बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सूर्यदर्शन ठगी प्रकरण: हाफ प्याण्ट र टिसर्टमा पूर्वडीआइजी छविलाल

सूर्यदर्शन ठगी प्रकरण: हाफ प्याण्ट र टिसर्टमा पूर्वडीआइजी छविलाल


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८१, सोमबार

पोखरा / सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई पोखरा ल्याइएको छ । आइतबार काठमाडौंबाट पक्राउ परेका उनलाई बुद्ध एयरको विमानबाट राति सवा नौ बजेतिर बजे पोखरा ल्याइएको हो । पोखरा एयरपोर्टमा झर्दा उनी हाफप्याण्ट र टिसर्टमा थिए भने मुखमा मास्क थियो । पछाडि सानो ब्याग बोकेका उनलाई सामान्य यात्रीसरह नै एयरपोर्टबाट बाहिर ल्याइएको थियो ।
छविलाई एयरपोर्टबाट सोझै पृथ्वीचोकको निजी क्लिनिकमा स्वास्थ्य जाँचपछि जिल्ला प्रहरी कार्यालय कास्की लगियो । आइतबार उनी त्यहीँ रहनेछन् । सोमबार भने प्रहरीले थप कारवाही प्रक्रियाको लागि अदालत पेश गर्दैछ ।
सहकारी संस्था बचत दुरुपयोगसम्बन्धी संसदीय विशेष समितिले प्रतिवेदन बुझाएसँगै सो प्रकरणमा डामिएका छविलाई प्रहरीले पक्राउ गरेको हो । गृहमन्त्रालयले आइतबार कारवाही प्रक्रिया अगाडि बढाउन मातहतका निकायलाई परिपत्र गरेपछि पक्राउ पर्ने छवि पहिलो व्यक्ति हुन् ।
गएको माघ २४ गते जोशीको शंखमूलस्थित घरमा प्रहरीले छापा मारेको थियो । उनको घरबाट बरामद भएका चारवटा सर्भरमा जीबी भन्ने गितेन्द्रबाबु राई जोडिएका चारवटा सहकारीको १० अर्ब रुपैयाँभन्दा बढी कारोबारको विवरण प्रहरीले फेला पारेको थियो ।सर्भरमा पोखराको सूर्यदर्शन सहकारी, चितवनको सहारा सहकारी, वीरगञ्जको सानोपाइला सहकारी, बुटवलको सुप्रिम सहकारीको पनि कारोबार विवरण फेला परेको थियो । जीबी राईका व्यावसायिक साझेदारसमेत रहेका पूर्वडीआईजी जोशीले ती सहकारीको तथ्य खुल्ने सर्भर लुकाइदिएको खुले पनि उनका विरूद्धमा किटानी जाहेरी थिएन । तर, उनी ग्यालेक्सी टिभी संचालन गर्ने गोर्खा मिडियाका साझेदार थिए । गोर्खा मिडियामा पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारीबाट ६५ करोड रुपैयाँ गएको देखिएको छ । सोही आधारमा उनी पक्राउ परेको प्रहरीको भनाइ छ ।

सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठका अनुसार सहकारी पीडितहरुले २०८० साल साउनमा १ हजार ३५ जनाको जाहेरीसहित सूर्यदर्शन सहकारीविरुद्ध उजुरी दर्ता गराएका थिए । जिल्ला प्रहरी कार्यालयमा जाहेर भएको सो जाहेरीको दर्ता नम्बर ९८० ‘सी’ वान नम्बर दिइएको थियो । सुरुको उजुरीमा गृहमन्त्री रविको नाम थिएन । तर, पछि पीडितहरुले २०८० माघ २२ मा ४ जना मान्छे र १४ वटा कम्पनीविरुद्ध किटानीसहित पूरक जाहेरी बुझाएका थिए । त्यो किटानी जाहेरीमा छविलालको नाम भने छैन तर उनको घरबाट सूर्यदर्शन सहकारीको कारोबार समेटिएको सर्भर बरामद भएकाले उनलाई पक्राउ गरिएको हो । सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए ।
उनका अनुसार २५ जना पीडितले हस्ताक्षर र ल्याप्चे लगाइ पेश गरेको पूरक निवेदनको एक नम्बरमा नै रविको नाम उल्लेख छ । सहकारी ऐन र ठगीसम्बन्धी कानूनमा टेकेर दिइएको निवेदनको कसूर गर्ने व्यक्तिको नाम, थर ठेगाना भन्ने शीर्षकमा स्थायी ठेगाना काठमाडौं जिल्ला कामनपा वडा नम्बर ६, वर्ष ४८ को रवि लामिछाने ( गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक,सूर्यदर्शन सहकारीमा खाता नम्बर १०३९०००६६७५७ भएको ) भन्ने किटानी गरिएको छ । यस्तै उनीसँगै पूर्वसंचालक समिति अध्यक्ष ज्ञानबहादुर बमजन, खाता नम्बर ११६–०००३०७१ भएका नेत्रपाणि बास्तोला,नन्दकिशोर पुनका छोरा दीपेश पुन (खाता नम्बर ११६–०००३०७१) विरुद्ध पनि त्यहाँको रकम हिनामिना गरेको भन्दै किटानी जाहेरी दिइएको छ । पीडित बचतकर्ताले गोर्खा मिडिया प्रालि काठमाडौं, नेचर हर्व प्रालि काठमाडौ, नेचर नेष्ट प्रालि काठमाडांै, वारीसान ईन्फओमेसन टेक्नोलोजी काठमाडौं, स्प्रङउड रियल स्टेट एण्ड हाउजिङ प्रालि काठमाडौं, चोनी क्यापीटल प्रालि काठमाडौ, चेनी क्यापिटल प्रालि काठमाडौं, ग्रीजी स्पुन प्रालि काठमाडौं, गोर्खा ग्रुप इन्भेष्टमेन्ट प्रालि काठमाडांै, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, न्यूरोड काठमाडौं,सानो पाइला बचत तथा ऋण सहकारी वीरगंज, साहारा बहुउदेश्यीय सहकारी चितवन, सुप्रीम बचत तथा ऋण सहकारी बुटवल, जिनी ग्रुप अफ कम्पनी प्रालि काठमाडौं, गोर्खा आयुर्वेदिक प्रालि काठमाडांैविरुद्ध पनि किटानी जाहेरी दिएका छन् ।
प्रहरीले सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा २०८९ को भदौ २४ गते जीवी राईसहित १९ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएकामध्ये जीबी राईलगायत १४ जना अझै फरार छन् भने उपाध्यक्ष कैलाशकुमार दर्लामी,कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समिति सचिव अनुज नकर्मी, पूर्वसञ्चालक महेन्द्र गुरुङ,भविश्वर अर्याल, पूर्वसञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि कास्की कारागारमा छन् । प्रहरीले अहिलेसम्म ४४ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । पूर्वगृहमन्त्रीविरुद्ध किटानी जोहरी भए पनि प्रहरीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थिएन । तर, संसदीय छानबिन समितिको प्रतिवेदनले भने उनी पनि दोषको भागिदार भएको जिकिर गरेको छ । एकातिर पीडितहरुको किटानी उजुरी र अर्कोतिर संसदीय छानबिन समितिको कारवाही सिफारिस भएपछि रवि ढिलोचाँडो पक्राउ पर्ने सम्भावना बढेको छ । प्रहरीको उच्च स्रोतले छविलाई भाग्ने तयारीमा रहेकाले तत्काल पक्राउ गरिएको प्रतिक्रिया दिएको छ भने पूर्वगृहमन्त्रीसमेत रहेका रविले त्यसो नगर्ने निश्कर्षका कारण तत्काल पक्राउ नगरिएको बताएको छ । तर, पक्राउ परेमा चाहिँ उनलाई पनि अनुसन्धानका क्रममा पोखरा ल्याइने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->