बागलुङ/सूचना अधिकारीलाई सूचनायुक्त बनाउनुपर्ने, सूचना प्रवाहमा सरकारी कार्यालयहरु जवाफदेही बन्नुपर्ने र समयमा सूचना प्रवाहमा सक्रिय बन्नुपर्ने सरोकारवालाले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा भएको सूचना अधिकारी तथा पत्रकार अन्तरक्रियामा सहभागिले समयमा सूचना प्रवाहमा सरकारी कार्यालय नै उदासिन भएको बताएका हुन् ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले सूचन प्रवाहमा कुनैपनि कार्यालयले आलटाल गर्न नहुने बताए । गरेको कामको प्रगती समीक्षा र वर्षभरी गरिने कामको जानकारी दिनैपर्ने आवस्यकता औल्याए । सूचना लुकाउने र दिन नखोज्नेलाई समन्वय गरेर आम नागरिकको पहुँचमा लैजान पहल गर्ने उनले बताए ।
कार्यक्रममा सुवेदीले चालु वर्षको २ महिनामा प्रशासनले गरेका कामको प्रस्तुतीकरण गरेका थिए । साथै, उनले यो समयमा भएका महत्वपूर्ण घटनाबारे जानकारी दिए । वर्षातमा भएका बिपतका घटनामा तत्काल राहत र उद्दार गरेको विषय, बिभिन्न दिवश मनाएको र डेंगी लगायतको रोगबाट बच्न सरसफाइ अभियान चलाएको पनि बताए । हरेक कार्यालय सफा गर्ने प्रतियोगितामा स्वास्थ्य कार्यालय उत्कृष्ठ भएको समेत उनको भनाई थियो ।
कार्यक्रममा सहायक प्रजिअ चित्राङगत बरालले कार्यालयले गरेको सेवा प्रवाह, बजार अनुगमन, नागरिकता तथा राहदानी बितरणबारे प्रष्ट्याए । उक्त अवसरमा जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारीले आफ्नो कार्यालयका केही गतिविधि जानकारी गराएका थिए । तर पत्रकारहरुले समयमा सूचना नपाएको, अपुरो पाएको र औचित्य समाप्त भएपछि मात्र पाएको गुनासो गरे । त्यसबाहेक कतिपय कार्यालयले सूचना दिनै नचाहेको, पत्रकारलाई निशेष गरेको समेत गुनासो गरे । पत्रकारको जिज्ञाशा र गुनासोमा प्रजिअ सुवेदीले सूचना पत्रकारलाई दिने कुरा मात्र नभई, आम नगारिकलाई सुसूचित बनाउने समेत भएकोले ढीलाई नगर्न पनि सुझाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले सूचनाबिहिन सूचना अधिकारी बनाइएको, भएका सूचना पनि कार्यालय प्रमुखबाट सूचना अधिकारीमा नपुगेको बताए । त्यसका लागि प्रशासनले समन्वय गरिदिनुपर्ने आवस्यकताबारे पनि जानकारी दिएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरीबाट पनि सूचना प्रवाहमा ढीला भएको, समाचारका लागि खोजी गर्दा चाासो नदिएको लगायतको गुनासो थियो । प्रहरी निरीक्षक प्रताप पौडेलले कारणबस प्रमुख र सूचना अधिकारी नहुँदा केही समस्या भएको भन्दै आगामी दिनमा कतिपय कमीकमजोरी सच्याएर जाने पनि बताए ।





