मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गण्डकीका चार अस्पतालमा ट्रमा सेन्टर : मन्त्री पाठक

गण्डकीका चार अस्पतालमा ट्रमा सेन्टर : मन्त्री पाठक

धौलागिरि अस्पतालको समस्याबारे मन्त्री पाठकले धेरै कुरा थाहा भएको र पटक पटक दिएको सुझाव अनुसारको काम नभए अप्रिय कदम चाल्न सक्ने चेतावनी दिएका छन् ।


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०८१, मंगलबार

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रदेश भित्रका कम्तिमा चार वटा अस्पतालमा ट्रमा सेन्टर स्थापना गरेर संचालनमा ल्याउने दाबी गरेका छन् । बागलुङस्थित धौलागिरि अस्पताल, दमौली, स्याङ्जा र नवलपुरको मध्यबिन्दु अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्ने बताएका हुन् ।
राजमार्गमा हुने दुर्घटनाका बिरामीको उपचारका लागि तत्काल न्युनतम ती अस्पतालहरुमा ट्रमा चाहिएको बताए । त्यस बाहेक प्रदेश भित्रका सबै अस्पतालमा बिरामीले अत्यावस्यक उपचार पाउने व्यवस्थापन गर्ने र पछिल्लो समय स्वास्थ्य क्षेत्रमा देखिएको बेथिती अन्त्य गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल, बागलुङ शाखाले मंगलबार बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा पाठकले प्रदेशभित्र चाहिने मेडिकल जनशक्ती पनि प्रदेश स्तरमै उत्पादन गर्ने बताए ।
त्यसका लागि हाल पोखरामा भएका अस्पतालबाहेक धौलागिरि अस्पतालमा पनि मेडिकल कलेजको काम थालेर दक्ष जशशक्ती उत्पादन गर्ने बताए । प्रदेश सरकारको बजेट अभाव भएमा गैरसरकारी संस्थाको बजेट समेत ल्याएर ती कामसहित १ सय सुधारका योजना पुरा गर्ने पाठकले सुनाए । ‘मैले अल्पकालिन ४०, मध्यकालिन ५० र दिर्घकालिन १० वटा योजना बनाएर सार्वजनिक पनि गरिसकेको छु’ पाठकले भने, ‘नहुने काम सूचिमा छैनन् ।’
धौलागिरि अस्पतालको समस्याबारे भने मन्त्री पाठकले धेरै टिप्पणी गरेनन् । धेरै कुरा थाहा भएको र पटक पटक दिएको सुझाव अनुसारको काम नभए अप्रिय कदम चाल्न सक्ने उनले चेतावनी दिएका छन् । अस्पतालमा विशेषज्ञ डाक्टरहरु भएर पनि सेवा नदिने, भिडियो एक्सरेका लागि आएका बिरामीले १० दिनपछि पालो पाउने, अन्य रोगको बिरामीलाई गर्भवती भनिदिने जस्ता समस्या भएको गुनासो आएपछि सेवाको गुणस्तरीयता बनाउन पटक पटक भनिएको तर नमानेमा कदम चाल्ने उनले बताए । ‘मैले कदम चाल्नु पर्दा अन्तिम कदम हुनेछ, त्यसैले साथीहरुले समयमा काम गरौ’ उनले भने, ‘कसै गर्दा भएन भने मन्त्रीको हैसियतमा कदम चाल्नैपर्छ ।’
कार्यक्रममा एमालेका अध्यक्ष हिराबहादुृर केसीले मन्त्री पाठकको कार्यकालमा केही परिणाम आउनुपर्ने बताए । ‘हामीले प्रतिवद्धता धेरै गरिसकेका छौं, अब परिणाम आउनु पर्छ’ केसीले भने, ‘उहाँले दिने परिणामबाट गण्डकीबासीले गर्व गर्न पाउनु पर्छ ।’
प्रेस चौतारीका अध्यक्ष सिर्जना पन्तको अध्यक्षता, सचिव अर्जुन कार्कीको संचालन र उपाध्यक्ष सुवास गौतमको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->