काठमाडौं/बिहीबारदेखि आइतबार साँझसम्म परेको वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट १७ अर्बको क्षति भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबामा पत्रकार सम्मेलन गर्दै मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए । उनले बाढी पहिरोबाट २१ जिल्ला प्रभावित भएको बताए ।
सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, काठमाडौं, ललितपुर, सिन्धुली, मकवानपुर बढी प्रभावित भएको उनले बताए ।
यस्तै, बाढीपहिरोबाट २ सय २४ जनाको मृत्यु, २४ जना बेपत्ता रहेको मुख्यसचिव अर्यालले जानकारी दिए । प्राकृतिक विपदमा परी १ सय ५८ जना घाइते भएको र सरकारले ४ हजार ३ सय ३१ जनाको उद्धार गरेको बताए । विपद्पछि खोज तथा उद्धारका लागि ३० हजार ७ सय ३१ प्रहरी परिचालन गरिएको उनको भनाई थियो ।
बाढी पहिरोले भौतिक पूर्वाधारतर्फ खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब, सिँचाइका पूर्वाधारमा एक अर्ब रुपैयाँ बराबर क्षति पुगेको उनले बताए । बाढीपहिरोपछि ३७ राजमार्ग अवरूद्ध भएकोमा ९ वटा सञ्चालनमा आइसकेको उनले जानकारी दिए ।
ऊर्जातर्फ १६ वटा जलविद्युत आयोजनाहरूमा क्षति पुगेको उनले बताए । कुल १ हजार १ स ३९ मेगावाट क्षमताका १८ वटा निर्माणाधीन जलवियुत परियोजनामा पनि क्षति पुगेको उनले बताए ।





