पोखरा/बुधबार बिहान कार्यालय खुल्ने समयमा हतास मनस्थितिमा रहेकी एक महिला जिल्ला प्रहरी कार्यालयको ढोकामा पुगिन् । उनलाई ढोकामा बसेका सुरक्षाकर्मीले ‘के कामले आउनुभयो ?’ भन्ने प्रश्न गरे । हतारमा ती महिलाले मनका सबै कुरा पोखिन् । उनलाई महिला तथा बालबालिका सेलमा पठाइयो । उनी थिइन्– पोखरा ८ कुँवरटोलमा डेरा गरि बसेकी राधिका कुँवर । राधिकाले श्रीमानसँग बस्न नसक्ने र तत्कालै आफ्नो सामान निकालिदिन प्रहरीसँग बिन्ती बिसाइन् र त्यहाँबाट निस्किन । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रहरीले घटनाबारेमा राम्रोसँग सोधखोज गर्न पनि पाएन । उनी त्यहाँबाट निस्किेको करिब तीन घण्टापश्चात प्रहरी कार्यालयमा फोन आयो । उताबाट पोखरा ८ कुँवरटोलमा ‘श्रीमानले श्रीमतीको हत्या गरेको जस्तै छ’ भनियो । प्रहरी तत्काल पुग्यो । कोठाको कुनामा एक महिला रक्ताम्य र अचेत अवस्थामा थिइन् । अर्को कोठामा चाहिँ एक पुरुष लोबेड (सानो खाट) मा बसेर मोबाइल चलाइरहेको थियो । अचेत भएकी महिला तिनै राधिका थिइन्, जो बिहानमात्रै प्रहरी कार्यालयमा पुगेकी थिइन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ नौडाँडा घर भइ कुँवरटोल बस्दै आएका ४२ वर्षीय जहरसिंह कुँवरले सामान्य विवादकापछि आफ्नी श्रीमतीको घाँटी र पेटमा खुकुरीले प्रहार गरेको प्रहरीले थाहा पायो । ४० वर्षीय राधिकालाई उपचारका लागि पश्चिमाञ्चल अस्पताल लगे पनि डाक्टरले १२ बजेर ४४ मिनेटमा मृत घोषणा गरिदियो । प्रहरीले राधिकाको श्रीमान जहरसिंहलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।
राधिका र जहरसिंहबीच दैनिकजसो झगडाहुँदै आइरहेको थियो । राधिकाले अति भएपछि लोग्नेविरुद्ध जिल्ला अदालत कास्कीमा सम्बन्ध बिच्छेदको मुद्दा नै दायर गरेकी थिइन् । तर,मुद्दा विचाराधीन रहेकै बेला उनका श्रीमानले राधिकाको प्राण नै हरण गरिदिएका छन् । यी दुईबीचको पारिवारिक विवाद तीनपटकसम्म त जिल्ला प्रहरी कार्यालयमा नै पुगेको थियो । गत असारमा मात्रै राधिकाले आफू श्रीमानसँग बस्न नसक्ने र छाड्ने भन्दै प्रहरी गुहारेकी थिइन् । प्रहरीले उनलाई जहरसिंह विरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गर्ने सुझाव दिँदा ‘सम्बन्ध विच्छेद गर्छु,मुद्दा हाल्दिन’ भनेकी थिइन् । र, उनी अदालत पुगेकी थिइन् । तर, पुरुषले भने अदालतको आदेश नआउँदासम्म सँगै बस्ने भन्दै छाड्न नमानेको छिमेकीको भनाइ छ । त्यही कारण राधिका मुद्दा दर्ता गरे पनि बाध्य भएर जवरसिंहसँग नै बस्दै आएकी थिइन् । ती छिमेकीका अनुसार ती दुईबीच दैनिक झगडा हुन्थ्यो ।
‘ आज पनि श्रीमतीलाई कुनामा लगेर हिर्काउँदै रहेछ । मेरो श्रीमानले छुट्याउन जाँदा नसकेर आउनुभयो । बुढीले डिभोर्स माग्ने गरेको थियो तर बुढाले मानेको थिएन । त्यस्तै कुरामा झगडा हुँदै आएको थियो,’ ती महिलाले भनिन्, ‘बिहान भेटे बिहानै, बेलुका भेटे बेलुकै झगडा हुन्थ्यो । म त डराएर बाहिर आएँ । भित्र जानै सक्ने स्थिति थिएन ।’ उनका अनुसार खुकुरी प्रहारबाट राधिकाको घाँटी झण्डै छिनिएको अवस्थामा थियो । ‘पेटमा पनि ठूलो चोट थियो । कोठामा रगतको आहाल छ,’ ती छिमेकीले भनिन् । जहरसिंह लामो वैदेशिक रोजगारपछि ‘डिप्रेसन’ बोकेर नेपाल फर्केका थिए । पछिल्लो पटक चाहिँ उनी एक वर्षमै वैदेशिक रोजागारीबाट फर्केका थिए । नियमित रुपमा डिप्रेसनको औषधि सेवन गर्ने जहरसिंले तीन–चार दिनदेखि औषधिसमेत नखाएको प्रहरीको अनुसन्धानमा उल्लेख छ ।
वैदेशिक रोजगारीबाट फर्किएपछि बेरोजगार हुनु नै हत्याको कारण ः एसपी थापा
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाका अनुसार हालसम्म भएको अनुसन्धानले हत्याको मुख्य कारण वैदेशिक रोजगार र नेपाल आएपछि बेरोजगार रहेको बताए । उनले यसअघि तीन पटकसम्म प्रहरीमा झगडाको विषय आएकोसमेत बताए । मौखिक रुपमा महिलाले घरेलु हिंसाविरुद्ध उजुरी गरेको र प्रहरीले मौखिक रुपमै श्रीमानलाई बोलाएको देखिएको उनले बताए ।
‘यसको मुख्य कारण भनेको वैदेशिक रोजगार र नेपाल आएपछि वेरोजगार भएको कारणले निम्त्याएको समस्या हो भन्ने हाम्रो अहिलेसम्मको अनुसन्धानबाट खुलेको तथ्य छ । थप अनुसन्धान गर्दैछौंँ,’ एसपी थापाले भने, ‘आजैपनि मृतक जिल्ला प्रहरी कार्यालय कास्कीमा आएको रहेछ । आज पनि आएर मेरो श्रीमानसँग म बस्न सक्दिन । मेरो सरसामान श्रीमानले दियो भने म अन्यत्र गएर बस्छु भनेर आएको अवस्था रहेछ र बिहान हाम्रो अफिस पनि राम्रोसँग नखुल्दै आएको भन्ने बुझिएको छ । तिनै महिला हुन या अर्को महिला हो त्यो हामी बुझ्दै छौँ ।’ राधिका निकै छटपटीमा रहेको र राम्रोसँग विषय बुझन नपाउँदै गेटबाहिर गएको भन्ने कुरा आएको एसपी थापाले सुनाए ।
अभियुक्तले दुई तीन दिनदेखि डिप्रेसनको औषधि नखाएको पाइएको पनि एसपी थापले बताए । प्रहरीले खुकुरीसहित जहरसिंहलाई नियन्त्रणमा लिईवडा प्रहरी कार्यालय बैदाममा थप अनुसन्धानको लागि राखेको छ । ‘हामीले थप अनुसन्धान गर्दा यिनीहरुको डिभोर्सको मुद्दा जिल्ला अदालतमा अहिले विचाराधिन अवस्थामा रहेछ र श्रीमान जहरसिंह लामो समय कतारमा बसेको रहेछ । अहिले डिपे्रसनको औषधि खाने र वेरोजगार रहेको पायौँ । श्रीमतिको आफ्नै पेशा÷व्यवसाय रहेछ । उनीहरुबीच लामो समयदेखि आन्तरिक विवाद पनि देखियो र त्यो घरमा मात्रै सीमित नभइ प्रहरीसम्म आइपुगेको रहेछ’ उनले भने ।





