बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताह सोमबार समापन गरिएको छ । बिभिन्न खेलकुद, साँस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रमसहित सात दिनसम्म संचालन भएको सप्ताह सोमबार विद्यालय स्तरीय वक्तृत्वकला गरी समापन गरिएको हो ।
सप्ताहको अन्तिम दिन २४ औँ स्वर्गिय प्रगति कुमार स्मृति विद्यालय स्तरीय वक्तृत्वकला र समापन कार्यक्रम गरिएको हो । ‘पहल, नवप्रर्वतन र प्रभाव’ विषयक वक्तृत्वकलामा चिल्डे«न लाइफ बोर्डिङ स्कुलका छात्रा प्रमिशा केसी उत्कृष्ट र पाङ धैरेनी माविका छात्रा सोनी रिजाल सान्त्वना भए । उनीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।
कार्यक्रम समापनको अबसरमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले युवा विद्यार्थी भनेको देश विकासको आधार भएकाले सकरात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरे । उनले युवाहरुको क्षमता विकास र सामाजिक कार्यमा सक्रिय जेसीजले आम नागरिकलाई पनि सत्कर्ममा लाग्न प्रेरित गरेको बताए । युवालाई नेतृत्व विकासमा पनि जेसीजले साथ दिएको उनको भनाई थियो ।
कार्यक्रममा बागलुङ जेसीजका निवर्तमान अध्यक्ष एवम् नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष सौरभ श्रेष्ठ, बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष सुरज बोसेल, स्वर्गिय प्रगति कुमार स्मृति कोषका संरक्षक कृष्णबहादुर श्रेष्ठ र विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बागलुङ जेसीज वर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, मुल संयोजक एवम् कार्यकारिणी उपाध्यक्ष बलराम कँडेलको स्वागत र कार्यकारीणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक बिन्द्रा कार्की सोनीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





