पोखरा/ गण्डकी प्रदेश सभामा एमाले सांसद भीमबहादुर कार्कीले प्रदेश सभालाई गौरव गर्न लायक बनाउनु पर्ने बताएका छन । बुधवार दिउँसो एक बजे सुरु हुने भनिएको प्रदेश सभा बैठक झन्डै एक घन्टा ढिलो भएपछि कार्कीले ठिक समयमा चल्न र ठिक समयमा विषयबस्तु अगाडि बढाउनु पर्ने भन्दै संसदको ध्यानाकर्षण गराएका हुन ।
‘हामी गरिमामय गण्डकी प्रदेश सभामा छौ । हामीलाई हजारौ आँखाले हेरेको र लाखौं कानले सुनिरहेका छन’, उनले भने, ‘सभालाई गौरव गर्न लायक र सिक्न सक्ने बनाएनौ भने हामीप्रति जनताको विश्वास कम हुँदै जान्छ । अवदेखि ठिक समयमा चल्न र ठिक समयमा विषयबस्तुलाई अगाडि बढाउन सक्नुपर्छ । सभालाई गौरव गर्न लायक र समयको व्यवस्थापनका लागि ध्यानाकर्षण गराउँछु ।’ उनले सबै सांसदको समय महत्पूर्ण रहेको भन्दै एक हप्ता अघिनै समय निर्धारण गरिएको र अन्य कार्यक्रम छोटाएर आउँदा पनि बिनाकाम एक घन्टा बढी समय बस्नु परेको गुनासो गरे । उनले सभाको बैठक पछि पनि कार्यक्रममा जानुपर्ने बताए । सभामुख कृष्णप्रसाद धितालले कार्कीले उठाएको बिषयबस्तुप्रति ध्यानाकर्षण भएको भन्दै आगामी बैठकमा व्यवस्थित गर्ने जनाए ।
प्रदेश सभा बैठकमा माओवादी केन्द्रकी दमयन्ती रुचालले सिमान्तकृत समुदाय मुसहरलाई सम्बोधन गर्नुपर्ने माग गरिन । उनले गण्डकी प्रदेशको नवलपुरमा १२ सय १५ घरधुरीमा १० हजार ९ सय ३५ जनसंख्या र त्यसमा २९ सय ४५ बालबालिका रहेको तथ्यांक प्रस्तुत गर्दै मुसहरलाई जमीन, आवास, नेपाली नागरिकताको प्रमाण पत्र, बालबालिकालाई निशुल्क शिक्षा र आय, सीपमुलक तालिम र रोजगारीको व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराइन । एमालेकी निर्मला थापाले विभिन्न कारणले जटील प्रकृतिका रोगहरु दिनप्रतिदिन बढ्दै गएको भन्दै मुटु, मिर्गौला र क्यान्सर रोगको उपचारमा प्रदेश सरकारले सहयोग दिनुपर्नेमा अहिलेसम्म रोकिएकाले छिटो आर्थिक सहयोगको माग गरिन । कांग्रेसका महेश भट्टराइले स्याङजाको गल्याङ नगरपालिका–३ मा ६० घरपरिवारको बसोबास रहेको गाउँ पहिरोको जोखिममा परेकाले स्थानीयलाई स्थानान्तरण गर्न र गाउँ बचाउन ध्यानाकर्षण गराए । साथै गल्याङ–१० पकवादीमा ५ सय रोपनी खेत पहिरोले बगाएपछि स्थानीयले अव गाउँमा बस्न नसक्ने बताएको जनाए । चापाकोट नगरपालिका–४ र ५ नम्बर वडा र हरिनास गाउँपालिका–५ मा रहेको खानीखोलामा आएको बाढीले एकहजार रोपनी जग्गा बगरमा परिणत गरेकाले त्यहाँ सहयोगको माग गरे ।
एमालेका लिलबहादुर थापामगरले प्रदेशमा आएका र गएका पर्यटकको एकिन डाटा उपलब्ध गराउन माग गरे । साथै कास्कीमा डेंगुको बिकराल समस्या भएको बताए । उनले एक घर एक डेंगु र अव त परिवारमा सरेको भन्दै मन्त्रालय, स्थानीय तह, प्रशासनले नियन्त्रणका लागि टोल र वडावडामा पुगेर सक्रिय पहलकदमी संचालन गर्न माग गरे । उनले स्वास्थ्य बिमालाई व्यवस्थित गराउन माग गरे । कांग्रेसकी बिमला गौचनले प्रदेशका सडक बालबालिकाको अवस्था के कस्तो अवस्था छ भन्ने प्रश्न गर्न उनीहरुको दीर्घकालिन व्यवस्थापनमा सरकारसंग आग्रह गरिन । हिंसापीडित महिलाको व्यवस्थापन र विभिन्न समुदायको किरियापुत्री भवन नभएकाले बनाउन माग गरिन । एमालेकी सीताकुमारी सुन्दासले स्याङजाको बिरुवा गाउँपालिका– ७ मा असार २२ गते आएको पहिरोले १२ घर बस्नै नमिल्ने भएका, २८ घर उच्च जोखिममा परेका र १० घर आंशिक क्षतिमा परेको, हरिनासस्थित मातृभूमी माविमा पहिरोले अपांगमैत्री शौचालय पुरिएकाले त्यसको व्यवस्थापन गर्न माग गरिन् । माओवादी केन्द्रकी सुशीला सिंखडाले गोरखामा २ महिनाको अवधिमा १ सय ५७ जना डेंगुका बिरामी भए पनि सरकार र मन्त्रालयको ध्यान नपुगेको बताइन् । गोरखाको धार्चे–५ सिङ्ला मा ५ जनाको मृत्यु भएकोमा तत्काल साढे २ लाख दिने भनिएकोमा त्यसले नपुग्ने भएकाले सहयोग थप्न माग गर्दै आरुघाट लार्केपास सडक खुलाउन र अजिरकोटमा ३५ घर जोखिममा परेकाले त्यसको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन् । एमालेका श्यामराजा महतले तनहुँको दुलेगौंडा हर्कपुर सडकको ठेकेदारले काम नगरेकाले ठेक्का क्यान्सिल गरी अर्को ठेक्का लगाउन माग गरे् । साथै प्रदेशभरीका अव्यवस्थित बसोबासीका लागि जग्गा धनि पूर्जाका लागि नापजाँच र कित्ताकाट भएकोमा केन्द्रसंग समन्वय गरी कहिलेसम्म जग्गाधनि पूर्जा पाउछन ? प्रदेश सरकारले जवाफ दिन सक्छकी सक्दैन भन्दै प्रश्न गरे ।
बैठकमा गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको बिधेयक र केही गण्डकी प्रदेश ऐन संसोधन गर्न बनेको बिधेयकमाथि सामान्य अर्थात् सैद्धान्तिक छलफल भएको थियो । छलफलमा सांसदहरु अशोककुमार श्रेष्ठ, यशोदा रिमाल, कुसुम बुढा पुन, बिन्दु पौडेल, सीताकुमारी सुन्दास, महेश भट्टराई, बेदबहादुर गुरुङ सुशिला सिंखडा र दमयन्ती रुचालले भाग लिएका थिए ।





