पोखरा/ गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिएकी छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्रेस रजिस्ट्रारमा नियुक्त गरेको थियो ।
भण्डारी नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष हुन् । गण्डकी प्रदेश सरकारले प्रदेश आमसञ्चार ऐनले व्यवस्था अनुसार प्रेस रजिस्ट्रार नियुक्त गरेको हो । यसैबीच नवनियुक्त प्रेस रजिस्ट्रार भण्डारीले सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर कास्कीका १८ जना क्रियाशील पत्रकारले भण्डारीको विरोधमा प्रदर्शन गरे । क्रियाशील पत्रकार समूहले ‘पत्रकारलाई अन्याय गर्नेलाई प्रेस रजिष्ट्रार उपहार’ प्लेकार्ड देखाएर भण्डारीको विरोध गरेका हुन ।
पत्रकार महासंघले भदौ २९ गते निर्वाचनको कार्यातालिका सार्वजनिक गर्दै अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो । अन्तिम नामावलीमा कास्की शाखाले छनोट गरी गण्डकी प्रदेश कार्यालय पठाएकोमा प्रदेश कार्यालयले समेत उक्त नाम अनुमोदन गरेर पठाएपछि पनि केन्द्रले सबैको नाम नसमेटेकोमा भण्डारीले कास्की शाखाकोतर्फबाट नबोलेको भन्दै सपथ ग्रहणबाहिर विरोध गरिएको समूहका सदस्यले बताएका छन् ।





