बागलुङ/लायन्स क्लब अफ बागलुङ मेरीगोल्डको आयोजना बागलुङ नगरपालिका वडा नं. १ रामरेखास्थित संकल्प पुनस्थापना केन्द्रमा साताव्यापी योगा प्रशिक्षण सम्पन्न भएको छ । भदौ २५ गतेदेखि शुरु भएको योगा प्रशिक्षण बुधबार सकिएको हो ।
पतञ्जली योग केन्द्र बागलुङका प्रशिक्षक तथा शिक्षिका सिता सापकोटाले पुनस्थापना केन्द्रमा योगा सम्बन्धि प्रशिक्षण गराएकी थिइन् । सो अवसरमा प्रशिक्षक सापकोटालाई सम्मान गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै लायन्स क्लब अफ बागलुङका एरिया सचिव कृष्ण पौडेलले मानसिक र शारीरिक उर्जा बढाउन योगाले महत्वपूर्ण भूमिका खेल्ने बताए । सामाजिक क्षेत्रमा उत्तरदायित्व बहन गर्ने क्रममा लायन्सले रचनात्मक क्रियाकलापलाई विस्तार गरेको भन्दै उनले प्रशंसा समेत गरे । योग शिविरले नकरात्मक सोचबाट टाढा राख्न मद्दत गर्दै नयाँ जीवनको गोरेटो कोर्न हौसला प्रदान गरेको प्रशिक्षणका सहभागीहरुले सुनाएका थिए ।
लायन्स कल्ब अफ बागलुङ मेरीगोल्डका अध्यक्ष यशोदा शर्माको अध्यक्षतामा सम्पन्न संकल्प पुर्नस्थापना केन्द्रका संचालक सदस्य आशिष कार्कीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत रिजन पर्सन बद्री ढुंगाना र संचालन सचिव सञ्जिवकुमार श्रेष्ठले गरेका थिए । झण्डै १४ लाख सदस्य रहेको लायन्सले आपतकालिन समस्यामा सेवा पुर्याउँदै आएको छ ।






