बागलुङ/जिल्ला प्रशासन कार्यालय बागलुङले चालु आर्थिक वर्षको २ महिनामा ८३ लाख ५७ हजार राजश्व संकलन गरेको छ । राहदानी बितरण, जरिवाना तथा अन्य कारवाहीबाट उक्त राजश्व संकलन गरेको हो । लक्ष्य र प्रगतिको रुपमा काम नगे पनि प्रशासनले चालु वर्षको दुई महिनामा १ हजार १ सय ५२ राहदानी बितरण गरेको छ । त्यसबाहेक ७५ वटा नाबालक परिचयपत्र, २ सय ७९ वटा हराएको राहदानी बनाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए ।
त्यस्तै दुई महिनाको अवधिमा जिल्लामा २ हजार १० जनाले नागरिकता बनाएका छन् । सोही अवधिमा ६ सय ७२ वटा नागरिकताको प्रतिलिपी बितरण भएका छन् । विशेषगरी प्रशासनले बजार अनुगमन गर्ने भए पनि यो वर्ष भने ३ वटा मात्रै अनुगमन गरिएको हो । त्यसबाहेक सार्वजनिक यातायातको २ पटक अनुगमन गरिएको थियो । चार पटक सुरक्षा समितिको बैठक बसेको र ७ हातहतियारलाई नविकरण गराइएको समेत प्रशासनले जनाएको छ ।
प्रशासनले भारतीय सेनाका निवृत्तहरुको पेन्सनपट्टामा समस्या आएमा सिफारिस दिने काम पनि गर्छ । चालु वर्षको दुई महिनामा २ सय पेन्सनपट्टाको सिफारिस दिएको थियो । यस्ता घटना वा कामको तथ्यांकलाई व्यवस्थित बनाउन प्रशासनले पहल गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले बताए । त्यसो त जिल्लाका सूचना अधिकारीहरुको बैठकमा प्रजिअ सुवेदीले दैविप्रकोपको घटनामा खोजी उद्धार तथा राहत वितरण गरिएको बताए । तर, हरेक कार्यालयहरुमा डाटा राख्ने काम नभएकोले अन्य घटना हुँदा पुरानो नजिर समेत भेटाउन नसकिने कारणले तथ्यांक व्यवस्थापनलाई चुस्त बनाउने पनि तयारी गरेको सुवेदीले बताए ।
साउनमा बडिगाड गाउँपालिकाका वडा नं. ९ र १० मा बाढी पहिरोले १२ जनाको ज्यान गएको थियो । अन्य घाइते समेत थिए । घरबारबिहिन भएकाहरुले घर बनाउने काम भने थालेका छैनन् । तर मृतक परिवारमा २ लाख संघको रकम र प्रदेश सरकारको ५० हजार रुपैयाँ प्रदान गरिएको हो । त्यसबाहेक बाढी पहिरोले घर, गोठ वा पशुधनको क्षति भएमा क्षतिको आधारमा राहत बितरण गर्ने गरिएको छ । त्यसबाहेक बानपा, गलकोट लगायतमा भएका बाढी र पहिरोका घटनाका मृतक परिवारमा राहत बितरण भएको पनि उनले बताए ।
यस्ता तथ्यांक प्रशासनमा भएजस्तै पालिका र वडा तहको तथ्यांक संकलनमा कमजोरी देखिएपछि प्रशासनले सबै पालिका र वडा तहसम्म डाटा व्यवस्थापनका लागि गृहमन्त्रालयको समन्वयमा तालिम संचालन गर्दैछ । उक्त तालिमले डाटा संकलनमा सहयोग पुग्ने विश्वास लिइएको छ । गृह मन्त्रालयसँग सम्झौता गरेर प्रशासनले सबै बिपतको उचित र समयमा उद्दार गर्ने, आम नागरिकको सेवामा चुस्त व्यवस्थापन गर्ने र अन्य सरकारी कार्यालयको पनि अनुगमन गरेर चुस्त प्रशासन संचालनमा लगाउने काम गरेको सुवेदीले जानकारी दिए ।
हरेक पालिकाको वडा तहमा कम्प्युटर चलाउने कर्मचारीलाई आइटीसम्बन्धी तालिम दिएर सूचनालाई चुस्त बनाउने, डाटाबेसमा कार्यालय संचालन गरिने तर तत्काल डाटा हेरेर सेवा दिने व्यवस्थापन गर्न प्रशासनले तयारी गरेको छ । पहिलो चरणमा बागलुङ नगरपालिकासहित केही पालिकाका वडा सचिव वा प्राविधिकलाई राखेर असोज ६ गतेदेखि चार दिने तालिम संचालन गर्न लागिएको हो । यो तालिमले सूचना संकलन र तथ्यांक व्यवस्थापनमा सहजता आउने सुवेदीले बताए ।





