्तार गर्न नसकेको गुनासो पनि गरिरहेका छन् । त्यो गुनासो चिर्नका लागि पनि प्रगतिशील समूहले सिर्जनशील काम गरेर संस्थालाई सबैको साझा बनाउनुपर्ने दायित्व र जिम्मेवारी रहेको केन्द्रीय सदस्यका उम्मेदवार रामचन्द्र पोखरेलले बताए ।

लामो समयदेखि इन्जिनियरिङ पेशामै लागेका, यो क्षेत्रलाई नजिकबाट बुझेका, समस्याको पहिचान गरेका सभापतिका उम्मेदवारदेखि नयाँ पुस्ताको आवश्यकता बुझेका, सिर्जनशील हुटहुटी बोकेका पदाधिकारी र सदस्यका उम्मेदवार प्रगतिशील समूहमा रहेकोले निर्वाचनमा जित आफ्नो पक्षको भएको दावी उनीहरुको छ । सचिवका उम्मेदवार आनन्दले भने, ‘हाम्रो जित निश्चित छ ।’

गण्डकीका सबै जिल्ला र भूगोलका इन्जिनियरहरुले भोगेका समस्या पहिचान गर्दै अधिकार र अवसरको आवाज उठाउँदै यो पेशालाई व्यवस्थित र आकर्षित बनाउन आफूहरु लागि परेको अध्यक्षका उम्मेदवार महेन्द्र बहादुर गोदारले बताए ।

गण्डकी प्रदेशमा १ हजार ५५१ इन्जिनियर मतदाता छन् । चुनावी प्रचार तथा अभियानका क्रममा अधिकांश इन्जिनियरहरुले पेशागत हित र संस्थागत विकासका लागि सक्षम र जुझारु नेतृत्व प्रगतिशील समूहमा रहेकोले आफुहरुले सोही समुहलाई मतदान गर्ने बताएको आनन्दले दावी गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->