बागलुङ/नेपाल टेलिकम बागलुङ शाखाले मुस्ताङको कोरलामा टेलिकमको सेवा बिस्तार गरेको छ । मंगलबारदेखि चिनको सिमाना कोरलामा टु जी र फोर जी सेवा संचालनमा आएको नेपाल टेलिकम बागलुङ शाखाले जनाएको छ ।
लामो समयदेखि उपल्लो मुस्ताङ घुम्ने पर्यटकले इन्टरनेटको समस्या झेल्दै आएका थिए । यो सेवाले पर्यटक र स्थानीय सुरक्षाकर्मीलाई बढी फाइदा दिने छ । स्थानीय कर्मचारी र भन्सारमा बस्नेले पनि इन्टरनेट अभावमा आफ्नो घरमा समेत सम्पर्क गर्न सकेका थिएनन् । कतिपयले फोन समेत नपाएर हैरान थिए ।
माथिल्लो मुस्ताङमा नेपाल तर्फको इन्टरनेट र टेलिकमको सेवा नहुँदा नेपाली मोबाइलमा चीनको सिग्नल आउने गरेको गुनासो थियो । गत बैसाखमा मात्रै कोरला नाकामा केन्द्रीय प्रसारण लाइनको विद्युत बिस्तार भएको थियो । अबका दिनमा काम गर्न सहज हुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।
यो बिस्तारसँगै मुस्ताङको लोमान्थाङ, मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले सेवा पाएका छन् । टेलिकम बागलुङ शाखाले धौलागिरिका चार जिल्लाको ग्रामीण र दुर्गम स्थानमा फोरजी सेवा बिस्तारको अभियान नै चलाएको बरालले बताए । पछिल्लो समय टेलिकमले ढोरपाटन, निसेलढोर, म्याग्दीको गुर्जा, पर्वतको भुकताङगले, म्याग्दीकै नागी लगायतका ग्रामीण क्षेत्रमा पनि इन्टरनेट र टेलिफोन सेवा बिस्तार गर्दै आएको छ ।
नजिकै भएर पनि बागलुङको जैमिनी नगरपालिकाको वडा नं. ७ र ८ मा पनि इन्टरनेटको समस्या थियो । टेलिकमले आवस्यक पोल बिस्तार गरेर ती क्षेत्रमा सेवा प्रवाह गराएको छ । इन्टरनेट बिस्तारपछि जैमिनी ७ को बोर गाउँमा बल्ल टेलिफोन टिप्न थालेको स्थानीय कुशल रानाले बताए । यहाँ इन्टरनेट सेवा पनि प्रवाह भएको छ । केही समयअघिसम्म यहाँका बासिन्दाले फोन गर्न नपाएर हेरानी खेपेका थिए ।
बिशेषगरी ग्रामीण र दुर्गम स्थानमा सहज इन्टरनेट सेवा बिस्तारले सूचना प्रवाहदेखि विद्यालयमा इन्टरनेट सेवा प्रवाह गरेर पढाउन सकिएको स्थानीयले बताएका छन् । बागलुङ र रुकुमको सिमाना रहेको पातीहाल्ने, नजिकैको रिगा ताललगायत घुम्न जाने पर्यटकले संचारको पहुँच नहुँदा समस्या भोगेका थिए । अब भने छिटफुट स्थानमा मात्रै इन्टरनेटको सेवा नपुगेकोले ती स्थान खोजेर स्थानीयको मागको आधारमा सेवा प्रवाह गरिने बरालले जानकारी दिए ।
ढोरपाटन घुम्न जाने पर्यटकले पनि अहिले भने सहज महसुस गर्न थालेका छन् । केही समयअघिसम्म यहाँको नेपाली सेनाको व्यारेकमा समेत इन्टरनेट नहुँदा कार्यालयको काममा बाधा परेको थियो । कतिपय सैनिकले घरपरिवारमा सम्पर्क गर्दा देउरालीमा आएर मात्र फोन गर्न सक्थे । सिकार आरक्ष कार्यालयमा पनि अहिले भने इन्टरनेटको सेवा सहज भएको छ । यसअघि कार्यालयको काम गर्दा पनि भिस्याट फोन प्रयोगमा थियो । उक्त फोन घाम लागेको दिन मात्रै चल्ने गरेको थियो । अब भने ती समस्या हट्न थालेको आरक्षका कर्मचारीले पनि बताएका छन् ।





