बागलुङ/‘हाम्रो घरमा किराना पसल थियो, एकजना दाई आए, डोरी मागे, अनि एक सय रुपैयाँ भारु दिए, मैले बाँकी पैसा फिर्ता गर्दै थिएँ फर्केर हेर्दा उनी थिएनन्, एकैछिनमा खबर आयो राइटरको घरनेर उनी झुण्डिएछन् । नजिकैका एक जना काकाले डोरी काटेछन्, उनी बाँचे ।’ बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले मंगलबार एक कार्यक्रममा आफ्ना छिमेकीको आत्महत्या प्रयास र बचेको जीवनको कथा यसरी सुनाए ।
‘आर्थिक अवस्था कमजोर, विभिन्न सामाजिक कारणबाट आत्महत्याको प्रयास गरेका उनी अहिले जीवन चलाईरहेछन्’ श्रेष्ठले भने ‘आत्महत्या सहि बाटो होईन भन्ने बुझ्न उनको जिन्दगी काफी छ, उती बेलै मरेका भए अहिले सुन्दर जीवन बाँच्न सक्ने थिएनन् ।’
आत्महत्या सामाजिक समस्याको रुपमा विकास भैरहेकाले यसको रोकथामका लागि हातेमालो आवश्यक रहेको उनले औंल्याए । विज्ञहरुले भने जस्तै आत्महत्या गर्ने व्यक्तिहरुले पूर्व सूचना दिने, लक्षणहरु देखाउने भएकाले त्यसको पहिचान गर्नु सामाजिक आवश्यकता रहेको उनको भनाई थियो । विश्व आत्महत्या रोकथाम दिवसमा अबसरमा आयोजित अन्तरक्रियामा नगर स्वास्थय शाखाका प्रमुख रामप्रसाद खनाललेसामाजिक, आर्थिक र क्षणीक आवेगका कारण आत्महत्या बढेको बताए ।
आत्महत्या रोकथामबारे संवाद सुरु गरौं, दृष्टीकोण बदलौं भन्ने नाराका साथ बागलुङमा बिबिध कार्यक्रम गरेर विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । नगरको स्वास्थ्य शाखाले विद्यालयहरुमा सचेनता कार्यक्रम समेत गरेको छ ।





