पोखरा/पोखराको पर्यटन प्रर्बद्धनका लागि हिमालयन टुरिजम फोरमले क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ । फोरमले समृद्धिका लागि साझा दौड भन्ने मुल नाराका साथ आगामी कार्तिक अन्तिम साता पोखरामा नेपाल–चीन क्रस कन्ट्री दौडको आयोजना गर्न लागेको हो ।
प्रतियोगिताबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै फोरमका अध्यक्ष विश्वशंकर पालिखेले चीनको युन्नान प्रान्तीय सरकारको परिकल्पनामा प्रतियोगिता गर्न लागेको बताए । पोखराको पर्यटनलाई प्रर्वद्धन गर्नका लागि आयोजना गर्न लागेको प्रतियोगितामा चिनियाँ टिम पोखरा आउँदासम्मको खर्च चीन सरकारले नै व्यहोर्ने र पोखरामा हुने इभेन्टका लागि नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले विषयगत शीर्षकमा सोही कार्यालयबाटै खर्च हुने बताए ।
‘यहाँ खर्च हामीले गर्ने होइन, हामी त खाली समन्वयकारी भूमिकामा रहँदै यो प्रतियोगितालाई निरन्तरता दिन संस्था गठन गरेका हा,ैं’ संस्था र खर्चको बारेमा बोल्दै पालिखेले भने, ‘चिनबाट पोखरा आउँदासम्मको खर्च उतै बाट (चीनबाटै) व्यहोर्छन्, यता हुने कार्यक्रम (पोखरा) मा पनि हामीले कुनै खर्च गर्दैनौ । सबै खर्च पर्यटन बोर्ड, प्रदेश सरकार र पोखरा महानगरपालिकाले ब्यहोर्नेछन् । अब कुन कुन शीर्षकगत खर्च कस्ले गर्छन त्यो उनीहरुको कुरा हो । विल भरपाई सबै उतै हुन्छ ।’ तेस्रो संस्करणको प्रतियोगिता सञ्चालन गर्न करिब एक करोड ३६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहेको छ ।
प्रतियोगिताको मिडिया संयोजक प्रतिक राज पहारीले नेपाल स्थित चिनियाँ राजदुतावास, युन्नान प्रान्तीय खेलकुद ब्यूरो, युन्नान प्रान्तीय सरकारको विदे मामिला कार्यालय र सिल्क रोड सिटीज एलायन्सको मार्गदर्शनमा प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
नेपालतर्फ नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका संयुक्त आयोजक रहने उनले बताए । उनका अनुसार दौडले पर्यावरणमैत्री र स्वस्थ जिवनलाई जोड दिनेछ । नेपाल र चिनबिच हुने उक्त प्रतियोगिताले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत सहयोग पु¥याउने विश्वास आयोजकले लिएको छ ।
आगामी कार्तिक २५ गते हुने प्रतियोगिताको टिम समूहको विजेताले नगद चार लाख ५८ हजार चार सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले तीन लाख ४३ हजार तीन सय, तेस्रोले दुई लाख २९ हजार दुई सय, चौथोले एक लाख ५२ हजार आठ सय र पाँचौ हुने टिमले ९५ हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । उक्त विधामा करिब ३० टिमको सहभागिता रहने छ । जसमा १० चिनियाँ र २० नेपाली टोली रहनेछन् ।
च्यालेन्ज इन्डिभिजुअल समूहको महिला र पुरुष विजेताले एक लाख ५२ हजार आठसय, दोस्रोले एक लाख १४ हजार ६ सय, तेस्रोले ७६ हजार चार सय, चौथो देखी सातौं स्थान हासिल गर्नेले ३८ हजार दुई सय र आठौंदेखी दशौंस्थान हासिल गर्नेले १९ हजार एक सय रुपैयाँ प्राप्त गर्नेछन् । उक्त प्रतिस्पर्धामा ८० चिनियाँ खेलाडी र १२० नेपाली खेलाडीको सहभागिता रहने अनुमान आयोजकको छ । टिम र व्यक्तिगत प्रतिस्पर्धाको कुल दूरी ५० किलोमिटर हुनेछ । जसमा ट्रेल दौड, साइक्लिङ र बोटिङ हुनेछ ।
विद्यार्थी दौडतर्फ छात्र÷छात्राको विजेताले ३० हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले २० हजार र चौथौ देखी छैठौं स्थान हासिल गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ५ किमि विद्यार्थी दौडमा करिब पाँच सय खेलाडीको सहभागिता रहनेछ । ह्याप्पी रन समूहमा सहभागी हुनेलाई प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त विधामा करिब पाँच सय खेलाडी सहभागी हुनेछन् । तीमध्ये ४८० नेपाली र २० जना चिनियाँ हुने अनुमान छ ।





