बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रदेश प्रमुखद्वारा संविधान दिवसमा शुभकामना व्यक्त

प्रदेश प्रमुखद्वारा संविधान दिवसमा शुभकामना व्यक्त


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०८१, बिहिबार

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातिय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सुत्रमा आवद्ध गरेको बताएका छन । संविधान दिवसको अवसरमा आज एक सन्देश सार्वजनिक गर्दै भट्टले संविधानले सामाजिक न्यायमा आधारित समतामुलक समाजको परिकल्पना साकार बनाउन समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको जनाए ।

समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणको लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक श्रोत तथा उर्जाशील युवाशक्ति सहित मानवीय संशाधनको दीगो सदुपयोग गर्दै कृषि, वन, जलश्रोत र पर्यटनमा आधारित उद्यमशीलताको विकास मार्फत् स्वाबलम्बी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्नु आवश्यकता रहेको उनले बताएका छन । उनले भने, ‘संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरुको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरुमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्दछ ।’

नेपाली जनताको दशकौं लामो संघर्ष र बलिदानको फलस्वरुप २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान पनि उनले गरेका छन । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक रहेको उनले जोड दिएका छन । ‘देशको हित र जनताको उन्नति भन्दा ठूलो हाम्रो कुनै लक्ष्य हुन सक्दैन । यही भावनाबाट उत्प्रेरित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु,’ उनले भनेका छन ।

संविधानको कार्यान्वयन मार्फत् राष्ट्रिय समृद्धि हासिल गर्दै संघीय लोकतान्त्तिक गणतन्त्रका आधारभूत मान्यता र मूल्य प्रणालीलाई राष्ट्रिय जीवनपद्धति बनाउन संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ ले हामी सबैमा नयाँ उत्साह प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->