बागलुङ/असारदेखि असोजसम्म बागलुङको एक्लेसालमा खसेको पहिरोले राष्ट्रिय राजमार्ग ठप्पै भयो । कालीगण्डकी करिडोरमा कुनै गाडी चल्न सकेनन् ।
एउटै पहिरोले मालढुंगा कुश्मीसेरा सडकको दुईवटा घुम्ती पनि बगेकोले अझै कहिले खुल्ने यकिन छैन । मध्यपहाडी लोकमार्ग पनि पटक पटक बन्द भयो । बर्षातभर ढोरपाटनको यात्रासमेत सकसपूर्ण भएको यात्रीहरुले गुनासो गरेका छन् ।
तर, ती बाटो काटेर पुगिने जैमिनी नगरका एकदर्जन सडक बर्षातमा रोकिएन् । नियमित र सुरक्षित रुपमा संचालन भैरहेका छन् । जैमिनी ७ को बेलबगरदेखि व्याडथला जोड्ने सडक, छिस्ती, अर्जेवा, सर्कुवालगायतका ग्रामीण क्षेत्रका सडकमा भने कुनै अवरोध भएन । ठेकेदारको लापरबाहीले खोलामा निर्माणाधिन पुलको डाइभर्सन नबन्दा रुम्टामा केही समय सडक रोकिने बाहेक ग्रामीण सडकमा कुनै असर नपरेको हो । कुश्मीसेरादेखि जैदी पुग्ने कृषि सडक त झन् नियमित नै चलेको थियो । साँघुरो भएपनि सडकमा गाडी भने गुड्ने क्रम रोकिएन ।
१ करोड २० लाखको लागतमा नुवारढीक धुल्लु व्याडथलाहुँदै हाँडीकोट जोड्ने सडक ‘धमनी देउराली निर्माण कम्पनी’ले गत वर्ष बनाएको थियो । यो सडकको केही खण्ड त ग्राभेल सरह हुँदा बेलबगरदेखि चौरहुँदै धुल्लु र बोर जाने सडकमा नियमित सवारी चल्न सफल भएका थिए । ‘हाँडीकोट लक्षित दुई सडक पक्की बनाउने काम भैरहेको छ,’ नगरपालिकाका योजना शाखा प्रमुख प्रेमप्रसाद सापकोटाले भने, ‘सेवा लिन पालिका आउनै पर्ने नागरिक बर्षातमा पनि गाडी चढेर आउन सकेका छन् ।’ जैमिनी ४ को सर्कुवादेखि व्याडथला, रुम्टाहुँदै राङखानी, बेलबगरदेखि छिस्ती, कुश्मीसेरादेखि बिनामारेहुँदै अर्जेवा, जैदी जाने कृषि सडक नियमित संचालनमा छ ।
कतिपयले कालीगण्डकी करिडोर अबरुद्ध भएपनि कालीगण्डकी तरेर पर्वतको बाटोहुँदै बिरामीलाई उपचारमा लैजान सहज भएको बताए । ‘करिडोर रोकिंदा पनि गाउँको सडक नियमित चल्यो,’ स्थानीय तमसम रानाले भने, ‘किसानले फलाएका उत्पादन बजार पठाउन सहज भयो ।’ यो सडकसहित जैमिनीले १३ वटा सडकलाई बाह्रै महिना संचालन हुने बनाएपछि ग्रामीण क्षेत्रका बासिन्दाले सहज महसुस गरेका छन् ।
नगरपालिकाले दिगो सडक भन्दै ती सडकलाई सूचीकृत गरेर नियमित संचालन गराएको हो । आठ वर्षअघि जैमिनी नगरपालिका घोषणा हुँदा पालिकाको मुकाम रहेको कुश्मीसेरा बजार पुग्ने सदरमुकामको मात्र एउटा सडक थियो । अहिले सबै वडाबाट सहजै पुग्न सकिन्छ । मालढुंगा–कुश्मीसेरा २१ किमी सडक वर्षातभर बन्द हुँदा पालिकामा कुनै अबरोध नभएको उपप्रमुख हरिहर शर्माले बताए । ‘भैरवस्थानमा मेला लाग्दा सदरमुकामका गाडी आएनन्, बरु हामीले पाहुना ल्याउने लैजाने काममा साथ दियौं,’ शर्माले भने, ‘जैमिनीका सडकमा कसैले अप्ठ्यारो खेप्नुपरेन ।’
पूर्वाधार विकास कार्यालयमार्फत् सर्कुवा तर्फको सडक कालोपत्रे शुरु भैसकेको छ भने बेलबगरदेखि चौर सम्मको अर्को सडकको ५ किमी सडक ढलान गरिएको छ । नगरपालिकाले निर्माणको बजेटबाहेक वर्षेनी मर्मत कोष राखेर सडक भत्कन नदिएको हो । करिडोर र कुश्मीसेरा शान्तिपुर सडकले जैमिनीमा सडक संजाल थप बिस्तार भएको छ । ती दुवै सडक निर्माणको क्रममै छन् । आगामी वर्ष दुई सडक पनि कालोपत्रे भएमा जैमिनीका सबै वडामा कालोपत्रे सडकले जोडिने छ ।
करिडोरको जैमिनी धामदेखि कुश्मीसेरा सडक खण्डमा गतवर्ष १ करोड ९४ लाखको लागतमा एक खण्ड कालोपत्रे भैसकेको छ भने आगामी वर्षभित्र बाँकी सडक कालोपत्रे गरिने लक्ष्य छ । ‘विद्यालय र स्वास्थ्य चौकी र पर्यटकीय गन्तव्यमा बाह्रै महिना यातायात पुग्ने व्यवस्था भैरहेको छ,’ नगरप्रमुख नरबहादुर पुनले भने, ‘मुख्य सडक राम्रो भयो भने शाखा सडक सामान्य लगानी गरे पनि गाउँलेले सुख पाउँछन् ।’
कुश्मीसेरादेखि राङखानी, बरेङहुँदै शान्तिपुर जाने रणनीतिक सडकमा भने गण्डकी प्रदेशले लगानी गरेको छ । यो सडकको दुइ खण्डमा सडक चौडा पार्ने, नाली निर्माणसहित स्तरीय सडक बनाउने काम भैरहेको छ । शर्मा क्याराभान संयुक्त निर्माण कम्पनीले साँढे १० किमी खण्ड २४ करोड ५८ लाख तथा राङखानी बरेङ खण्डको साँढे १० किमी सडक रौताहा खानी धुलिखेल संयुक्त निर्माण कम्पनीले ३४ करोड २५ लाख रुपैयाँमा निर्माण गरेको हो ।





