मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

संविधान कार्यान्वयनमै चुनौती

संविधान कार्यान्वयनमै चुनौती

संविधानको कारणले अहिलेका समस्या आएका होइनन् भन्दै कार्यान्वयनमा दलहरु असक्षम भएको गुनासो


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०८१, शुक्रबार

बागलुङ/संविधान गतिशिल विषय भएकोले संशोधन गर्न सकिने भएपनि दलहरुले त्यसको औचित्य पुष्टी गर्नुपर्ने सरोकारवालाले बताएका छन् । संविधान दिवशको अवसरमा बागलुङका राजनीतिक दलले आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाले संविधान संशोधन भएपनि कार्यान्वयन गर्न नसके औचित्य नहुने टिप्पणी गरेका हुन् ।
‘संविधान कार्यान्वयनको एक दशक ः अनुभव, चुनौती र भावी कार्यदिशा’ बारेको अन्तरक्रियामा विद्यार्थी, युवा, पेशागत संगठन, दलीत र महिला सरोकार क्षेत्रका अगुवाहरुले संविधानमा भएका विषय नै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । उक्त विषयमा उपप्राध्यापक डिल्लीराज गौतमले प्रस्तुतीकरण गरेका थिए । उनीहरुले दलहरुले संविधानका अन्तरवस्तुलाई गम्भिरतापुर्वक नलिए जनताको विद्रोह आउने बताए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष विशेष पराजुलीले संविधानले संसद विघटन गर्न रोकेर स्थायीत्व खोजेपनि नेताहरुले अस्थिर बनाएको टिप्पणी गरे । संविधानको कारणले अहिलेका समस्या आएका होइनन् भन्दै कार्यान्वयनमा दलहरु असक्षम भएको गुनासो गरे ।
कार्यक्रममा एमालेका सचिव गणेश थापाले संविधानले दिएका संघियता, धर्म निरपेक्षता जस्ता विषय उत्तम भएको तर स्थानीय तहको संख्या घटाएर राज्यको आर्थिक भार घटाउने कुरा उचित भएको बताए । कानून व्यवसायी ममतादेवी शर्माले संविधान आँफै बोल्ने र काम गर्ने नभएकोले संविधानका मर्मलाई दलले कार्यान्वयन गर्नुपर्ने बताइन् । संविधानमा हरेक स्थानीय तहमा प्रमुख पुरुष भए उपप्रमुख महिला हुनुपर्ने मान्यता दलकै कारण मिचिएको उनले टिप्पणी गरिन् ।
एमाले नगर अध्यक्ष रामकृष्ण शर्माले समानुपातिकभित्र उच्च पदस्थहरुले हस्तक्षेप गरेको टिप्प्णी गरे । सामुदायिक विद्यालय महासंघका अध्यक्ष टिकाराम थापाले निशुल्क शिक्षा र स्वास्थ्य सेवाबारे दलले नबोल्दा जनताले चर्को शुल्क तिर्न बाध्य भएको बताए ।
कार्यक्रममा संविधान सभाका सदस्यहरु प्रकाश शर्मा पौडेल र नरबहादुर थापाले संविधानसभाका अनुभव सुनाए । संविधान जारी गर्न नदिन आएका दबाव र घेराबन्दीबीच जारी भएको घटनाबाट पाठ सिकेर कार्यान्वयनमा नेतृत्व गम्भिर बन्नुपर्ने उनीहरुको धारणा थियो । कार्यक्रममा कांग्रेस सचिव हरिहर शर्मा, जिल्ला समन्वय समितिका प्रमुख अमर थापा पूर्व सांसद मना केसी, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, नेकपा एसका सचिव शालिकराम शर्माले बोलेका थिए ।
एमाले अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता, माओवादी अध्यक्ष राजिब घिमिरेको संचालन र राजमो नेता धर्म कुँवरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच संविधान दिवश २०८१ को मुल समारोहको आयोजनामा बिहिवार आयोजित प्रभातफेरी तथा ¥याली र कोणसभामा सहभागिले उल्लेख्य भाग लिएका छन् । यो वर्ष राजनीतिक दल, जनप्रतिनिधि, प्रशासक, विद्यार्थी र स्थानीयको सहभागिता उल्लेख्य थियो ।
पञ्चेबाजा, सेनाको व्याण्डबाजा लगायतले बजारमा रौनकता छाएको थियो । उक्त अबसरमा संविधानसभाका सदस्यहरुले आम नागरिकको चाहना र भावनालाई संविधानमा समेट्ने प्रयास गरिएको बताएका थिए । उनीहरुले संविधानलाई गतिशिल बनाएर आम नागरिकको हितमा लागू गर्नुपर्ने पनि बताए ।
त्यस अबसरमा बागलुङ क्षेत्र भित्रका जनआन्दोलनका सहिदलाई मरणोपरान्त सम्मान गरिएको थियो । उनीहरुका परिवारका सदस्यले उक्त सम्मान लिएका थिए । त्यस बाहेक बेपत्ता परिवार र घाइते लगायतलाई पनि सम्मान गरिएको थियो । संविधान दिवशकै अबसरमा आयोजित विभिनन प्रतियोगिताका बिजयी बिद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र बितरण पनि गरियो । मुल समारोह समितिका संयोजक जिल्ला समन्वय समितिका संयोजक अमर थापाको अध्यक्षता, सूचना अधिकारी दुर्गाप्रसाद शर्माको संचालनमा सम्पन्न कार्यक्रममा राजनीतिक दलका अगुवाले पनि शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->