मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

दसैंको सुगन्ध

दसैंको सुगन्ध


  • डा. तुलसी आचार्य
  • असोज २३ २०८१, बुधबार

‘लु आए है, आए’ घरतिर आउँदै गरेका पाहुनालाई परैबाट ठम्याउँदै बुवा भन्नुहुन्थ्यो र ठीक पार्न थाल्नुहुन्थ्यो, अक्षता र जमरा अनि पाहुनालाई खुवाउन ‘दही, चिउरा र केरा।’

बाख्राका पाठा झैं आँगनमा बुर्कुसी मार्न थाल्थ्यौं। मेरा र बहिनीहरूका एकै किसिमका नयाँ कपडा हुन्थे– सेतो सर्ट र नीलो पेन्ट, त्यो एउटै कारण थियो कि दसैं सकिएपछि त्यही कपडा विद्यालयको ड्रेस होस्, फेरि अर्को किन्नु नपरोस्। त्यो थियो, गरिब बुवाको धनी सोच।

पाहुनाको चहलपहलसँगै आमाका चुरा बज्न थाल्थे, मानौं ती कर्मयोगी संगीत हुन्। थरुनी दिदीले रङ भरेर ल्याइदिएको सनपाटको झल्ला बिस्तारै पल्टिन्थ्यो खाटमा, पाहुनालाई स्वागत गर्न। त्यो त्यसबेला डनलपभन्दा कम हुन्थेन। चकलेटी स्याउ र मालबाउ केरा पाहुनाका कोसेली बनेर भित्रिन्थे घरमा। आमा तिनैलाई चानाचाना बनाएर झर्के तालमा हरेक पाहुनाका हातमा पुर्‍याउनु हुन्थ्यो र हामी हुन्थ्यौं पाहुनालाई सर्बत–पानी ओसार्ने।

‘ए, लु हेर्दा हेर्दै यी पनि काम गर्ने भइसकेछन्’ आफन्तहरू भन्थे र मायाले प्याट्ट पार्थे गालामा। म नवदुलही झैं लजाउँथे र केहीबेर हराउँथे। पाहुनालाई बिदा गरिसकेपछि हामी पनि लाग्थ्यौं मेरो मामाघरतिर। बाटाभरि भेटिन्थे मानिसहरू लालीगुराँसझैं फुलेको निधारमा।

पिङले खेलिरहेको हुन्थ्यो वृद्ध, वयस्क र बालकहरूसँग। लठारोको हात समाएर ‘च च हुईं’ गर्दा म भने आफ्नो पालो कुर्दै, बहिनीहरूसँग हिसाब गर्दै हुन्थे– कटकटिया दक्षिणा नोटको जुन मलाई जमरा, अक्षता र आशीर्वादभन्दा दोब्बर मूल्यवान् लाग्थ्यो र प्यारो पनि। अगेनामाथि तुर्लुङ बसिरहेको खसीका साँप्राबाट एकथान मासुको भुटन हामीलाई दिनुहुन्थ्यो हजुरआमा।

भुटनको गन्ध, पसिनाले निथ्रुक्क भिजेको नयाँ कपडाबाट आएको गन्ध, शरीरको आफ्नै गन्ध र दही मिसिएको अक्षताबाट आएको गन्ध दसैंको सबैभन्दा मीठो सुगन्ध हुन्थ्यो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->