बागलुङ/दुइ वर्षअघि रद्द भएको ठेक्का खुलाउन सडक डिभिजन कार्यालय बागलुङले ढीलाई गरेको छ । अझै ती दुइ ठेक्का कहिले खुल्छन् भन्ने यकिन समेत छैन ।
बागलुङको गलकोट नगरपालिका वडा नं. ८ को दरमखोला पक्की पुल निर्माणको ठेक्का रद्द भएको दुइ वर्ष बितिसक्दा पनि नयाँ ठेक्का नभएको हो । त्यस्तै भुजीखोलाको अर्को पुल पनि बन्ने सुरसारै नभएको हो ।
आठ वर्ष अघिको सम्झौतामा तीनपटक म्याद थप्दापनि काम नगरेपछि दरमखोला र भुजीखोला पुलको ठेक्का रद्द भएका थिए । ती पुल रद्द हुँदा एकातर्फ यात्रीले हैरानी खेपेका छन् भने राज्यको करोडौं रकम दुरुपयोग भएको छ । गलकोट नगरपालिका वडा नं. ८ देखि ९ जोड्ने दरमखोला पक्कीपुल नहुँदा शिव मावि पचुवाका विद्यार्थी र स्थानीयले पनि सास्ती खेपेका छन् ।
पटक पटक म्याद थप्दापनि काम नगरेपछि सडक डिभिजन कार्यालय बागलुङले सार्वजनिक खरिद ऐनको बर्खिलाप गरेको भन्दै ‘वाइ पी कन्स्ट्रक्सन प्रालि’ र ‘रफिना निर्माण कम्पनी’को ठेक्का सम्झौता रद्द गरेको थियो । डिभिजनकै सिफारिसमा संघिय सडक तथा सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सबै प्रक्रिया पु¥याएर कम्पनीलाई कालो सूचिमा समेत राखेको थियो । तीन वर्षअघि ठेक्का रद्द भएपनि कार्यालयले अझै अर्को ठेक्का लगाउन नसकेको हो । ।
वाइपि कन्स्ट्रक्सनले २०७३ असोज १० गते ठेक्का सम्झौता गरेको दरमखोला मोटरेबल पुल अलपत्रै छाडेको थियो । उक्त पुल नियमित बनेको भए २०७५ माघ ९ गते सकिनुपर्ने सम्झौतामा उल्लेख छ । तीनपटक सम्मको म्याद थपेर काम अलपत्र छाडेपछि डिडिजन कार्यालयले ठेक्का रद्द गराएको हो । ६ करोड १७ लाख रुपैयाँको ठेक्का सम्झौताको यो पुलमा एकातर्फको पिलर मात्रै ठड्याइएको छ ।
इन्जिनियर प्रभात तिवारीका अनुसार, यो पुलको ४० प्रतिशत मात्रै काम भएको हो । यो ठेक्का रद्दविरुद्ध पनि ठेकेदार अदालत गएका थिए । अदालतबाट रद्द गर्ने बाटो खुलेपछि पनि कार्यालयले ठेक्का लगाउन अलमल गरिरहेको हो ।
डिभिजन प्रमुख हरिप्रसाद सुवेदीले पछिल्लो समय जलवायु परिवर्तनले खोलाहरुमा आउन थालेको बाढीको प्रवाह हेरेर डिजाइन नै फेर्नुपर्ने भएपछि ठेक्का लगाउन ढीला भएको प्रक्रिक्रिया दिए । ‘जलवायु परिवर्तनले खोलाहरुमा ठूलो बाढी आउन थाल्यो, पहिलाको डिजाइनले काम गरेन’ सुवेदीले भने, ‘अब उचाइ बढाएर काम गर्नुपर्छ ।’ वर्षौदेखि अलपत्र ती पिलरको उचाइ बढाउँदा तौल थेग्न सक्ने नसक्ने परीक्षण गर्न ढीला भएको उनले बताए । त्यसका लागि बढ्ने लागतमा अर्थमन्त्रालयले स्विकृति दिनुपर्ने, विभागले नयाँ स्टिमेट स्विकृत गर्नुपर्ने प्रावधान छ । तर कार्यालयले ती पुलको संशोधित डिजाइन र प्राविधिक स्टिमेट समेत नपठाएपछि कामले गति लिन नसकेको हो ।
३ करोड ३४ लाख लागतको भुजीखोला पुलको पिलरमात्र उठाइएको छ । यो पुलको ५० प्रतिशत भौतिक प्रगती भएको दाबी गरिएपनि काम अलपत्र छ । तिवारीकै अनुसार ढोरपाटन नगरपालिका ५ को अधिकारीचौरमा निर्माण गरिने भुजीखोला पुल वाइपी रफिना संयुक्त निर्माण कम्पनीले ठेक्का लिएको थियो । २०७३ अजोस ४ गतेको ठेक्का सम्झौता अनुसार २०७४ को माघ ४ गते सकिनुपर्ने थियो । लामो समय अलपत्र पारेर अन्तिम पटक २०७७ साल मंसिर १४ मा थपिएको म्यादमा पनि कुनै प्रगती नभएपछि कार्यालयले दुइ वर्षअघि ठेक्का रद्द गराएको हो ।
डिभिजन प्रमुख सुवेदीले छिट्टै डिजाइन पुनराबलोकन गरेर प्रतिवेदन विभागमा पठाउने दाबी गर्छन् । तर काम कहिले शुरु हुन्छ भन्ने उनले बताउन सकेनन् । कार्यालयले सर्भे गरेर डिजाइन नियमित ढंगले पठाए पनि आगामी वर्षअघि रकम स्विकृत भएर ठेक्का लाग्नेमा शंका भएको स्थानीयले बताए ।





