
पोखरा/ पर्यटनको राजधानी पोखरामा बुधवार सम्पन्न पर्यटन विषयगत समितिको बैठकले पदमार्ग विकास र विस्तारको मापदण्ड सम्बन्धमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बदीप्रसाद पाण्डेको अध्यक्षतमा प्रदेशका पर्यटनमन्त्री सम्मिलित विषयगत समितिको बैठकले उक्त निर्णय गरेको हो ।
ठकका निर्णय सम्बन्धमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त समितिले अध्ययन प्रतिवेदन तयारी गरी आगामी पर्यटन विषयगत समितिको बैठकमा प्रस्तुत गर्ने बताए । मन्त्रालयका सहसचिवको नेतृत्वमा हुने उक्त समितिमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, टानका प्रतिनिधि, सातवटै प्रदेशका पर्यटन सचिव, गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधि रहनेछन ।
यसैगरी बैठकले विषयगत समितिको बैठक प्रत्येक तीनतीन महिनामा फरक फरक प्रदेशमा बस्ने निर्णय गरेको छ । आगामी बैठक लुम्बीनी प्रदेशको ठाकुरद्वारामा गर्ने तय गरएको छ । हवाईमार्गबाट आउने पर्यटकले भन्दा स्थलमार्गबाट आउने पर्यटकले सुरक्षाजाँच लगायत विभिन्न समस्या झेल्नुपरेको अवस्था, भारतीय पर्यटकले २५ हजार रुपैयाँ भन्दाबढी ल्याउन नपाउने जस्ता जटिलता लगायत विषयमाथि बैठकमा छलफल भएको मन्त्री पाण्डेले बताए । ‘ती समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय र प्रधानमन्त्रीको अध्यक्षतामा हुने समन्वय परिषद्को बैठकमा व्यवस्थित रुपमा प्रस्तुत गरिनेछ’ उनले भने । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानका लागि पहल भइरहेको र यही असोज २१ मा सम्बन्धित मन्त्रालयले आफ्नो आफ्नो प्रगति विवरण पेश गर्ने कार्यक्रम रहेको उनको भनाई छ ।
बैठकमा सातवटै प्रदेशलाई अघि सारेर नेपाल एयरलाइन्सबाट कम्तीमा ट्वीनेटर विमान व्यवस्था गरी त्यसलाई प्रदेशभित्र सञ्चालन गरी हवाई यातायात सेवामार्फत सहज आवागमन गर्न सकिन्छ की भन्ने सम्बन्धमा पनि प्रारम्भिक छलफल भएको थियो । संघ, प्रदेश, स्थानीय तहका साथै आम जनसमूदायबाट शेयर लगानी गरी पारदर्शी ढंगबाट विमान खरिद गरी सञ्चालन गर्न सकिएमा हाम्रो जस्तौ भौगोलिक अवस्था रहेको स्थानमा आवागमन सहज बनाउन सकिने सम्बन्धमा छलफल गरिएको मन्त्री पाण्डेले जनाए । पोखरा पर्यटन राजधानी घोषणा भएका सन्दर्भमा विद्यमान नीतिगत जटिलता, पूर्व तयारी, कानुनी प्रबन्ध लगायतका विषयमा अग्रसरता लिने उनले प्रतिवद्धता जनाए ।
बैठकमा बागमती, सुदुरपश्चिम र मधेश प्रदेशका पर्यटनमन्त्री भने सहभागि थिएनन । मौसम खरावीका कारण बागमति र सुदुरपश्चिमका पर्यटनमन्त्री पोखरा आएन सकेनन । मधेशका मन्त्री भने काम विशेषले आउन नसकेको जनाइएको छ । अहिले पोखरा पर्यटकीय राजधानी विषयमा नीति संवाद कार्यक्रम संचालन भइरहेको छ ।





