मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

दसैंमा यसरी खाऔं, धेरै नखाऔँ

दसैंमा यसरी खाऔं, धेरै नखाऔँ


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०८१, शनिबार

दसैँमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ। नेपालीहरुको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ। धेरैले दसैंलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रुपमा पनि लिन्छन् । सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ। तर के दशैंमा टन्न खानैपर्छ ?

पोषणविद्हरु भन्छन्, “घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए फरक पर्दैन ।” चिल्लो, पिरो कम भएका स्वस्थकर परिकारले स्वास्थ्यलाई नगर्ने उहाँहरुको भनाइ छ।

पोषणविद् राज शाक्यले घरमै पकाइएका खानेकुरा खाँदा स्वास्थ्यमा त्यति धेरै असर नपर्ने बताउछन्। उनी भन्छन्, “सकेसम्म बाहिरबाट मगाएर नखानु नै राम्रो। पटक पटक प्रयोग गरिएको तेल हुनसक्छ,जुन हानिकारक छ । घरमै पकाएको खाना ठिक्क मात्रामा खाए केही फरक पर्दैन।”

दसैँमा आफन्तजनहरुको बाक्लो उपस्थिति हुन्छ।पाहुनाहरुको आउजाउले गर्दा खानेकुराको प्रयोग अत्यधिक हुन्छ।विशेषगरी चाडपर्वमा मानिसले चाहिनेभन्दा बढी खाने र त्यसले गर्दा विभिन्न स्वास्थ्य समस्या सिर्जना हुने पोषणविद्हरुको भनाइ छ।

पोषणविद् रुजु खड्काका अनुसार एकैचोटि पेटलाई बोझ हुने गरी कहिल्यै पनि खानु हुँदैन। “यसै पनि धेरैजसोले प्रायः सन्तुलित भोजन तथा व्यायाम गरिराखेका हुँदैनन्, त्यसमाथि धेरै खाँदा उल्टो समस्या पार्न सक्छ,” उनले भने , “चिल्लो, पिरो, नुनिलोको मात्रा बढी छ भने पेट अपच हुने, कब्जियत, ग्यास्ट्रिक पनि हुनसक्छ।”

पोषणविद् शाक्यले चाडपर्वमा कुनै पनि परिकार एकैपटक पकाउने र त्यसलाई तताउँदै खाने बानी राम्रो नभएको बताउछन्। उनी भन्छन् , “विशेषगरी मासु एकैपटक धेरै पकाउने र त्यसलाई तताउँदै खाने चलन छ।त्यो भन्दा पनि खान सकिने जति झिकेर पकाउन सकिन्छ। मासुमा यसै पनि धेरै तेल प्रयोग भएको हुन्छ । पटक पटक तताउँदा हानिकारक तत्वहरु उत्पादन भइरहेका हुन्छन् । पोषक तत्व नष्ट भइरहको हुन्छ।”

पोषणविद् खड्का अरु समयभन्दा दशैँमा माछामासुको बढी प्रयोग हुने भएकाले यसका साथमा हरियो सागसब्जी तथा फलफूल, दही, सलाद पनि खान सुझाव दिन्छन्। उनले भने, “थोरै तेलमा तारेको ठीकै हुन्छ । महत्वपूर्ण त खानेकुरामा फाइबर पनि समावेश हुनुपर्छ।पानी प्रशस्त पिउनुपर्छ। ‘कोल्ड ड्रिङ्क्स’को सट्टा नरिवल पानी, मोही, लस्सी बनाएर खान सकिन्छ।”

पोषणविद्हरु चाडपर्वका परिकारले नियमित औषधि खाइरहेका दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई गाह्रो हुन सक्ने बताउछन्।मधुमेह, उच्च रक्तचाप भएकाले विशेष ध्यान दिनुपर्ने पोषणविद् शाक्यले बताए।

“औषधि समयमै लिनुपर्छ । मधुमेह भएकाले धेरै चिनीजन्य खानेकुरा खानुहुँदैन। व्यायाम पनि उत्तिकै आवश्यक छ।कम्तीमा आधा घण्टा व्यायाम गरेको राम्रो हो,” उनले भने।

पोषणविद् खड्का पनि ज्येष्ठ नागरिकहरुमा पाचन शक्ति कमजोर हुने भएकाले सकेसम्म रातो मासु कम खानुपर्ने बताउछन्।“रक्तचाप बढ्दा मुटुको समस्या आउन सक्छ। पानी पर्याप्त खाइएन भने मिर्गौलालाई चाप पर्न सक्छ। रक्सी सकेसम्म नखान सल्लाह दिन्छु। भुटेको चनाजस्ता प्रोटिनयुक्त चिज खाए राम्रो हुन्छ”, पोषणविद् खड्का भन्छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->