पोखरा / पोखरामा आजबाट सुरु भएको क्लब स्तरीय क्रिकेट प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सांग्रिला क्रिकेट क्लब जित नजिक पुुगेर पनि अंक बाड्न बाध्य भएको छ ।
ब्याटिङ र फिल्डिङ दुवैमा उत्कृष्ट प्रदर्शनी गरेको सांग्रिलाले जितिसकेको खेलमा वर्षा बाधक बन्दा लेकसाइड क्रिकेट क्लबसँग अंक बाडेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को पहिलो खेलमा समूह ए मा नव प्रवेशी क्लब लेकसाइडले डिफेन्डिङ च्याम्पियनको सामना गरेको थियो ।
वर्षाको कारण मैदानमा समस्या भएपछि ढिला गरि सुरुभएको खेल २०–२० ओभरको मात्र खेलाइएको थियो । १४४ रनको विजयी लक्ष्य दिएको सांग्रिलाले लेकसाइडलाई निकै दबाबमा राख्दै १७.२ ओभरमा ६५ रन दिदैँ ८ विकेट लिएको थियो । तर वर्षाको कारण खेल रोकिदा जितिसकेको खेलमा अंक बाड्न बाध्य भएको हो । वर्षा हुनु अघि ओपनर चन्दन सिंह २ रनमै आउट भएका थिए ।
सेख नजामुदिन शुन्यमै बोल्ड भए । विविन शर्मा पनि शुन्यमै आएट भए । सरोज चौधरी २७ रनमा आउट भए । उनले ५९ बलमा ४ चौका प्रहार गरे । रवि गुरुङ २ तथा खेमबहादुर गुरुङ र सन्देश शाही शुन्यमै पेभिलियन फर्किएका थिए । दोर्जे लामा २३ रनमा आउट भए । नविन खनाल १ रनमा नटआउट रहे ।
सांग्रिलाका लागि सिबृन श्रेष्ठले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । विपिन खत्रीले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर २ विकेट लिए । विराज दवाडी र सनम बुढाले समान १–१ विकेट लिए ।
त्यस अघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर व्याटिङ थालेको सांग्रिलाले २० ओभरमा ६ विकेट गुमाउँदै १४३ रन जोड्न सफल भएको थियो । सांग्रिलाका लागि ओपनर मेघनाथ खनालले सर्वाधिक ५१ रनको अर्धशतकिय पारी खेल्दै आउट भए ।
उनले ५१ बलमा २ छक्का र ४ चौका प्रहार गरे । सिबृन श्रेष्ठले १४ रन जोडे । सुदिप पोडेलले २१ बलमा १ छक्का र १ चौकाको मद्धतमा २२ रन जोडे । अरुण अधिकारी ७ रनमा आउट भए । विपिन खत्री १३ रनमा र सर्तिक घिमिरे आउट भए । विराज दवाडी २० र सनम बुढा ६ रनमा नटआउट रहे ।
लेकसाइडका लागि यामलाल गिरी र सेख नजामुदिनले २–२ तथा सन्दिप तिमिल्सिनाले १ विकेट लिए ।
१२ गतेसम्म चल्ने प्रतियोगितामा कुल ९ क्लबको सहभागिता रहेको छ । संघमा आबद्ध क्लबले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाएका हुन् । सो प्रतियोगितालाई नेपाल क्रिकेट संघले आयोजना गर्ने पिएम कपका लागि जिल्ला छनोटको रुपमा समेत राखिएको प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक र जिल्ला खेलकुद विकास समितिका सदस्य राजन बडागामीले अम्पायरद्वय भोजराज बराल र अर्जुन उपाध्यायलाई म्याच बल दिएर प्रतियोगिताको सुरुवात गरेका थिए ।
संघका अध्यक्ष संजय कान्त सिग्देलले स्वागत सहित कार्यक्रमको विषयमा आफ्ना भनाइ राखेका थिए भने, केशब पाठकले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगिताको समुुह ए मा सांग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब रहेका छन् । समुुह बि मा माछापुच्छे्र क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युुथ क्रिकेट क्लब रहेका छन् भने समुह सि मा राइजिङ क्रिकेट क्लब, अरण्य ज्योती क्रिकेट क्लब र गण्डकी स्पोट्र्स क्रिकेट क्लब रहेका छन् ।





