बागलङ/बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थान घर भई हाल अमेरिका बस्दै आएका गंगाबहादुर घर्तीले आफ्नी आमाको सम्झनामा बालबालिकालाई विद्यालय पोशाक दिएका छन् ।
स्थानीय समाजसेवी कमलकुमार जिसीको अगुवाईमा घर्तीले आधारभूत विद्यालय कोलपाटाका ५५ जना बालबालिकालाई टिसर्ट, ट्रयाक र सुट बितरण गरेका हुन् । घर्तीले दिएको रकमले ती बालबालिकालाई खाजा समेत दिने गरिएको हो ।
त्यस बाहेक बालबालिकालाई विद्यालय पोशाकमा एकरुपता दिन सहयोग दिइएको जिसीले बताए । नर्सरीदेखि कक्षा ६ सम्मका सबै बालबालिकालाई पोशाक बितरण गरिएको हो । यो विद्यालयमा अधिकांस दलीत समुदायका बालबालिका पढ्छन् । आर्थिक अवस्था कमजोर भएकोले अभिभावकले पर्याप्त पोशाक सिलाइ दिन नसक्दा कतिपय बालबालिका बिना पोशाक आउने गरेका छन् ।
घर्तीले यहीं पढ्दा पनि अभाव खेपेका थिए । उनले आफ्नो समयको स्मरण गर्दै अमेरिकामा बसेर पनि सहयोग जुटाएका हुन् । त्यसबाहेक घर्तीले विद्यालय नजिकै जेष्ठ नागरिकको लागि दिवा हेरचाह केन्द्र निर्माणमा पनि साथ दिएका छन् । ३५ लाख लगानी गरेर केन्द्र निर्माण गर्न लागिएको हो । यो केन्द्रमा जेष्ठ नागरिकलाई दिउँसोको खाजाको व्यवस्था, भजनकृतन गर्ने, आराम गर्ने कोठा बनाइएको छ । शौचालयहरु, सेमिनार हल र पाहुना कोठासमेत बनाइएको छ ।
हाल यो भवन पुरा हुने क्रममा छ । त्यसपछि यहाँ दिवा हेरचाह केन्द्र बनाउने काममा बागलुङ नगरपालिकाले पनि साथ दिने आश्वासन दिएको जिसीले जानकारी दिए । ‘सहयोग आउने आसा पलाएको छ, हामीले भवनको काम पुरा गर्न लागेका छौं, त्यसपछि नगरको सहयोज जुटाउँछौं’ जिसीले भने, ‘दाताको पछि साथ छ ।’
नारायणस्थानका सबै विद्यालयमा बालबालिकाको खाजा, पोशाक लगायतमा साथ दिएका घर्तीले एक करोडको कोष बनाएर भोकालाई खाना भन्ने नारा समेत चलाएका छन् । तीन वर्षदेखि चलेको यो अभियानमा वर्षेनी ७ देखि १० लाखका सामाग्री, खाद्यान्न र पशुपालनका लागि सहयोग जुटाउने गरिएको छ । यो अभियानले कोहीपनि भोकै रहने अवस्थाबाट छुटकारा दिने लक्ष्य राखिएको छ ।
शुक्रबारको पोशाक बितरण कार्यक्रममा पनि जिसीले निरन्तर साथ र सहयोग गर्ने परिवारलाई सम्मान गर्ने जानकारी दिए । उनले पढाइमा अब्बल बनाउन सकेमा विद्यालयमा थप सहयोग भित्राउन सहयोग गर्ने बताए । उक्त अबसरमा बागलुङ नगर कार्यपालिका सदस्य सुनिता श्रेष्ठले सहयोगीलाई धन्यवाद दिइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर खत्रीको अध्यक्षता र शिक्षक अशोक सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।





