पोखरा / साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरी खेलेको छ ।
घरेलु मैदान दशरथ रंगशालामा जारी च्याम्पियनसिपमा बल पकडमा हाबी भएको नेपालले अवसरहरुको सदुपयोग गर्न नसक्दा बराबरीमै रोकिन बाध्य भएको हो । खेलको १३ औं मिनेटमा रश्मी कुमारी घिसिङले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारमा भुटानी गोलरक्षक संगीता मोंगर बाधक बनिन् ।
संगीता आजको खेलमा निकै छाइन् । २५ औं मिनेटमा प्रिती राईले डिफेन्स लाइन बिट हुने गरेर दिएको पासमा सरु लिम्बुले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेपछि पोस्टको दिशा लिन सकेन । ४० औं मिनेटमा नेपालले भुटानको पेनाल्टी क्षेत्रभित्र लगातार ३ पटक प्रहार गरेपनि गोल हुन सकेन ।
दोस्रो हाफमा नेपालका प्रशिक्षक राजेन्द्र तामाङले सरु लिम्बू र रेनुका नगरकोटेलाई परिवर्तन गर्दै दिपा शाही र रेखा पौडेललाई मैदान प्रवेश गराएको थियो ।
५२ औं मिनेटमा नेपालको अग्रतामा भुटानी डिफेन्डर जाम्याङ छोदेन बाधक बनिन् । कर्नरमा आएको बललाई रेखाले पहिलो टचमै पोस्टको दिशा दिएपनि जाम्याङले गोललाइनबाट बल क्लियर गर्दै नेपाललाई अघि बढ्न दिइनन् ।
समूह बी अन्तर्गत नै आज भएको पहिलो खेलमा श्रीलंकाले माल्दिब्सलाई १–० ले हराएको थियो । यस नतिजाले श्रीलंका ३ अंकका साथ समूहको शीर्षस्थानमा छ । नेपाल र भुटान १–१ अंक सहित दोस्रो स्थानमा रहँदा अंकविहिन माल्दिभ्स पुछारमा छ ।





