बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दीपक मनाङेको भनाइ संसदमा उठाउने विषय होइन– अधिकारी

दीपक मनाङेको भनाइ संसदमा उठाउने विषय होइन– अधिकारी


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०८१, बुधबार

पोखरा/ गण्डकी प्रदेश सभामा एमाले नेता खगराज अधिकारीले निवर्तमान मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले बोलेको कुरा ससंदमा उठाउने विषय नरहेको बताएका छन । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले गुरुङले मन्त्रालय बेच्ने कुरा गरेको र यसले गण्डकी प्रदेशबाट नकरात्मक सन्देश गएको भन्दै बुधवारको प्रदेश सभा बैठकमा सत्तासीन दलहरुको आधिकारीक धारणा माग गरेपछि अधिकारीले यस्तो जवाफ दिएका हुन ।

सत्ता बनाउन कहिले एमाले, माओवादी त कहिले कांग्रेस मनाङेकोमा धाएको प्रसंग निकाल्दै अधिकारीले तेही अस्थिरता नहोस् भनेर नै एमाले कांग्रेसको गठबन्धन भएको बताए । आफुसंग हुँदा स्वादे र नहुँदा नस्वादे भन्न नमिल्ने अधिकारीको भनाई थियो । ‘त्यस्ता झुटा कुराको मुुख्यमन्त्रीले आफै मन्त्रालयको कार्यभार लिएर खारेज गरिसक्नु भएको छ’ उनले भने, ‘एमालेलाई भिखारी भनिएको छ, कांग्रेससंग पनि पैसा नभएर होला भाउताउ गरे पनि । यस्तो विषय पनि संसदमा प्रवेश गराइरहनु पर्छ ?’ मनाङेले पछि मजाकको विषय भनेको भन्दै अधिकारीले यस्ता मजाकको विषयको जवाफ दिनु नपर्ने र संसदमा उठाउने विषय पनि नरहेको बताए ।

यही भदौ १७ मा गण्डकी सरकार पुनर्गठनका क्रममा तत्कालिन भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्री रहेका दीपक मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । यसमा चित्त नबुझेपछि गुरुङले मन्त्री पदबाट राजीनामा मात्र दिएनन् आफुलाई दिइएको वन तथा वातावरण मन्त्रालय बिक्रीमा रहेको जनाएका थिए । साथै कांग्रेसले डेढ करोड रुपैयाँ दिएको र एमालेसंग बार्गेनिङ भइरहेको पनि उनले भनेका थिए ।

यसै विषयमा प्रदेश सभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सत्तासीन दलहरुको धारणा माग गरेका थिए । ‘मन्त्रालय नै बिक्रीमा छ भन्ने म्यासेज गण्डकी प्रदेशबाट जानु कति गम्भिर हो’ प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘यसबारेमा सरकार बोलेको सुनिएन । सरकरामा सहभागी दल बोलेको पनि सुनियन । यो अवस्था निकै गम्भिर छ ।’ पूर्वमन्त्री एवं माओवादी सांसद रेशम जुग्जालीले संघीयता र प्रदेश संरचनामाथि नै वितृष्णा पैदा भइरहेको बेला जिम्मेवार मन्त्री र सांसदको यस्तो कुरा गम्भिर रहेको भन्दै सत्यतथ्य कुरा बाहिर ल्याउन सत्तासीन दलसमक्ष माग गरेका थिए ।

जनतामा छाएको निराशालाई आशामा बदल्न कांग्रेस–एमाले समीकरण

यसैबीच एमाले नेता अधिकारीले जनतामा छाएको निराशालाई आशामा बदल्न एमाले र कांग्रेसबीच सत्ता समीकरण भएको बताएका छन । गण्डकी प्रदेशको बुधवारको बैठकमा उनले प्रदेशमा सुशासन कायम गर्न, राजस्व बृद्धि गर्न, बजेट विनियोजन र क्रमागत योजनालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरी सबै दल एकजुट भएर अघि बढ्नुपर्ने उनले बताए ।

जनताले अस्थिरता नरुचाएको, फाइल खोल्ने नाटक, अख्तियारलाई काम गर्न नदिएको, संवैधानिक निकायमा हस्तक्षेप, युवाशक्ती विदेश पलायन, खस्कदो अर्थतन्त्रबारे चिन्ता नलिएको कुरालाई जनताले नरुचाएका कारण अहिलेको गठबन्धन बनेको उनको तर्क थियो । ‘१८ वर्षमा हुन नसकेको टिआरसीको काम अहिलेको सरकारले गरेको छ’ उनले भने, ‘यो के पश्चमगन हो । कोही पनि पानी माथिको ओभानो बन्न नखोजौं ।’ जिउँदो जाग्दो पहिलो संविधानसभा बिघटन गरेर अस्थिरताको सुत्रपात माओवादीले सुरु गरेको उनको भनाई थियो । ‘संविधान सभा कसले बिघटन गर्याे, दिउँसोको घामजस्तै छर्लङ्ग छ । त्यो एमाले र कांग्रेसले बिघटन गराएको होइन’ उनले भने, ‘दोष जति अरुलाई दिएर मात्र हुदैन । आफ्नो विगत पनि हेर्न माओवादीलाई आग्रह गर्दछु ।’

मुख्यमन्त्री हुन खोजेको मान्छे प्रमुख प्रतिपक्षी दलको नेता हुनुपरेकोमा पीडा भएको भन्दै उनले माओवादी नेता चुमानलाई कटाक्ष गरे । दोस्रो संविधानसभाबाट संविधान बन्न नदिने प्रयत्न पनि गरिएको, समानुपातिक, समावेशिता कसैको अभयदान नभएको, अनुदान नदिएको र अनुकम्पाले पनि नआएको भन्दै अधिकारीले नेपाली जनताले लेखेको संविधान रहेको उल्लेख गरे । सत्ता भए अग्रगमन नभए पश्चगमन देख्ने दृष्टीदोष नपाल्न माओवादीलाई चेतावनी दिदै उनले संघीयता, धर्मनिरपेक्ष, समावेशी, समानुपातिक, गणतन्त्रको रक्षाका लागि अहिलेका सत्तासीन केन्द्रदेखि प्रदेशसम्म रक्षाकवच बन्ने दावी गरे । ‘संविधान संसोधन सबैको सहमतिमा हुने कुरा हो’ अधिकारीले भने, ‘जनताको भावनामा रोटी सेकाउने काम नगरौ ।’

प्रमुख प्रतिपक्ष माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले ७० दिनसम्म संसद स्थगीत गरेर सरकारले महत्वपूर्ण अवधिको अवसर गुमाएको बताए । सांसदमात्रै नभएर सरकारनै बेरोजगार भएको देखेको उनले बताए । ‘बाढीपहिरो, डेंगु लगायत चरम संकटको अवस्थामा सरकार कहाँ छ, के भूमिका निभाइरहेको छ भन्ने नै थाहा भएन’ उनले भने, ‘सांसदले बोल्न पाएनन, सुझाव दिन र खबरदारी गर्न पनि पाएनन । संसदलाई अकर्मण्य बनाउने काम भयो । यो अवस्था कहिल्यै नदोहोरियोस ।’ उनले सत्तापक्षका कर्मचारीका दुई ट्रेड युनियनको सिन्डीकेट कार्यान्वयन गरेर कर्मचारी सरुवामा मनोमानी गरेको उनले आरोप लगाए । प्रतिपक्षसंग कुनै पनि सरसल्लाह र समझदारी नबनाइ राजनीतिक नियुक्ती भएमा त्यो सह्य नहुने उनले बताए ।

आफु प्रमुख प्रतिपक्ष दलको हैसियत बनाउने अवस्थामा पुराएको र यसलाई अवसरको रुपमा लिएको जनाउँदै चुमानले हिजो माओवादीसंग फिलित्त हुने पार्टी आज कांग्रेससंग फिलित्त भएको भन्दै एमालेलाई कटाक्ष हाने ।

प्रमुख प्रतिपक्षी दलले सार्वजनिक लेखा समितिको नेतृत्व गर्ने परिपार्टी रहेको भन्दै चुमानले त्यो आफुहरुले पाउनु पर्ने माग गरे ।
एमाले कांग्रेसबीचको गठबन्धन प्रतिगमनउन्मुख रहेको उनले बताए । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक, समावेशी प्रतिनिधित्व, मौलीक हकहरु देख्दा चिढचिढ पसिना आएकाहरुको पात्र र आधारमा अहिलेको गठबन्धन बनेको भन्दै चुमानले संविधान संसोधन एजेन्डाले नै यसको पुष्टी गर्ने दावी गरे ।

राप्रपाकी बिन्दु पौडेलले पार्टी भन्दा माथि उठेर राम्रालाई हाम्रो भन्ने परिपाटीको बिकास गर्नु जरुरी रहेको बताईन । पटकपटक सरकार फेरिनु हुदैन भन्दै उनले सांसदको काम सरकार बनाउने र ढाल्ने मात्र नभई जनताका प्रतिनिधि भएकाले जनताले गरेको विश्वासमाथि कुठाराघात गर्न हुदैन भनेर सरकार गठनमा साथ दिएको उनको भनाई थियो । ठूल दलको गठबन्धनले उच्च मनोवलका साथ काम गर्ने विश्वास लिदै उनले नवलपुरको कावासोतीमा १८४ विगाहा जमीनमा नमूना सदरमुकाम बनाउने योजना ५ वर्ष बित्दा पनि सुरु हुन नसकेकोमा सरकारको ध्यानाकर्षण गराइन । यसैगरी नारायणगढ बुटवल सडकको अवस्थामा प्रदेश सरकार मौन रहेको, चितवन राष्ट्रिय निकुन्जले बफर जोनका नाममा स्थानीय किसान पीडित बनाएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->