बागलुङ / भीमापोखरा कल्याण समाज बागलुङले आफ्नो चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिबेशनको अवसरमा संसारको अग्लो उचाईमा नृत्यको भिडियोग्राफी गरेर गिनिज बुक अफ दि वल्ड रेकर्ड कायम गरेका सोनाम केसीलाई सम्मान गरेको छ ।
केसीले ५ हजार ४ सय ३८ मिटरको उचाईमा नृत्यको भिडियोग्राफी गरेर वल्ड रेकर्ड कायम गरेका हुन् । भीमापोखराका स्थायी बासिन्दा केसीले बागलुङ नगरपालिका-२ मा फोटो स्टुडियो संचालन गर्दै आएका छन ।
भीमापोखरा कल्याण समाज काठेखोला गाउँपालिका २ भीमापोखरामा जन्मेर गाउँबाहिर रहेकाहरुलाई गोलबद्व गर्ने र भीमापोखराका स्थानियको दुःखसुखको सारथि बन्ने उदेश्यले स्थापना गरिएको हो । समाजको साधारणसभाको उद्घाटन गर्दै समाजका सल्लाहकार डिल्लीराज गौतमले सामाजिक संघसंस्थाले दुःखमा परेकाहरुलाई सहयोग गर्नुपर्ने बताए । गौतमले रोजगारी, ब्यबसाय तथा बिबिध कारणले गाउँदेखि बाहिर रहेकाहरुलाई एकताबद्व गर्न समाजले महत्वपूर्ण भुमिका खेल्नसक्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा समाजका सल्लाहकार टिकाराम सापकोटा र अमर बहादुर थापाले शुभकामना मन्तब्य राख्दै समाज सामाजिक कार्यमा सक्रियतापूर्वक लाग्नुपर्ने बताए । साधारणसभामा संस्थाका सचिब डिल्लीराज उपाध्यायले संस्थाको बार्षिक प्रगती प्रतिबेदन र कोषाध्यक्ष राजु गौतमले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
समाजका अध्यक्ष टिका बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बल बहादुर भण्डारीले र संचालन सचिब डिल्लीराज उपाध्यायले गरेका थिए ।
बिहिबारदेखी समाजको दोस्रो अधिबेशन सुरु भएको र अधिवेशनको लागि मतदाता नामावली सार्वजनिक गरिसकिएको निर्वाचन समितिका संयोजक चन्द्रमणी उपाध्यायले बताए । कार्तिक ३ गतेसम्म निर्वाचन समयतालिका तोकिएको छ ।





