मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङमा सडक सुरक्षा सचेतना कार्यक्रम शुरु

बागलुङमा सडक सुरक्षा सचेतना कार्यक्रम शुरु

‘अधिकांस दुर्घटना चालकको लापरबाही, यात्रीको हैरानीबाट हुने चिन्ता लगायतबाट भएको देखिन्छ’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले भने, ‘सडक अफ्ठ्यारो भएकोले हुने घटना कम मात्रामा छन् ।’


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०८१, बुधबार

बागलुङ/‘ए दाजु एकछिन रोकिनुहोस् । दायाबाँया हेरेर मात्र सडक पार गर्नु होला ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरे बुधबार बिहान जिल्लाको प्रवेशद्वार मालढुंगामा डिउटी गर्दै थिए ।
बाटो काट्नेलाई गाडीको गति हेरेर मात्र काट्न उनले सिकाए । त्यतिमात्र होइन, लामो तथा छोटो दुरीका गाडी चालक र सह–चालकलाई गाडीको क्षमताबारे प्रश्न सोधे । क्षमताभन्दा बढी यात्री नराख्न, लामो दुरी भए दुई जना चालक अनिवार्य राख्न पनि सुझाव दिए । यात्रीलाई उभिएर यात्रा नगर्न सुझाए । छत र जिपको ढालामा बस्न नहुने कुरा पनि सिकाउन भ्याए ।
यात्रा गर्दा कहिल्यै पनि हतार गर्न नहुने, गाडीमा चढ्दा र ओर्लदा पनि होसियारी अपनाउनु पर्ने उनको सुझाव थियो । दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय र अस्थायी ट्राफिक पोष्ट मालढुंगाको संयुक्त आयोजनामा उक्त सडक सुरक्षा सचेतना कार्यक्रम शुरु भएको हो । चाडपर्वमा धेरै यात्री हुने, त्यसका लागि चालकहरु पनि हतार गर्ने, यात्रीले पनि कोचाकोच यात्रा गर्ने जस्ता समस्याले दुर्घटना निम्तने भएकोले सडक सुरक्षा सचेतना गरिएको निउरेले बताए ।
त्यस्तै चालकलाई अप्ठ्यारो पर्ने गरी यात्री नबस्न पनि सुझाए । ‘अधिकांस दुर्घटना चालकको लापरबाही, यात्रीको हैरानीबाट हुने चिन्ता लगायतबाट भएको देखिन्छ’ निउरेले भने, ‘सडक अप्ठ्रो भएकोले हुने घटना कम मात्रामा छन् ।’ अप्ठ्यारो सडक भएको स्थानमा चालक आँफै सचेत हुने भएकोले यात्रीको चाप र छिटो गन्तव्यमा पुग्ने हतारलाई न्युनिकरण गर्ने मुख्य लक्ष्यले अभियान चलाएको उनले बताए ।
त्यस बाहेक मालढुंगामा हेल्प डेक्सको रुपमा पनि ट्राफिकले काम गर्ने तयारी गरेको छ । अप्ठ्यारो परेमा निशुल्क र शुल्क लाग्ने फोन नम्बर पनि दिएर सुरक्षामा चासो राख्न लगाइएको छ । दशै, तिहार, छठ लगायतका पर्वको अवसरमा ट्राफिकले यो सचेतना अभियान जारी राख्ने बताएको छ । साथै, बेला बेलामा ट्राफिक सप्ताह राखेर पनि यस्ता सचेतना गराइएको निउरेले बताए ।
विद्यालयका बस चालक, सहचालक, अभिभावकलाई पनि आफ्ना बालबालिकाको सुरक्षाबारे सचेतना गराएको उनले बताए । यो अभियानमा जिल्ला प्रहरीले पनि साथ दिएको छ । चाडपर्व लक्षित बजार अनुगमनको क्रममा पनि ट्राफिक सचेतना, सडक सुरक्षाका सूचक अपनाउने तरिका लगायतमा प्रशिक्षण भैरहेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->