
पोखरा / छोरेपाटनस्थित तिब्तियन क्याम्पको ठ्याक्कै पछाडि छ, एउटा एकतले घर । संयोग ! शरणार्थीको बस्ती नजिकैको यो घर आश्रयस्थल हो– बाटोमा छोडिएका कुकुर र बिरालोको । भिरालो जमिन सम्माएर टाउको छोप्ने आड बनेको यो घर संसार हो चाँदनी थापा मगर र छाडिएका घरपालुवा जनावरको ।
‘जुफिलिष्ट’को(जनावरलाई माया गर्ने व्यक्ति)रुपमा चिनाउँछिन् चाँदनी आफूलाई । सानैदेखिको स्वभाव हो उनको । जनावरप्रतिको मायाले उनी सानैमा शाकाहारी भइन् । सडक, बाटोमा रहेका कुकुर बिरालोलाई चाँदनी खाना खुलाउँथिन् । कमाउने भइसकेपछि नियमित नै बन्यो– जनावरलाई खाना खुवाउने काम ।
अव्यवस्थित रुपमा त्यसरी छोडिएका, घाइते बिरामी कुकुर र बिरालो देख्दा उनलाई एनिमल केयर सेन्टर खोल्न मन हुन्थ्यो । स्याहारसुसार खर्चिलो हुन्छ चाँदनीलाई थाहा पनि थियो । त्यसैले उनले मनले भन्थ्यो– एकपटक विदेश पुग्नैपर्छ । आर्थिकरुपमा बलियोसँग उभिएपछि केयर सेन्टर खोल्नुपर्छ । उनले सोचे विपरीत बन्यो परिस्थिति । लकडाउन भयो ।
होटल रेष्टुरेन्ट र फोहोरको डस्टबिनमा भर परेको सडकका जनावरको बिच्चली बन्यो । निर्मलपोखरी स्थाइ घर भएकी चाँदनीलाई दैनिक खाना दिन आउन सहज पनि थिएन ।
सडकबाट रेस्क्यु गरेर घरमा १८ वटा कुकुर बिरालो पु¥याइसकेकी थिइन् । वातावरण असहज नै बन्योे । सोचिन्– पछि खोल्ने भनेको रेस्क्यु केयर सेन्टर अहिल्यै खोल्ने । तर, पैसा ? आँट गरिन् । आफूले काम गर्ने सहकारीबाट क्रण लिइन् । सात लाख क्रणले केयर सेन्टर खोल्न कसिइन् । अनि सुरु गरिन् – चाँदनी एनिमल रेस्क्यु एण्ड केयर सेन्टर । जग्गा आमाको घरको थियो । भाडा तिर्नुपरेन । आमा र भाइले सघाए । खर्च कम गर्न ढुंगा र बालुवा आफै बोके दिदीभाइले ।
‘सहकारीमा जागिर गर्थेँ । त्यहीबाट लोन लिएर सुरु गरेको त्यतिखेर भाइ थियो । यो घर भाइ र मैले ढुंगा, ब्लक बोकेर आफैले बनाएको हो,’उनले सुनाइन् ।
जग्गा भिरालो ठाउँमा भएर झन्झट भयो । खर्च बढ्यो । सातलाखमा सकिन्छ सोचेको काम १४ लाख भेट्यो । रकमकै अभावका कारण तीन महिना काम रोकिएको थियो ।
‘सहकारीबाट लिएको लोन सकियो हामीले भवनमात्र बनाएथ्यौँ पैसा नभएर तीन महिना काम नै रोकियो । त्यतिबेला निन्द्रा नलाग्ने कस्तो गाहे भाथ्यो । खर्च कम होस् भनेर म र भाइ सबै दुख गरेर तीन बजेर उठेर काम गथ्यौँ,’चाँदनीले सुनाइन् ।
रेस्क्यु सेन्टर खोल्ने अठोट गरेकी चाँदनीले फेरि क्रण लिइन् । काम सुरु गरिन् । उनको कामलाई गाली गर्ने आफन्तीहरु बढी हुन्थे । तर, आमा र भाइको साथ मिल्यो परिवारबाट । आमापनि उस्तै जनावरलाई माया गर्ने भएर बुझिन् चाँदनीको भावना ।

Doorga
सेन्टरमा यतिबेला २४ वटा कुकुर र १७ वटा बिरालो छ । बुधबारमात्र पनि एउटा बिरालो र कुकुर उद्दार गरेर ल्याएकी थिइन् उनले । औषधोपचार, स्याहारसुसारमा ५० हजारभन्दा बढी खर्च हुन्छ महिनाको । आम्दानीको बाटो सहकारीमा जागिरे हुन् । अप्ठ्यारो परिस्थितिका बाबजुद उनी जनावरको स्याहारमा खटिन्छन् । उद्दार गरेर ल्याएको घाइते बिरालोका चोटमा मलम लगाउँदै ।
केयर सेन्टरमा लाग्ने खर्च जुटाउन असहज त छ नै । यता, सेन्टर बनाउँदा लिएको क्रणले उनलाई आजभोलि तनाव दिइरहेको छ । सहकारीको अवस्था उस्तै छ आजभोलि । त्यसैलेपनि उनलाई थप अप्ठ्यारो भएको छ ।
सहकारीको कामले नपुगेर अनलाइन जागिर सुरु गरेकी छन् । बिहान चार बजे उठेर काममा खटिन्छिन् । योबाहेक सेन्टरमा बाती धूप बनाउने काम गर्छिन् ।
उनलाई दैनिक ६ भन्दा बढी फोन आउँछ । उद्दारको लागि । बाटोमा छोडिएकोसँगै घरमा पालेको । आफूले देख्ने र सक्नेजति चाँदनीले आजसम्म गरेकै छन् । सानो बच्चाहरु निको भएपछि निशूल्क एड्पसनमा दिइन्छिन् । यसरी कुकुर वा बिरालोले नयाँ घर पनि पाउँछ ।
दुईमहिना भयो चाँदनीले काम गर्नका लागि स्टाफ राखेको । त्यो अघि सबै उनैले गर्थिन् । साथमा सहयोग गर्नका लागि नातेदार बहिनी छिन् । पछिल्लो चारवर्ष यतादेखि चाँदनीको दैनिकी यही छ । कुकुर बिरालोको उद्दार गर्ने, काममा जाने आउने उनको स्याहार गर्ने । सेन्टर सञ्चालनमा जति नै कठिनाइ आएपनि उनले जनावरको उपचार र खानाबाट वन्चित आजसम्म राखेकी छैनन् ।
यद्यपी सहयोग आउने बाटो नहुँदा र जिम्मेवारी सबै उनकै टाउको हुँदा पछिल्लो सात महिना यता अप्ठ्यारो भएको बताउँछिन् । महानगरसँग सहयोग माग्न पुगेकी उनी प्रतिक्रिया कुरेर बसिरहेकी छन् । सेन्टरको सुरुवाती समयमा हार्ट नामक संस्थाले उपचारको लागि सहयोग गरेको थियो । अहिले सबै चाँदनीले नै व्यवहोर्नुपर्छ । सेन्टर सञ्चालनमा चुनौती थपिएपछि केही हप्ताअघिमात्र चाँदनीले सहयोग मागेकी थिइन् । केही सहयोग प्राप्त गरेपछि थोरै समयका लागि ढुक्क बनेकी छन् उनी । अधिकांशलाई पोखरामा रेस्क्यु सेन्टर छ भनेर थाहा पनि छैन ।
‘कतिलाई पोखरामा छ भन्ने थाहा पनि नरहेछ । पोखराको मान्छेले काठमाडौँको सेल्टरहरुमा हेल्प गरिराखेको हुनेरहेछ,’उनले भनिन् ।
रेस्क्यु सेन्टरबारे थाहा भएका चाँदनीलाई तनाव दिन फोन गर्छन् । घरमै पालेको जनावर बिरामी वा बुढो भएपछि उद्दारको लागि कोही चाँदनीलाई बोलाउँछन् । चाँदनीले अहिले राख्ने अवस्था नरहेको सुनाए बाटोमा फालिदिने धम्की दिन्छन् ।
‘पहिला त स्टाफ नहुँदा गेट लगाएर जान्थे कतिले गेटभित्र आफनो घरको कुकुरपनि छिराए पहिला क्यामेरा पनि थिएन । मान्छेले खुब दुःख दियो,’उनले सुनाइन् ।
चाँदनीको घरमा समेत ८ वटा उद्दार गरेका कुकुर र बिरालो छ । एउटा गाई पनि । जसको स्याहार उनकी आमाले गर्छिन् । यता, छोरेपाटनको सेन्टरमा छोरी चाँदनीले । उद्दार गरेर ल्याएका सबैको नाम छ । स्पटी, गोल्डी यी नामले बोलाएपछि चाँदनी ठाउँ आइपुगिहाल्छन् –कुकुर बिरालो । उनी नभई सुत्दैनन् पनि । सेन्टरको एकछेउमै आफूलाई बासस्थान बनाएकी छन् । । त्यसैले त उनलाई उद्दार गरेर ल्याएको जनावर म¥यो भने आफनै आफन्त गुमाएको लाग्छ ।
‘पहिला मलाई एकदम गाह्रो हुन्थ्यो । एकहप्ता खानै नखाने गर्थे । हाम्रो आफन्त मर्दा जति गाह्रो हुन्छ त्यस्तै हुन्छ एनिमल मर्दा । हामीलाई त एनिमल र मान्छे बराबर हो आफनै बच्चाबच्ची लाग्छ रेस्क्यु गरेर ल्याएपछि । त्यो आफूले गर्दागर्दै बाँचेन भने गाहे हुन्छ,’उनले सुनाइन् ।
जनवारप्रतिको प्रेमले केयर सेन्टर खोलेकी चाँदनी त्यसलाई थप व्यवस्थित बनाउन चाहान्छिन् । उद्दारको फोन दैनिक जसो आउँछ । तर, राख्ने स्थान अपुग छ चाँदनीसँग । व्यक्तिगत रुपमा सबै गर्न सम्भवपनि त छैन । सरकारबाट सहयोग मिलिरहेको छैन । तर पनि, चाँदनी निरन्तर जुटिरहेकी छिन् जनावरको स्याहारमा ।





