पोखरा / गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले हरेक काम गर्दा परिणाममुखी हुनुपर्ने बताएकी छिन् । वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा बोल्दै मन्त्री श्रेष्ठले योजनाहरु निर्माण भएपनि अपेक्षित परिणाम प्राप्त हुन नसकेकोले परिणाममुखी योजनाहरुमा जोड दिनुपर्ने बताईन ।
मन्त्री श्रेष्ठले भनिन्, ‘अर्थतन्त्र सुदृढीकरणको सुरुवात अब कृषिबाट गर्नुपर्छ । कृषिजन्य दैनिक उपभोग्य वस्तुहरु समेत हामीले आयात गनुपर्ने अवस्था छ । यो आयात गनुपर्ने अवस्थाको अन्त्य गर्दै अब आत्मनिर्भर मात्रै होइन निर्यात उन्मुख हुनुपर्छ । अब हामी ठूला ठूला कुरा मात्रै होइन, परिणाममुखी कार्य गर्दै अघि बढ्नुपर्छ । परिणाम नै आजको आवश्यकता हो ।’
उनले वुमन चेम्बर अफ कमर्समा संगठित महिलाहरुलाई हरेक कार्यक्रमहरुमा जोड्दै थप सशक्त रुपमा अघि बढाउन सुझाव दिईन् । कास्कीसँगै प्रदेशभरका महिलाहरुलाई कृषि उत्पादनमा जोडिन आग्रह गर्दै मन्त्री श्रेष्ठले मन्त्रालयको तर्फबाट साथ सहयोग रहने बताईन।
‘यो संस्थामा आवद्ध रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई थप सशक्तताका साथ अघि बढ्न आग्रह गर्दछु । कुनै एक क्षेत्रमा मात्रै होइन, अब हरेक क्षेत्रमा महिलाहरुको सहभागिता रहनुपर्छ । यसका लागि मेरो पूर्णरुपमा साथ सहयोग रहन्छ,’ उनले भनिन् । सो अवसरमा वुमन चेम्बर अफ कमर्स कास्कीका उत्कृष्ट सदस्य र स्मारिका प्रकाशनमा सहयोग गर्ने दाताहरुलाई मन्त्री श्रेष्ठले सम्मान समेत गरेकी थिइन् ।




