मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

नेकपा (एस) बागलुङमा अध्यक्षसहित पदाधिकारी चयन

नेकपा (एस) बागलुङमा अध्यक्षसहित पदाधिकारी चयन


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८१, शनिबार

बागलुङ/नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको नवौं बैठकले पिंगलराज गौतमलाई अध्यक्ष चयन गरेको छ । केन्द्रीय महासचिव घनश्याम भुषालले संयोजक तोकेर पठाएका गौतमलाई जिल्ला समितिले अध्यक्ष तोकेको हो ।
समितिको उपाध्यक्षमा बेदप्रसाद शर्मा, सचिवमा शालिकराम शर्मालाई चयन गरेको छ । उपसचिवमा चक्रबहादुर थापा र हरिबहादुर घर्तीमगर चयन भएका छन् । शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
साथै, पार्टी हित विपरित काम गरेको भन्दै पूर्व अध्यक्ष लालबहादुर थापा र सचिव भरत पुरीसहित ७ जनालाई कारवाही समेत गरेको छ । कारवाहीमा पर्नेमा तत्कालिन अध्यक्ष लालबहादुर थापा, उपाध्यक्ष केशर छन्त्याल, सचिव भरत पुरी, सदस्यहरु जीवन आचार्य, श्याम पुन, प्रेम थापा, खगेन्द्र शर्मालगायत छन् ।
पार्टी छाडेर जाँदा कार्यालयको सम्पत्ति हिनामिना गरेको भन्दै नेकपा एसले तत्काल फिर्ता गराउन माग गरेको छ । दुइ साताअघि तत्कालिन अध्यक्ष थापा र सचिव पुरी एमालेमा प्रवेश गर्दा पार्टी समायोजन भएको अभिव्यक्ति दिएर निर्णय पुस्तिका हस्तान्तरण गरेको बताएका थिए । तर, नेकपा एसले स्थापना कालदेखिको निर्णय पुस्तिका पनि पार्टीमै रहेको गौतमले सार्वजनिक गरेका छन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गौतमले पार्टीको सम्पत्तिलाई छाडेर गएका केही पदाधिकारीले व्यक्तिगत झै लैजान नमिल्ने बताए । ‘पार्टीको जिल्ला कमिटि छ, प्रदेश र केन्द्रीय कमिटि छ, सम्पत्ति हिनामिना गर्न मिल्दैन’ उनले भने, ‘तीनचार वर्षदेखिको हिसाब पनि बुझाइएको छैन ।’ पत्रकार सम्मेलनमा सहभागिले आर्थिक संयोजकको रुपमा काम गरेका भूपाल चालिसेलाई पनि हिसाब बुझाउन आग्रह गरेका छन् । पार्टीको अडिट गर्ने बेलामा नगद हिसाब खाता र जिन्सी हिसाब खाता गायब बनाइएको गौतमले आरोप लगाए ।
‘डकैती शैलीमा सामान लैजान हुन्थेन, लगिएको छ’ कार्यक्रममा आएका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका संयोजक श्रीनाथ बरालले भने, ‘पार्टीको धेरै संयन्त्र छन्, कसैले पार्टी छाड्दैमा सामाग्री हिनामिना गर्न मिल्दैन ।’ पार्टी हित बिपरित गएकालाई कारवाही गरिएको उनले बताए । प्रदेश समितिका सदस्यलाई भने कारवाहीकालागि माथिल्लो निकायमा सिफारिर गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->