म्याग्दी/ऋषिहरूको तपोभूमिका रूपमा पवित्र र स्वच्छ भएकाले म्याग्दी धार्मिक पर्यटनको राम्रो गन्तव्यका रूपमा विकास हुन सक्नेमा सरोकारवालाहरू एकमत भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघले आइतबार सदरमुकाम बेनीमा त्रिदण्डीको मान्यता प्राप्त गरेपछि अनन्तश्री विभूषित जगदगुरु त्रिदण्डी स्वामीज्यू महाराजलाई स्वागत तथा सम्मान कार्यक्रममा धार्मिक पर्यटकीय रूपमा म्याग्दी धनी भए पनि महत्वका बारेमा प्रचारप्रसार गर्न र पूर्वाधार विस्तारमा चासो नपुगेकाले ओझेलमा परेको बताएका थिए । सम्मान तथा स्वागत कार्यक्रममा बोल्दैपछि अनन्तश्री विभूषित जगदगुरु त्रिदण्डी स्वामीज्यू महाराजले सनातन धर्म र हजारौं वर्षको इतिहास बोकेको यस क्षेत्र धार्मिक सहिष्णुता अनुकरणीय रहेको बताउँदै अब धार्मिक सम्पदा र धार्मिक पर्यटन नै मुख्य आम्दानीको स्रोत रहेको बताए ।
‘यहाँ आउने धार्मिक पर्यटकको महत्वपूर्ण हिस्सा भारतीय हो, यहाँ जस्तो धार्मिक महत्व भएका सहर विश्वमै कम छ,’स्वामीज्यू महाराजले भने । हिन्दू धर्मावलम्बी आस्थाको केन्द्रका रूपमा कालिगण्डकी र सालग्राम, पौलस्त्य पुलह आश्रम, गलेश्वरधाम, रिखार, मुक्तिनाथको प्रवेशद्धार रहेको म्याग्दीमा ऋषिहरूको तसस्यास्थलदेखि धार्मिक महत्वका धेरै क्षेत्र रहेकाले विश्वभर रहेका हिन्दू धर्मावलम्बीहरुलाई भित्र्याउन सहज हुने उनको तर्क थियो । बेनी नगरपालिकाका मेयर सुरत केसीले नगरपालिका भित्र रहेका धार्मिक क्षेत्रको विकास र सहकार्यका लागी आवश्यक सहयोग र प्रक्रियामा सहज बनाउने बताए। अहिलेसम्म म्याग्दीमा गलेश्वधाम हुदै मुक्तिनाथसम्म वर्षेनी लाखौँको संख्यामा पर्यटकहरू आइरहेको अवस्थामा अन्य धार्मिक क्षेत्रमा न्यून चहलपहल रहेको छ ।
म्याग्दीमा शक्तिपीठहरुमध्ये बेग्लै विशेषता र पहिचान बोकेको क्षेत्रहरुको प्रचारप्रसार गरी आर्थिक चलायमन बनाउन म्याग्दी उद्योग वाणिज्य संघले समेत पहल र नेतृत्वदायी भूमिका खेल्ने अध्यक्ष सुविन श्रेष्ठको भनाइ छ । परम वैदिक सनातन धार्मिक आश्रम श्री लक्ष्मीहरि नारायण मन्दिरका उत्तराधिकारी जगदगुरु अनन्तश्री विभूषित जगदगुरु त्रिदण्डी स्वामीज्यु महाराजलाई बेनीबजारबासीले बाजागाजासहित भव्य स्वागत तथा उपस्थित भक्तजनमाझ प्रवचन गरिएको थियो ।
भारत सरकारको तेस्रो सर्वोच्च मानवपदवी ‘पद्म भूषण’द्वारा सम्मानित जीयर स्वामीजी मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरमा रहेको लक्ष्मीहरि नारायण मन्दिरमा दर्शन गर्न आइपुगेका हुन् । उनलाई स्थानीयबासीले बाजागाजासहित भव्य स्वागत गरे ।
परम वैदिक सनातन धार्मिक आश्रम श्री लक्ष्मीहरि नारायण मन्दिरका उत्तराधिकारी जगदगुरु हिमालयन बाबा एवं समितिका पदाधिकारी र रत्नेचौरबासीले बाजागाजासहित स्वामिजीलाई स्वागत गरे । जीयर स्वामीजीले उपस्थित भक्तजनमाझ प्रवचन पनि दिए ।





