पोखरा/ गण्डकी प्रदेश सरकारले एकैसाथ ५ वटा ऐन संसोधन गरेको छ । सोमबारको प्रदेशसभा बैठकले विषयगत समितिमा छलफल नगरि ‘फास्ट ट्रयाक’ बाट ती ऐन सर्वसम्मत् संसोधन गरेको हो । यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऐन संसोधन गर्ने बिधेयक पारित गरियोस् भनि प्रस्ताव राखेका थिए ।
गत भदौ १९ मा प्रदेश सभा सचिवालयमा दर्ता भएर भदौ २६ को प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले टेबल गरेको केही गण्डकी प्रदेश ऐन संसोधन गर्न बनेको बिधेयक आज पारित भएको हो ।
सरकारले गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९, स्थानीय सेवा (गठन तथा संचालन) ऐन २०७९, गण्डकी प्रदेश लोकसेवा आयोग ऐन २०७६, गण्डकी प्रदेश खानेपानी तथा सरसफाई ऐन २०७९ र गण्डकी प्रदेश वन ऐन २०८० का विभिन्न दफा र उपदफा संसोधन गरेको हो ।
विधेयकमाथिको दफावार छलफलमा सांसदहरु महेश भट्टराई, बेदबहादुर गुरुङ, सुशिला सिंखडा र बिन्दु पौडेलले भाग लिएका थिए ।
अधिवेशन अन्त्य
यसैबीच गण्डकी प्रदेश सभाको छैठौ अधिवेशन सोमबार रातीदेखि अन्त्य भएको छ । मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिवशेन अन्त्य भएको प्रदेश सभालाई जानकारी दिएका थिए । प्रदेश प्रमुखको पत्र सभामुख कृष्णप्रसाद धितालले पढेर सुनाएका थिए ।





