पोखरा/ माओवादी केन्द्रले एमाले नेता खगराज अधिकारीलाई २/२ पटक गण्डकी प्रदेशको मुख्यमन्त्री बनाएको जनाएको छ । आफु मुख्यमन्त्री हुँदा माओवादीले कुनै सहयोग नगरेको अधिकारीको यसअघिको भनाइको प्रतिकार गर्दै गण्डकी प्रदेश सभाको सोमबारको बैठकमा माअोवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री रेशम जुग्जालीले विशेष समयमा बोल्ने क्रममा यस्तो बताएका हुन । अधिकारीले भदौ २६ को प्रदेश सभा बैठकमा आफुलाई माओवादीले सहयोग नगरेको जनाएका थिए ।
‘अधिकारीलाई २/२ पटक मुख्यमन्त्री बनाएर अहिले् पूर्वमुख्यमन्त्रीको हैसियतमा कसले पुराएको हो ? कांग्रेसले भोट हालेर हो ?’ जुग्जालीले भने, ‘कुन र के कुरामा असहयोग भयो ? राजनीतिक कुरा गर्न अनुरोध गर्छु ।’ जुग्जालीले अधिकारीले भदौ २६ को प्रदेश सभा बैठकमा राखेको मन्तव्यको ८० प्रतिशत समय माओवादीमाथि आरोप र टिप्पणीमा खर्च गरेको बताए । यही संसदमा हिजो म २७ सदस्यीय दलको नेता र म २२ सदस्यीय दलको नेता भन्ने सुनेको भन्दै जुग्जालीले संख्याको हिसावले कम भएकाले अहिले प्रतिपक्षप्रति हेपाई, तुच्छ शैलीको व्यवहार देखिएको बताए । संख्यामा कम भए पनि आफुहरु जुन स्थानमा उपस्थित छौ, जुन व्यवस्था छ यसका लागि एजेन्डा र आन्दोलनका हिसावले कमजोर नभएको उनको भनाई थियो । ‘प्रतिपक्ष संख्यामा कमजोर छ भनेर खेलाँची गर्ने, हेप्नेजस्ता क्रियाकलापको गन्ध आएकाले यस्तो नहोस भन्ने अनुरोध गर्छु’ उनले भने ।
उक्तदिन अधिकारीले अस्थिरताको कारक माओवादी रहेको बताएका थिए । त्यसको खण्डन गर्दै जुग्जालीले २०४८ देखि २०६४ सम्म माओवादी नरहेको अवस्थामा पनि किन स्थिरता भएन भन्दै प्रश्न गरे । उक्त समयमा सुरासुन्दरी कान्ड, पेन्सन, पजेरो, ६८ दिनसम्म संसद अवरुद्ध काण्डतर्फ फर्किन आग्रह गरे । एमाले र कांग्रेस र पहिल्यै मिलेर सरकार चलाएको भए माओवादी साइडमा लाग्ने भन्दै जुग्जालीलले हचुवाको भरमा तर्क दिने काम भइरहेकोले त्यो सह्य नहुने बताए । एमालेले २/२ पटक संसद बिघटन गर्दा यही उपस्थित हामी कांग्रेस र माओवादी सडकमा गएको र अदालनले पुनस्र्थापना गरेको हो भन्ने यति छिटो किन बिर्सेको भन्दै उनले अधिकारीप्रति कटाक्ष गरे । साथै गिरीबन्धु टी स्टेट, भुटानी शराणार्थी, बेचन झाको बयान कहाँ पुग्यो भन्दै उनले ललिता निवासको धेरै सम्पत्ति कसको पालामा आएको हो भन्ने विषय उठाए ।
जुग्जालीले आफ्ना नेतामाथिमात्रै केन्द्रीत रहेर बोलेको भन्दै एमाले प्रमुख सचेतक गोबिन्द बहादुर नेपालीले नियमापत्ती जनाएका थिए । बैठकमा कांग्रेसका जीतबहादुर आलेमगर, सरस्वती गुरुङ, डिल्लीराम सुवेदी, महेश भट्टराई र जीतबहादुर शेरचन, एमालेका लिलबहादुर थापामगर, सीताकुमारी सुन्दासले विशेष समय लिएर विभिन्न विषयमा आफ्नो भनाइ राखेका थिए ।





