बागलुङ/जलवायु परिवर्तन र जैविक बिबिधताको संरक्षणका लागि स्थानीय पाठ्यक्रम तयार गर्नुपर्ने आवाज उठ्न थालेको छ । नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटनमा पर्ने जैविक बिबिधताको संरक्षणका लागि नयाँ पुस्तालाई तयार गर्न पाठ्यक्रम आवश्यकता रहेको आवाज उठ्न थालेको हो ।
शिकार आरक्ष वरपर रहेका निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा रहेका विद्यालयका प्रधानाध्यापक, विज्ञान शिक्षक लगायतका सरोकारवालाले पाठ्यक्रमको आवश्यकता औंल्याए । ‘संरक्षण शिक्षा’ सम्बन्धी स्थानीय पाठ्यक्रम तयार गरेर माध्यामिक तहका विद्यार्थीलाई पढाउन सके जलवायु परिवर्तनका कारण जैविक बिबिधतामा देखिने समस्यासँग अनुकुलित हुन जनस्तरमा चेतना पुग्ने उनीहरुको धारणा थियो । बागलुङको बुर्तिबाङमा चार दिनसम्म चलेको कार्यशाला गोष्ठीबाट उनीहरुले ‘संरक्षण शिक्षा’ सम्बन्धी स्थानीय पाठ्यक्रम सिकाई युनिटको खाका समेत तयार गरेका छन् ।
दिगो पर्यटन प्रवर्धन परियोजनाअन्तर्गत वातावरण तथा जैविक विविधता संरक्षणमा पारेको प्रभावका विषयमा आयोजित कार्यशालामा जलवायु परिवर्तन, वातावरण संरक्षण, दिगो पर्यटन प्रवर्धन तथा जैविविक विविधताका विषयमा बृहत छलफल भएको थियो । ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका स्थानीय विषयलाई प्राथमिकतामा राखेर सुरु भएको छलफलमा पाठ्यक्रमको आवश्यकता औंल्याईएको हो ।
ढोरपाटन नगर र निसीखोलाका १२ विद्यालयका प्रध्यानाध्यापक, विज्ञान शिक्षक, पालिकाका शिक्षा संयोजकसहित विषयविज्ञको सहभागितामा पाठ्यक्रम निर्माणको आवाज उठेपछि संरक्षण शिक्षा पाठ्यक्रम र सिकाई युनिटको खाका तयार पारिएको परियोजना निर्देशक अमर थापाले बताए । ‘बढ्दो तापमान, हाम्रो मौसमी प्रणालीमा आएको फेरबदल र नागरिकको तहमा परेको जलवायु परिवर्तनको असरका विषयमा चर्चा हुन जरुरी थियो’ थापा भन्छन्, ‘हामीले प्राकृतिक रुपमा भैरहेको परिवर्तनलाई रोक्न सक्दैनौ तर अनुकुलनका उपायहरुमा पुग्न सक्छौं ।’
कार्यशालाबाट तयार भएको पाठ्यक्रमको खाकामा पर्यटन क्षेत्रका सम्भावना, स्थानीय वस्तु तथा सेवाको बजारीकरण, स्थानीय वस्तुको उपयोग लगायतका विषय समाबेश रहेको उनले बताए । पाठ्यक्रम र सिकाई युनिटको खाका तयार भएपनि त्यसको कार्यान्वयनका लागि भने स्थानीय तह तत्पर हुन जरुरी छ । स्थानीय तहले बनाईरहेको स्थानीय पाठ्यक्रममा खाका अनुसारका विषयवस्तु समावेश हुँदा माध्यमिक तहमा जलवायु परिवर्तन र जैविक बिबिधताको विषय पढाई हुने उनले बताए । पाठ्यक्रमका लागि परियोजनाले स्थानीय तहसँग अनुरोध गर्ने जनाएको छ । दिगो पर्यटनका अवसर, चुनौती, दिगो पर्या–पर्यटनको दुर्बल पक्ष, सम्भावना र योजनाका विषयमा समेत छलफल सुरु भएको छ ।





