पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाका विरुद्धमा लेख्ने एमाले कांग्रेसका कार्यकर्ताहरुलाई प्रतिवाद गर्न आफ्ना सदस्यहरुलाई निर्देशन दिएका छन् । सोमबार सूर्यदर्शन सहकारीका पीडितहरुको कालोझण्डा र नाराबाजीको सामना गर्दै कार्यक्रमस्थल पुगेका लामिछानेले एकका विरुद्ध पाँचवटा काण्डको उजागर गर्न निर्देशन दिएका हुन ।
प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका लामिछानेले सहकारी ठगको विषयमा पनि प्रतिवाद गर्न भनेका हुन् । ‘कहिलेकाहीँ हामी डराउँछौँ, हामीले केही भन्यो भने सहकारी ठग रैछ भनेर डराउँछौँ । हामीलाई एउटा लेख्छन्, यिनीहरुको पाँचवटा लेख्नुहोस् न’ उनले थपे, ‘एमालेले भन्यो भने, एमालेको पाँचवटा काण्ड थाहा छैन र ? एकको बदला पाँच हाल्नुहोस् । कांंग्रेसले भन्छ, एकको बदला पाँच हाल्दिनुहोस, पचास लेख्न मिल्छ, पाँच लेख्नुहोस । के के ठग, के के ठग । नक्कली भुटानी शरणार्थीदेखि नक्कली डिभोर्ससम्म लेखेर पठाइदिनुहोस न । !
सदस्यहरुले उठाएको प्रश्नमध्ये धेरै समय चाहिँ उनले आफू सहकारी प्रकरणमा निर्दोष रहेको बताउनमा नै खर्च गरे । बरु एमाले, कांग्रेसले गलत भाष्य बनाइदिएको आरोप उनले लगाए ।
कोही धरौटीमा छुटेका छन । कति पैसा गयो, त्यसको बिगो कायम भएको छ । म हुँदा अहिले भनिन्छ नि केही पनि थाहा छैन, तिमीहरुलाई, नाई मलाई थाहा छैन भन्छौ तिमीहरु भन्छन, त्यो उनीहरुले बनाएको भाष्य हो,’ उनले प्रश्न गरे, ‘पहिलो कुरा त, थाहा नभएको कुरालाई थाहा छैन नै भन्ने हो, थाहै नभएको कुरालाई थाहा छ कसरी भन्ने हो र ?’
उनले त्यतिबेला आफू प्रबन्ध निर्देशक रहेतापनि जिबी राई नै कार्यकारी अध्यक्ष रहेको सदस्यहरुलाई बताए ।लगानीकर्ताले प्रत्येक दिन गरेको लगानीको, कसले कहाँ डिपोजिट ग¥यो, कुन बैंकबाट कति पैसा आयो भन्ने कुरा दिनदिनै हेर्ने कुराको जिम्मेवारी कार्यकारी अध्यक्षको भूमिका निर्वाह गरेको व्यक्तिले हेर्ने र उक्त भूमिका जिबी राई रहेको उनले बताए ।
सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जा खडा गरी रवि लामिछानेले एक करोड रुपैयाँ लगेको खुलासा पोखरा महानगरले गरेको प्रतिवेदनमा उल्लेख छ । व्यक्तिगत खातामा गएको रकमबारे सदस्यहरुले प्रश्न उठाएका थिए ।
‘आज कसैले चर्चा गर्नुभयो, मेरो व्यक्तिगत खातामा आएको, आफ्नो खातामा आएछ, व्यक्तिगत कसले हाल्दिएछ भन्नुभयो,’ लामिछानेले भने, ‘कम्पनीको खातामा जम्मा भएको छ, कम्पनीबाट पैसा ल्याउँदा लगानीकर्ताले केही सम्झौता गरेर ल्याएको होला, केही कोलाटर गरेर ल्याएको होला, कसैले डिपोजिट गरिदिएको होला ।’
उनले जिबी राइले आफ्नो पसिनालाई एउटा शेयरको रुपमा दिएको हुनाले, त्यसलाई स्वीकार गर्न नेपालमा नियम नभएको हुनाले उस (जिबी राई) बाट आएको एड्भान्सलाई त्यही कम्पनीमा दर्ता गरेको हो, जानेबेलामा जस्ताको त्यस्तै छाडेको बताए ।
‘मैले ऋण लिएको प्रमाणित भए, ऋण तिर्ने दायित्व होला, कति हो त ऋण मेरो, कहाँबाट हो त मैले ऋण लिएको ? कहाँ गएर तिर्ने, कि कान्तिपुरलाई लगेर बुझाउने हो ? बुझाउने त ऋण लिएको ठाउँमा होला नि,’उनले भने ।
सूर्यदर्शन सहकारीमा बदमासी भएको कुरा जतिबेला सर्वसाधारणले थाहा पाए, आफूले पनि त्यहीबेला थाहा पाएको उनले बताए । आफूले ऋण लिएको कुनै प्रमाण नभएकै कारण अहिलेको सरकारले आफूलाई नसमाएको दाबी उनले सदस्यसामु गरे ।
‘यो विषय उठेको १७÷१८ महिना भयो । ४ महिना हामी सरकारमा भयौँहोला । बाँकी दिन मैले गल्ती गरेको भए के, यिनीहरुले मलाई दया गरेर, माया गरेर छाडेका हुन र ?,’ उनले प्रश्न गरे ।
बालकृष्ण खाँडको उदाहरण दिँदै उनले आफ्नै पार्टीका नछाड्नेलाई आफू निर्दोष भएकै कारण नसमाएको दाबी सदस्यसामु गरेका हुन ।
‘आफ्नै पाटीको बालकृष्ण खाँडलाई घरमा ढोका फोडेर घोक्रेठ्याक लगाएर जेल हाल्नेहरुले रवि लामिछानेलाई दया गरेर, माया गरेर, कठै बिचरा भनेर छाडेका होइनन । गल्ती गरेको छैन, कुनै प्रमाण छैन, गल्ती नगरेपछि प्रमाण हुने कुरा पनि भएन, कुनै आधार छैन, क्लु छैन,’ लामिछानेले भने ।
पोखराको सूर्यदर्शन सहकारीमा १८ हजार बढि बचतकर्ताको १ अर्ब ११ करोडभन्दा बढि रकम अपचलन भएपछि त्यसमा मुछिएका छन, पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने । उनी प्रबन्ध निर्देशक भएका बेला गोरखा मिडियामा सहकारीबाट रकम गएको खुलेपछि पीडितहरु लामिछानेप्रति पनि आक्रोशित बन्न पुगेका हुन । जबकि, लामिछाने गृहमन्त्री भएको बेलामा कास्की प्रहरीले गरिरहेको छानविनलाई दबाउन खोजेको आशंका सहित पीडितहरु लामिछानेप्रति झनै आक्रोशित बनेका छन ।
त्यसको परिणाम सोमबार पनि देखियो । रास्वपाको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न आएका लामिछानेलाई कार्यक्रम स्थल विरौटास्थित ग्लाक्ेसी बैंक्वेटमा प्रहरीले स्कर्टिङ गर्दैै लग्यो । त्यहाँ प्रवेश हुनुअघि लामिछानेले कालोझण्डा देखे, आफ्नाविरुद्ध लागेको ‘सहकारी ठग’ सहितका नाराबाजी सुने ।
उनले स्पष्टिकरण नदिएका पनि होइनन, तर पीडितहरु चाहिँ उनीमाथि शंकाको दृष्टिकोणले हेर्न छाडेका छैनन । सञ्चारकर्मीलाई समेत निषेध गरिएको उक्त कार्यक्रममा लामिछानेले आफ्नो पार्टीका सदस्यहरुबाट समेत सहकारीमा सहभागिताको विषयमा प्रश्नको सामना गर्नुप¥यो ।
लामिछानेले विगतको झैँ आफूले ऋण नलिएको दाबी दोहो¥याए । गल्ती गरिसकेको भए आफूलाई जेलमा लगेर यो सरकारले हालिसक्ने तर, प्रमाण नभेटिएको र आफू निर्दोष भएको करार उनले सदस्यसामु गरे ।





