बागलुङ/सुरक्षित आप्रवासन कार्यक्रम (सामी) संचालन गरेको बागलुङ नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा ५५ इन्चको टिभी बोर्ड जडान गरिदिएको छ । वैदेशिक रोजगारीका लागि आवस्यकपर्ने सामाग्री प्रस्तुत गर्न उक्त टिभी हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका गण्डकी प्रदेश प्रमुख शिव रेग्मीको उपस्थितिमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीलाइ टिभी हस्तान्तरण गरे ।
पछिल्लो ५ वर्षदेखि बागलुङमा सुरक्षित आप्रवासन कार्यक्रम संचालन भईरहेको छ । यो कार्यक्रमअन्तर्गत राहदानी बनाएर निस्कन लागेकालाई बैदेशिक रोजगारबारे जानकारी दिने, विदेश जानै परे तालिम सिकेर जान सल्लाह दिने, आवस्यक परेकालाई निशुल्क तालिममा सहभागि गराउने काम सामी परियोजनाले गर्दै आएको छ ।
त्यस्तै विदेशमा रहेको बेला परेका अप्ठ्याराबारे सल्लाह सुझाव दिने, अलपत्र परे ल्याउन पहल गर्ने, दुर्घटना भैहालेमा उपचार, राहत र क्षतिपूर्ति रकम उपलब्ध गराउन पहल गर्ने, बीमाको रकम पाउने व्यवस्थापन गर्ने र मृत्यु भएमा शव ल्याउन पहल गर्ने काम पनि सामीबाटै भैरहेको छ । ती विषयमा जानकारी दिन उक्त टिभी जडान गरेर निरन्तर सामाग्री प्रस्तुत गर्न लागिएको प्रजिअ सुवेदीले जानकारी दिए ।





