बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दोषी उम्काउन खोजिएको पीडितका आफन्तको दाबी

दोषी उम्काउन खोजिएको पीडितका आफन्तको दाबी


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८१, सोमबार

पोखरा/प्रहरी र परिवारले चासो नदिँदा पोखरा ८ कुँवरटोलकी राधिका कुँवरको हत्या भएको पिडितका परिवारले आरोप लगाएका छन् । भदौ २६ गते बुधबारका दिन राधिका बिहानै कास्की प्रहरी कार्यालय पुगेकी थिइन् । आफू श्रीमानसँग बस्न नसक्ने भन्दै सामान निकालिदिन अनुरोध गर्न पुगेकी उनी लगत्तै त्यहाँबाट निस्केको प्रहरीको दाबी छ । तर, घरको कुरा सुनाउँदा पनि प्रहरीले उनको पिछा गर्न आवश्यक नठान्दा ज्यानै गएको मृतकको परिवारले जिकिर गरे ।
श्रीमान जहरसिंह कुवँर र राधिकाबीच बारम्बार झैझगडा हुँदै आएको र उक्त कुरा परिवारलाई थाहा हुँदासमेत वेवास्ता गर्नु हत्याको दोस्रो कारण रहेको उनीहरुको भनाइ छ । पीडितकी बहिनी मेनुका गुरुङ थापा र दिदी सिमा विष्टले बहिनीको हत्यारालाई परिवारबाटै सहयोग मिलेको र डिप्रेसनको नाममा कम सजाय गराउने खेल भएको आरोप पनि लगाए । प्रहरीको सार्वजानिक रुपमा डिप्रेसन भएको र लामो समय विदेश बसी आएको भन्ने भनाइप्रति आपत्ति जनाउँदै उनीहरुले मुद्दालाई कमजोर बनाउने प्रयास भइरहेको जिकिर पनि गरे ।
बहिनी मेनुकाले मृतकले घटना हुने दिनमासमेत बिहान आफूले सामान प्याक गर्दै गरेको र डेराबाट निस्कने तयारी गरिरहेको सुनाएको बताइन् । ‘मलाई त्यो दिन पनि फोन आएको थियो, बिहान । सामान प्याक गर्दैछु आऊ भन्नुभयो तर म पनि काममा भएकाले तत्कालै आउन पाइन,’ उनले भनिन्, ‘बिहान प्रहरीकोमा पनि पुग्नुभएको थियो । त्यतिबेला प्रहरी गएको भए सायद मेरो दिदी बाँच्नु हुन्थ्यो होला ।’
त्यतिमात्र होइन, मृतक र उनको श्रीमानको विवादबारेमा घर परिवारलाई समेत राम्रोसँग थाहा भए पनि वेवास्ता गर्दै आइरहेको उनी सुनाउछिन् । ‘पटकपटक हारगुहार पनि गरेको हो । उनको दाजु डीएसपी हुन् । उनले कहिल्यै आफ्नो भाइलाई सम्झाएनन्,’ मेनुकाले भनिन् । मेनुकाले घटना भएको दिन पोष्टमार्टपश्चात् अवेर भएकाले शव अस्पतालमै राख्ने र भोलिपल्ट अन्यष्टि गर्ने भनिए पनि पीडकको परिवारले रातको समयमै अचानक अन्त्यष्टिका लागि लगेको आरोप लगाए ।
मृतकको दिदी सिमा विष्टले बहिनीको हत्यारालाई आजीवन कैद हुनुपर्ने माग गरिन् । उनले बहिनीको ९ वर्षीय छोरालाई पनि माइती पक्षले नै राख्ने र मुद्दा कमजोर बनाउनका लागि डिप्रेसनको बहाना बनाएको आरोप लगाइन् । उनीहरुको मागि विवाह हो । २०६६ सालमा विवाह भएको उनको भनाइ थियो । भारत बस्दै आएकी सिमाले १० वर्षअघि भारतमा बस्दा बहिनी ज्वाइँ आउँदासमेत ज्वाइँले बहिनीलाई निकै हैरानी दिएको सुनाइन् ।
उनीहरुका अनुसार मृतकले ऋणधन गरेर दुई पटक कतार र एकपटक साउदी पठाए पनि ३–४ महिनामै फर्किएर आउने गरेका थिए । लामो समयदेखि कस्मेटिक सामान बेच्दै आएकी उनले अनावश्यक रुपमा हिंसा गरेको र बस्न नसकेपछि अंशसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी थिइन् । उक्त मुद्दा दर्तापश्चात पनि उनले राधिकालाई छाड्न नमानेको र सँगै बसेका थिए । बहिनी मेनुकाले ९ वर्षीय छोरा हरेक रात निकै झस्कने गरेको सुनाउछिन् । घटना भएको दिन जहरसिंहले छोरालाई स्कूल छाड्दा आमाले नयाँ कोठा खोजेको र त्यो कोठामा आज नपुग्ने बताउँदै आफ्नो दाइको घरमा जान भन्दै १० वर्षपछि भेट हुने बताएको दाबी गर्छिन् । जहरसिंह अहिले प्रहरी हिरासतमा छन् ।
ब्युटीपार्लर एसोसिएसनका संरक्षक चिनु गुरुङले विगत १५–१६ वर्षदेखि ब्यूटीपार्लरमा कस्मेटिक सामान बेच्दै आएको बताइन् । बजारमा मृतकले धेरै ब्यूटीपार्लरबाट रकम उठाउन बाँकी रहेको सुनाउँदै उनले संस्थाले पूरा विवरण लिएर बैठकबाटै कसले कति दिन रहेको विवरण निकालेर बुझाउने सुनाइन । रकम दिनुपर्ने ब्यूटीपार्लरहरुले उनको बहिनी वा दिदीलाई रकम दिन आग्रह गरिन् । हत्या भएको स्थानमासमेत धेरै सामान रहेकाले त्यो सामान सम्बन्धित कम्पनीसँग समन्वय गरि फिर्ता पठाउने र त्यसो नभएमा सबै ब्यूटीपार्लरले किनिदिने बताइन । आइतबार ब्यूटीपार्लर एसोसिएसन गण्डकी, कास्की र लेखनाथ शाखाले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएकी हुन् ।
यस्तो थियो घटनाको दिन
राधिका कुँवर जिल्ला प्रहरी कार्यालय कास्कीमा भदौ २६ गते बुधबार विहानै करिब ९ बजेको आसपासमा पुग्छिन् । पोखरा ८ कुँवरटोलमा डेरा गरि बसेकी राधिकाले श्रीमानसँग बस्न नसक्ने र तत्कालै आफ्नो सामान निकालिदिन भन्दै प्रहरीलाई भन्छिन र फर्कन्छिन् । त्यतिन्जेल प्रहरीसँग के कुरा भयो त्यो भने बाहिर आएको छैन् । ९ वर्षे राधिकाको छोरालाई बुबाले स्कुल छाड्न जान्छन् । राधिकाले घरमा सामानहरु प्याक गर्न थाल्छिन र बहिनी मेनुकालाई सामान प्याक गरेको र अब बस्न नसक्ने कुरा बताउँदै डेरामा आउन भन्छिन् । मेनुकाले आफू आउन ढिला हुने बताउछिन् । प्रहरी कार्यालयबाट फर्किएको करिब ३ घण्टापछि उनको हत्या हुन्छ । कोठाको एक कुनामा खुकुरीले पेट र घाँटीमा प्रहार भएको थियो । रक्ताम्य भइ अचेत अवस्थामा ढलेकी राधिकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डाक्टरले १२ बजेर ४४ मिनेटमा मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->