पोखरा / पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा क्यान्सर रोगको उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत साउन ३० मा गरेको निर्णयको कार्यान्वयन स्वरुप बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर रोगको उपचार सेवा बिस्तार सम्बन्धमा मंगलबार सम्झौता भएको छ । मन्त्री पौडेलले क्यान्सर रोगको उपचार सेवा बिस्तार गर्ने पहिलो निर्णय गरेका थिए । सम्झौतासंगै अव यही असोज महिनाभित्रै क्षेत्रीय अस्पतालले क्यान्सर रोगको ओपिडी सेवा सुरु गर्नेछ ।
उपचार सेवाको लागि विशेषज्ञ सेवा सहयोग गर्ने विपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा.शिवजी पौडेल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीबीच हस्ताक्षर भई सम्झौतापत्र आदानप्रदान समेत भयो । क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्बन्धी कार्यविधि २०८१ अनुसार भएको सम्झौता पत्र आदानप्रदान कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थिति थियो ।

oplus_34
सम्झौता पत्रमा पश्चिमाञ्चल अस्पतालले क्यान्सर रोगको बिस्तारित सेवा संचालनका लागि आवस्यक वातावरण मिलाउनु पर्ने, सेवाग्राहीलाई सेवाबारे सूचना, कार्यतालिका र सेवा विवरणबारे जानकारी गराउनुपर्ने र उपचारका लागि आफ्नो संस्थामा उपलब्ध पूर्वाधार, औजार, उपकरण र जनशक्ति परिचालन गर्नुपर्नेछ । यसैगरी भरतपुर अस्पतालले सेवा प्रदान गर्ने जनशक्तिलाई नियमानुसार यातायात, खाजालगायत खर्चको व्यवस्था मिलाउने, आफ्नो संस्थाको नियमित सेवा प्रभावित नहुने गरी जनशक्तिको व्यवस्था गर्नुपर्ने, महिनामा कम्तीमा एकपटक सेवा संचालन गर्ने र विस्तारित सेवामा बहिरंग, अन्तरंग एवं उपचार समेत समेटी सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । दुवै अस्पतालको सहमतिका आधारमा सेवा थप गर्ने वा सेवा संचालनको कार्यतालिका परिमार्जन गर्न सकिने पनि जनाइएको छ । साथै सेवाको गुणस्तरको लाग दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्नेछ । समझदारी पत्र आजदेखि २०८२ असार मसान्तसम्ममा लागु हुने छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिमित साधनस्रोतलाई व्यवस्थापन गरी क्यान्सर रोग उपचार सेवा बिस्तार गरिएको बताए । उनले विशिष्टिकृत अस्पतालको रुपमा रहेको चितवनले पोखरासहित सुर्खेत र धनगढी तथा भक्तपुर क्यान्सर अस्पतालले कोशी र मधेश प्रदेशमा सेवा बिस्तार गर्ने योजना रहेको सुनाए । ‘विशिष्टीकृत अस्पतालको सहयोगमा अर्थात भरतपुरलाई जिम्मा लगाएर पोखरामा सेवा बिस्तार गर्ने समझदारी भएको हो’ उनले भने, ‘यसमा समन्वय र समझदारी गरि अघि बढ्न आग्रह गर्दछु ।’ उनले सुरुवात हुनु महत्वपूर्ण कुरा भए पनि त्यसलाई निरन्तरता दिनु झनै ठूलो कुरा रहेको भन्दै सम्झौता अनुसार दुवै अस्पतालले आफ्नो जिम्मेवारी इमान्दारितासाथ पुरा गर्न निर्देशनसहित मन्त्रालयले पनि अनुगमन गर्ने बताए । यसले तत्काललाई ठूलो क्रोनिक समस्या भएमात्रै बिस्तारित अस्पतालमा जानुपर्ने नभए सामान्य रोगको उपचार, फ्लोअप र परामर्शका लागि अन्यत्र धाइरहनु नपर्ने अवस्था सिर्जना भएको उनको भनाई छ ।
क्यान्सरसंगै मुटुरोगको उपचार र मानव अंग प्रत्यारोपणलाई सबै प्रदेशमा बिस्तार गर्ने योजना रहेको उनले सुनाए । अवको एकसय दिनमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १५ बेड आइसियु थप्ने प्रतिवद्धता जनाए । साथै स्वास्थ्य सेवाका कर्मचारीका लागि एक वर्षमा १४ महिनाको तलव दिनेगरी कुरा चलेको तर, आर्थिक अभाव रहेको भन्दै उनले यस विषयमा केही न केही गर्नुपर्ने बेला भएको र गर्ने आश्वासन पनि दिए ।
१० वर्षपछि बृद्धभत्ताको दायित्व सरकारले बहन गर्न नसक्ने अवस्थामा रहेको उनले सुनाए । उनले स्वास्थ्य विमालाई प्रभावकारी बनाउन सरकार लागिपरेको जनाए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव मन्त्रालयका अतिरिक्त सचिव डा.बिकास देवकोटाले मन्त्रालयले प्रस्ट रुपमा कार्ययोजना बनाएर अघि बढेको बताए । ८ वटा कडा रोगहरुमध्ये क्यान्सर पनि एक रहेको र बिरामी पनि बढिरहेको उल्लेख गर्दै सेवा पनि बिस्तार गरिएको जनाए । अव उपचार भन्दा पनि क्यान्सरै हुन नदिने उपाय अपनाउनु पर्ने र अव प्रभावकारी र निरन्तर सेवा दिन आग्रह उनले गरे ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक खत्रीले अस्पतालले क्यान्सर रोगको सेवालाई कसरी अघि बढाउने भन्ने योजना बनाइरहेका बेला मन्त्रीले पहिलो निर्णयमै क्यान्सर रोगको उपचार सेवालाई बिस्तार गर्ने निर्णय गरेर सहज गरिदिनुभएको बताए । उनले हाल अस्पतालले प्रवाह गरेको सेवाको बारेमा जानकारी गराएका थिए । उनले अव ब्रेन स्ट्रोकको उपचार पनि सुरु गर्न लागिएको जनाए । अस्पतालसंग पूर्वाधार, संरचना रहेको भन्दै असोज महिनाभित्र क्यान्सर रोगको उपचारका लागि ओपिडी सेवा सुरु गर्ने बताए । ‘अहिलेलाई दक्ष जनशक्ति चितवनबाट आउनुहुनेछ’ उनले भने, ‘छिटैनै केमोथेरापीलगायत ओपीडी सेवा संचालनमा ल्याउछौ ।’
भरतपुर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालको वर्तमान अवस्था र भावी कार्ययोजना प्रस्तुत गर्दै मन्त्री पौडेलको पहिलो निर्णय अनुसार सेवा बिस्तार गरिएको बताए । प्रतिष्ठानका उपकुलपति डा.डुकबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर अस्पतालका अध्यक्ष डा.बिजयराज न्यौपानेले मन्त्रीको निर्देशनलाई कटिबद्ध भएर पुरा गर्ने बताए । साथै पोखरामा सेवा सुरु गर्न पाएकोमा गौरवान्वित भएको भन्दै उनले सहज उपचार सेवा प्राप्त हुने विश्वास गरे । कार्यक्रममा कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले राजनीतिबाट माथि उठेर सेवा प्रदान गर्न आग्रह गरे ।





