बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

घान्द्रुक पदमार्गको हब बन्न सक्छः एक्याप प्रमुख कडरिया

घान्द्रुक पदमार्गको हब बन्न सक्छः एक्याप प्रमुख कडरिया


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०८१, शुक्रबार

पोखरा/  अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै कडरियाले घान्द्रुकबाट पदमार्गको गन्तव्य सुरु हुने भएकाले हब बन्नसक्ने बताए ।

‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि रोजाईको गन्तव्य बन्दै गइरहेको छ, घान्द्रुकलाई सास्कृतिक गाउँको रुपमा विकास गर्नसके अझै यसको महत्व बढ्छ’, कडरियाले भने, ‘घान्द्रुकबाट अन्नपूर्ण पदमार्ग, मुल्डे, हिडन लेक, म्याग्दीको घोडेपानी, खोप्रा, पुनहिल पदमार्गमा पर्यटकको रोजाईमा पर्छन् जसको कारण घान्द्रुक पदमार्गको हव बन्न सक्छ ।’

कडरियाले घान्द्रुकमा पर्यटकको संख्या र बसाई लम्बाउन नयाँनयाँ पर्यटकीय गन्तव्यसँगै वन्यजन्तु संरक्षणमा विशेष ध्यान दिन समेत सुझाव दिए । ‘घान्द्रुकमा पर्यटकको संख्या र बसाई लम्बाउन नयाँनयाँ पर्यटकीय गन्तव्यसँगै घान्द्रुकलाई सांस्कृतिक रुपमा विकास गर्नसके अझै पर्यटकको आगमन बढ्न सक्छ’, उनले भने, ‘वन्यजन्तुलाई हामीले हानी नोक्सानी गर्ने रुपमा मात्र हेरेका छौं तर यसको संरक्षण प्रवद्र्धन गर्नसके चितवनमा हात्ती र चितुवा हेर्न जाने पर्यटकजस्तै यहाँ पाइने जंगली जनावर देखाउन पर्यटक ल्याउन सकिन्छ ।’  उनले पछिल्लो समय वन डढेलोका कारण पर्यटन क्षेत्रसँगै जलवायुमा प्रत्यक्ष असर परेकाले वन डढेलो नियन्त्रणमा समुदाय नै चनाखो हुन समेत आग्रह गरे । यस्तै उनले घान्द्रुक लगायत अन्नपूर्ण क्षेत्रमा पाइने अल्लो र स्थानीय उत्पादनलाई बा्रण्डिङ गर्न आवश्यक रहेको बताए ।कडरियाले घान्द्रुकको लोकल रक्सी, सुकुटी र स्थानीय उत्पादनलाई समेत ब्राण्डिङ गर्न सके आर्थिक रुपमा समेत सबल हुने बताए ।

अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकको विकासको लागि स्थानीय सरकार, एक्याप र स्थानीयको समन्वयमा काम गर्दै आएको बताए । कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप इलाका कार्यालय घान्द्रुकका पूर्व प्रमुख जगनसुब्बा गुरुङले घान्द्रुकको विकास र यहाँको संरक्षणको लागि संरक्षण क्षेत्र स्थापना भएसँगै स्थानीयसँग समन्वय गर्दै आएको उल्लेख गरिन् । साधारण सभामा घान्द्रुक पर्यटन व्यवस्थापन समितिका सचिव माया पुन थापाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै साधारणमा सभामा घान्द्रुक पर्यटन व्यवस्थापन समितिमा सबैभन्दा बढी विदेशी पर्यटकको शुल्क बुझाउने होटल ब्रिजका सञ्चालक सुवास गुरुङ र नेपाली गाइड (पोर्टर) को शुल्क बुझाउने होटल वल्ड भिलेज इनका सञ्चालक अमृत गुरुङलाई सम्मान गरिएको थियो । साधारण सभामा तमु प्येल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङ, लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले घान्द्रुकको विकाससँगै पर्यटन प्रर्वद्धनमा एकताबद्ध तरिकाले अगाडि बढ्न सुझाव दिए । साधारण सभा घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षता, सदस्य रामकुमारी परियारको स्वागत र सचिव माया पुन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->